कुखुराको चल्ला बिक्रीमा रोक

This post has already been read 99 times!

झापा, ९ माघ \ झापाको माइपश्चिमी क्षेत्रका कुखुरा व्यवसायीले एक सातासम्म कुखुराको चल्ला बिक्री रोक्ने भएका छन् । उत्पादनअनुसार चल्लाको खपत नभएको भन्दै व्यवसायीले एक सातासम्म कारोबार ठप्प पार्ने भएका हुन् । चल्ला उत्पादन तथा पश्चिमी दाना तथा चल्ला बिक्रेता सङ्घ दमकले कुखुरा बिक्रीका लागि तयार भए पनि मासुको खपत नभएकाले किसानको लगानी सङ्कटमा भन्दै बिक्री रोक्ने निणर्य गरेको जनाएको छ ।
2ChickenFamilyकृषकको उद्यम सङ्कटमा पर्दा त्यसको प्रभाव समग्र बजारमा पर्ने भन्दै सङ्घले यही माघ १४ गतेदेखि एक साता चल्ला बिक्री नगर्ने जनाएको हो । सङ्घका अध्यक्ष राम श्रेष्ठले एक साता चल्लाको बिक्री रोके बजार सन्तुलनमा आउने आशा गरिएको बताए ।

अन्य क्षेत्रबाट आयतित हुने कुखुराका कारण स्थानीय व्यवसायी तथा किसान मारमा परेकाले माघ ८ देखि २९ गतेसम्म अन्यत्रको कुखुरा नभित्र्याउने उनले जानकारी दिए । सङ्घमा झापाको कन्काई पश्चिम तथा मोरङको उर्लाबारीसम्मका चार दर्जन बढी व्यवसायी आबद्ध छन् ।

सामान्यतः ४० देखि ४५ दिनमा बिक्रीका लागि तयार हुने कुखुरा ६० दिन बित्दासमेत बिक्री नभएकाले चल्लाको आपूर्ति रोक्नु परेको व्यवसायीको भनाइ छ ।

दमकसहित पश्चिमी झापामा दैनिक चार क्विन्टलभन्दा बढी ब्रोइलर कुखुराको मासु बिक्री हुँदै आएको अनुमान छ । बजारमा बोइलरको मासु प्रतिकेजी रु ३२० पर्ने गरेको छ ।