कृषि विकास बैंकको ‘एक जिल्ला एक व्यावसायिक परियोजना’ कार्यक्रम

This post has already been read 176 times!

काठमाडौं, ७ माघ\ कृषि विकास बैंकले ‘एक जिल्ला एक व्यावसायिक परियोजना’ सञ्चालन गर्ने भएको छ।१० प्रतिशतभन्दा बढी कृषि क्षेत्रको कारोबारमा वृद्धि गर्ने उद्देश्यले बैंकले उक्त परियोजना सञ्चालन गर्ने भएको हो। कृषिमा आत्मर्भिर बनाउन बैंकले ‘एक गाउँ एक उत्पादन, एकल तथा सामूहिक कृषि क्षेत्रमा कर्जा’ प्रवाह गरी कृषि क्षेत्रको व्यावसायिकरणमा जोड दिने बैंकले जनाएको छ।

agro bank

बैंकले कुल ग्राहक संख्यामा २० प्रतिशतले वृद्धि गरी पाँच गाविसलाई नमूना गाविसको रूपमा विकास गर्ने योजना समेत बनाएको छ।बैंकले आइतबार पत्रकार सम्मेलन गरी कृषि क्षेत्रको विकासका लागि रणनीतिक साझेदार भित्र्याउने तयारी भइरहेको भएको जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले सन् २०१४ सेप्टेम्बरसम्म रणनीतिक साझेदार भित्र्याइने र कृषिको व्यावसायिककरणमा जोड दिने बताउनुभयो। ‘बैंकले परम्परागत ढंगले कृषि पेसालाई भन्दा आधुनिक तरिकाबाट सञ्चालन हुने कृषि योजनालाई लगानीमा प्राथमिकता दिएका छौं,’ उहाँले भन्नुभयो।

 

मन्त्रिपरिषद्को निर्णयअनुरूप दातृ निकायलाई साझेदारीको रूपमा भित्र्याइनेछ। साझेदारी भित्र्याउँदा बैंकको उद्देश्य, मर्म र भावनाविपरित नहुने, उक्त साझेदार कम्पनीको ३ खर्बभन्दा बढी निक्षेप संकलन भएको, चुक्ता पुँजी ५० अर्बभन्दा बढी पुगेको लगायतका प्रावधान मिल्नेसँग मात्र साझेदारी भित्र्याइने छ। कार्यकारी प्रमुख बुढाथोकीले ३ वर्षअघि बैंक घाटामा गए पनि अहिले १ अर्ब ३३ करोड रुपियाँ मुनाफा आर्जन गरेको बताउनुभयो। ‘कोर बैंकिङ सिस्टममा गए अझ मुनाफा बढ्ने छ, हामी कोर बैंकिङ सिस्टमका जाँदै छौं,’ उहाँले भन्नुभयो। त्यस्तै बैंकले ७ लाख ८२ हजार ८ सय ६९ जना निक्षेपकर्ताबाट ५४ अर्ब ३३ अर्ब संकलन गरेको छ। त्यस्तै बैंकले ६२ अर्ब ३९ करोड रुपियाँ कर्जा लगानी गरेको छ। जुन गत वर्षभन्दा १ सय २३ प्रतिशतले बढी हो।

 

बैंकको गत मंसिरसम्मको वित्तीय अवस्थाअनुसार कर्जा लगानी २७ अर्ब ४४ करोड रहेको छ जुन गत वर्षको सोही अवधिमा भन्दा २३ प्रतिशतले बढी हो। साँवा असुली २५ अर्ब २५ करोड भएको छ, जुन गत वर्षको सोही अवधिमा भन्दा २५ प्रतिशतले बढी रहेको छ। यसैगरी ब्याज असुली ३ अर्ब भएको छ जुन गत वर्षको सोही अवधिमा भन्दा १९ प्रतिशतले बढी हो। निक्षेप संकलन १८ प्रतिशतले वृद्धि भई ६४ अर्ब २५ करोड भएको लगानीमा रहिरहेको ५७ अर्व ८ करोड भएको बैंकले जनाएको छ।