‘बाच्छाबाच्छी मारेर दुध बेचिँदैछ’

यो समाचार 309 पटक पढिएको

बाच्छाबाच्छी संरक्षण गर्ने एक अधिकारकर्मीको पढ्नै पर्ने मनछुने लेख

• प्रकाश आस्था

काभ्रेको खनालथोकमा जन्मेका आरबी न्यौपानेलाई बाल्यकालमा सबैले गोपाल भनेर बोलाउँथे। गोपाल अर्थात् गाई पाल्नेवाला। पशुपति वनकालीस्थित ‘नन्दी स्थल’ मा गाईगोरु र बाच्छाबाच्छीको संरक्षकका रूपमा बिगत ४ वर्षदेखि निरन्तर खटिएका उनी भन्छन्, ‘गाईबाच्छा र कुकुर बाटोमा अलपत्र र घाइते देख्दा छटपटी हुन्थ्यो । त्यसैले, २०७१ सालमा संस्था दर्ता गरेरै प्राणी सेवामा लागें । त्यसअघि पनि सडकमा भेटेका घाइते जनावरलाई औषधि उपचार गर्थें।’ संस्था दर्ता पछि गाईसेवा उनको प्राथमिकतामा पर्यो‍। उनलाई पशुपति क्षेत्र विकास कोषको गोठाटारस्थित दुई सय रोपनी जग्गा मागेर त्यसैमा गाई संरक्षण गर्छु भन्ने थियो तर यसअघि नै बनकालीमा गाईका लागि कोषले थोरै जमिन छुट्याएको रहेछ । ‘आँखा नभएकोले आँखा पाएझैं लाग्यो त्यसबेला। साना टहरासहित तीनकोठे एउटा भवनसहितको यो आश्रय भेट्टाएपछि सुरु भयो मेरो सेवा यात्रा।’

प्रतिनिधिमुलक तस्विर

‘टुप्पी पालेर, तीनचार धर्के टिका लगाएर, जनै धारण गरेर या धोती–कछाडले बेरिँदैमा कोही हिन्दू हुन्छ ? श्रृंगार गर्नु हिन्दु हुनु हो र ? गाईलाई ल्याएर अबिर दल्दैमा या धुप सुघाउँदैमा एउटा असल हिन्दूको कर्तव्य पूरा हुन्छ ?’

उनले कुनै दिन निजगढको आफ्नो जग्गा बेच्दा भविष्यमा प्राणीका लागि केही गर्छु भनेर केही रुपैयाँ जोगाएर राखेका थिए। जग्गा पाउने वित्तिकै सात ट्रक पराल, दाना र चोकरसँगै सडकका वेवारिसे गाईलाई आश्रममा हुल्ने काम एकै पटक थाले उनले। न्यौपाने भन्छन्, ‘म आउनु अघि पनि अरु कसैलाई यही कामको जिम्मा लगाइएको रहेछ तर नसकेर उहाँहरु हिँड्नुभएछ।’

ठाउँ पाएको दुई महिनामा गोठमा ३९ गाई गोरु आइपुगे। गाई बढेसँगै न्यौपानेको चिन्ता थपियो। ‘मारौं कि राखौं पो भयो तु उनले भने, ‘मागमुग गरिरहें। पैसाभन्दा पनि मैले सिधै घाँस, पराल, दाना र चोकर दान मागें, अहिलेसम्म त्यसरी नै चलिरहेछ।’ अहिलेसम्म सरकारका तर्फबाट जम्मा दश लाख प्राप्त भएको र त्यसमा थपथाप गरेर गाई राख्ने टहरा बनाइएको न्यौपाने बताउँछन्।

‘तिहारमा टाढाटाढा पुगेर भएपनि गाईलाई पुज्ने नेपाली अरु बेला गाइवस्तुमाथि भएको अन्यायका बारेमा आँखा चिम्लेर बस्छन् । सबै प्राणीलाई पुज्ने संस्कार भएको देशमा अचेल बाच्छाबाच्छी मारेर दुधको व्यापार चलेको छ । त्यसबाट नाफा प्राप्त नहुने भएपछि आँखामा पट्टी बाँधेर धेरै पर लागेर छाडिदिएपछि गाईवस्तु होस् या कुकुर धेरैदिसम्म घरकै चिन्ताले बिरामीसमेत पर्छन्, रुन्छन्, झोक्राउँछन् र मर्छन्। गाईबाच्छा मार्दा केही नगर्ने, अनि खोजीखोजी एक दिन गाईको पुजा ?’

 

मोटरसाइकल एम्बुलेन्स
आरबी न्यौपाने बाच्छाबाच्छीको उद्धारका प्रमुख व्यक्ति हुन् भन्ने कुरो सर्वसाधारणलाई मात्र होइन, ‘हेलो सरकारुलाई समेत थाहा छ। र, पो त उनलाई हेलो सरकारले समेत कहिलेकाँही फलानो ठाउँमा बाच्छो या गाई अलपत्र या दुर्घटनामा परेको छ, उद्धार गरिदिनोस् भन्दै ‘निर्देशन’ दिन्छ। अहिले सेल्टरमा डेढ सय बढी गाईवस्तुलाई राखेका न्यौपाने भन्छन्, ‘सरकारलेघाइते गाइवस्तु बोक्ने एउटा गाडीसमेत दिँदैन। निर्देशनचाहिँ हेलो सरकारको आउँछ। तैपनि आफ्नै मोटरसाइकलमा हालेर भएपनि घाइते बाच्छाबाच्छीलाई यहाँ ल्याएर उपचार गर्ने प्रयत्न गर्छु। उद्धार गर्नका लागि धेरै ठाउँबाट फोन त आउँछ तर फोन गर्नेहरूलाई यहाँको दुर्दशा थाहा छैन।’

 

धर्मका नाममा ढोंग
पशुपतिनाथ मन्दिर वरपर श्रीमदभागवत पुराण लगायतका अनेक धार्मिक कार्यक्रम भईरहन्छन् । कहिले कुनै मठाधीश आउँछन् त कहिले कुनै पिठाधीश। कहिले कुनै स्वामी महाराज त कहिले कुनै देवी। यसरी आउने व्यक्तिहरूले सम्पन्न गर्ने कार्यक्रममा संस्थाको ब्यानर राखेमा त्यहाँ उठेको पैसाको ५ देखि पन्ध्र प्रतिशतसम्म दिने बाचासमेत गर्छन् आयोजक। पुराण कार्यक्रममा गाईकै भजनसमेत गाइन्छ। न्यौपाने भन्छन्, ‘भागवत पुराण लगाउने क्रममा मलाई मान्छेका रूपमा जन्मेका कलियुगका कृष्णसमेत भनेर पुकार्छन्। तर आखिरमा हात लागि शुन्य। केहीले एक दुई हजार दिएपनि अधिकांश भागवत टोली पैसा नदिई भाग्छन।’

‘टुप्पी पालेर, तीनचार धर्के टिका लगाएर, जनै धारण गरेर या धोती–कछाडले बेरिँदैमा कोही हिन्दू हुन्छ ? श्रृंगार गर्नु हिन्दु हुनु हो र ? गाईलाई ल्याएर अबिर दल्दैमा या धुप सुघाउँदैमा एउटा असल हिन्दूको कर्तव्य पूरा हुन्छ ? न्यौपाने आक्रोश व्यक्त गर्छन्, ‘यहाँ आएर कमसे कम हप्ताको एकदिन आश्रमममा सरसफाई गरिदिनुहोस्। एक किलोमात्रै भएपनि ढुटोपिठो ल्याइदिनुहोस् । खाने देउतालाई पहिलो प्राथमिकतामा राख्नुहोस्।’

 

‘सुई लगाएर जन्माइएका बाच्छाबाच्छीको इम्युनिटी कम हुने हुनाले दुई चार दिन दुध नखुवाएर एकैपटक दुध खुवाउदिने हो भने ति भुत्तुकै मर्छन्। सिधै बाच्छाबाच्छी मार्न पाउनुपर्छ भन्ने उनीहरूको माग सुन्दा मैले सहन सकिँन र कार्यक्रमबाट हिँडें।’

सरकार र नगरपालिकाको जिम्मेवारी
‘सरकारले असल नीति बनाए गाईबाच्छा सडकमा आइपुग्दैनन्। गाई फार्म संचालन गर्ने या गाई पाल्नेलाई सरकारी निकायमा दर्ता गराउने काम मात्रै गरे गाईको तथ्यांक प्राप्त त हुन्थ्यो नै, कसैले मनलागी गाइबाच्छा घरबाट सडकमा लगेर छाड्ने अवस्था पनि आउँथेन’, ‘यदि छाड्नैपर्ने अवस्थामा किसानले निश्चित रकम तिरेर हुर्केका गाईबाच्छा सरकारलाई बेच्ने व्यवस्था गर्न सकिन्छ। काठमाडौं महानगरपालिकाकै हकमा सबै वडाले प्रति महिना दुई लाख छुट्याए के हुन्छ गाईका लागि ? यो राज्यको जिम्मेवारी होइन ?

आँखामा पट्टि बाँधेर सडकमा छाडिन्छन् गाइबाच्छा
तिहारमा टाढाटाढा पुगेर भएपनि गाईलाई पुज्ने नेपाली अरु बेला गाइवस्तुमाथि भएको अन्यायका बारेमा आँखा चिम्लेर बस्छन् भन्छन् न्यौपाने। ‘सबै प्राणीलाई पुज्ने संस्कार भएको देशमा अचेल बाच्छाबाच्छी मारेर दुधको व्यापार चलेको छ’, उनी भन्छन् ‘त्यसबाट नाफा प्राप्त नहुने भएपछि आँखामा पट्टी बाँधेर धेरै पर लागेर छाडिदिएपछि गाईवस्तु होस् या कुकुर धेरैदिसम्म घरकै चिन्ताले बिरामीसमेत पर्छन्, रुन्छन्, झोक्राउँछन् र मर्छन्। गाईबाच्छा मार्दा केही नगर्ने, अनि खोजीखोजी एक दिन गाईको पुजा ?

बाच्छाबाच्छी मार्ने कामना
करिब ६ महिना एक सरकारी कार्यक्रममा पशुअधिकारकर्मीका हैसियतले न्यौपानेलाई हहिरभवन बोलाइयो । किसानले उपस्थित सरकारी अधिकारीसँग भने, ‘साँढे लगाएर जन्मेका बाच्छा हत्तपत्त नमर्ने हुँदा इन्सेमिनेसन गराएर गाईलाई गर्धाधारण गराउने व्यवस्था मिलाउन पर्‍यो । सुई लगाएर जन्माइएका बाच्छाबाच्छीको इम्युनिटी कम हुने हुनाले दुई चार दिन दुध नखुवाएर एकैपटक दुध खुवाउदिने हो भने ति भुत्तुकै मर्छन्।’

किसानको माग थियो कि सरकारले बाच्छाबाच्छी पाल्न प्रति बाच्छा एक लाख दिनुपर्‍यो, होइन भने इन्सेमिनेसको व्यवस्था गराइदिनुपर्‍यो। न्यौपाने भन्छन्, ‘सिधै बाच्छाबाच्छी मार्न पाउनुपर्छ भन्ने उनीहरूको माग सुन्दा मैले सहन सकिँन र कार्यक्रमबाट हिँडें।’

कान्जी हाउसको कृत्य र गाडीको सपना
काठमाडौं महानगरपालिकाको एउटा निकायको नाम हो कान्जी हाउस। यहाँ सडकमा छाडा छोडिएका गाइबाच्छा, गोरुलाई ल्याएर राखिन्छ जुन कुलेश्वरमा छ । तर न्यौपानेका अनुसार कान्जी हाउसमा मोटोघाटो मात्र गाइवस्तु समाएर राखिन्छ। दुब्लो र उपचार गर्नुपर्ने गाई यहाँ ल्याइन्न्। कारण, यहाँ समातिएका गाईवस्तु लिलामीमा जान्छन् र अन्ततोगत्वा ति भारत या बंगालदेशमा पुर्‍याएर मासुका लागि मारिन्छन्।

कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठका पालामा लिलाम गरिएका गाई सिधै कटुवामा जाने हुनाले रोक्न भन्दै कार्यालय गए। श्रेष्ठले न्यौपानेको अभियानलाई सहयोग गर्ने र गाईवस्तु ओसार्न मोटरसमेत व्यवस्था गर्ने आश्वासन दिए तर त्यसो भनेको बीस दिन नपुग्दै श्रेष्ठ मन्त्रालय तानिए। गाडीको सपना तुहियो।

मुठीदान र सपना
न्यौपाने राज्यले जग्गा दिएर त्यसमा गोठ बनाइदिए वेवारिस गाईबाच्छाको संरक्षण आफूले गरिदिने बताउँछन्। एक जना भेटेरिनेरियनसहित अस्थायी रुपमा काम गर्ने करिव एक दर्जन स्वयंसेवककै भरमा चलेको गोठको बारे उनी भन्छन्, ‘गोठ सफा गर्दिन कोही आएमात्रै हामीलाई लाख हुन्थ्यो । सबै नेपालीले दिनको एकमुठी चामल जम्मा गरेर दान गर्ने हो भने दुःख पाएका गाइवस्तु र अन्य प्राणीमात्र होइन, वेवारिस मान्छेको संरक्षण गर्नसमेत पुग्थयो।’

‘पशुपति मन्दिरमै चढ्ने बेलपत्र र नरिवलमात्रै पनि यहाँ आउने हो भने म अझै अरु गाईलाई यहाँ व्यवस्थापन गर्न सक्ने थिएँ’, न्यौपाने भन्छन्, ‘नेपालका हरेका अञ्चलमा गौलोक र प्राणीधाम होस्। सरकारले हरेक जिल्लामा केही खाली जमिन प्राणी संरक्षणका लागि छुट्याइदेओस्।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :