लौं हेर्नुस ! अदुवा निर्यातमा भारतीयको दादागिरी

यो समाचार 230 पटक पढिएको

नेपाली अदुवामा पटकपटक अवरोध

अवरोध १ : २०७३ भदौ

नेपालमा आयात र प्रयोगमा प्रतिबन्ध लागेको अल्किार्ब नामक विषादी नेपाली अदुवामा भेटिएको भन्दै भारतीय क्वारेन्टाइनको आरोप । करिब चार महिना पूर्ण रूपमा निर्यात ठप्प । २१ करोड रुपैयाँको सात हजार दुई सय मेट्रिक टन अदुवा अलपत्र । प्रयोगशालाबाट नेपाली अदुवामा विषादी नभेटिएको पुष्टि । निर्यात पुन: सुरु।

अवरोध २ : २०७३ असोज

भारतीय आयातकर्ताले विहारस्थित पटनाको स्थानीय भन्सार कार्यालयमा आयात गर्नुपूर्व स्वीकृति लिएर आयात परिमाणको आठ प्रतिशत राजस्व अग्रिम नै बुझाउनुपर्ने भारतीय फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डियाको नयाँ नीति । नीतिका कारण १२ अर्ब २५ करोड रुपैयाँको साढे तीन लाख मेट्रिक टन अदुवा अलपत्र । दुई मुलुकबीच कूटनीतिक वार्ताद्वारा समस्या समाधान । निर्यात पुन: सुरु ।

अवरोध ३ : २०७४ साउन

भारतीय सरकारद्वारा गुड्स सर्भिस ट्याक्स (जीएसटी) लागू । भारतले स्वदेशी उत्पादन तथा अन्य मुलुकबाट निर्यात हुने कृषिजन्य वस्तुमा समान भन्सार शुल्क लागू । निर्यात प्रभावित । जीएसटीअन्तर्गत कृषिजन्य वस्तु निर्यातमा पाँच प्रतिशत भन्सार शुल्क लागू । निर्यात ठप्प हुँदा करिब पाँच करोड मूल्यबराबरको दुई सय २५ मेट्रिक टन काँचो माउ अदुवा कुहिएर नष्ट । व्यवसायीद्वारा जिन्जर समूहअन्तर्गत भन्सार शुल्क तिरेर निर्यात सुरु ।

अवरोध ३ : २०७४ असोज

जीएसटी लागू भएपछि भारतीय भन्सारद्वारा जबर्जस्ती भन्सारको कोड ‘फ्रेस जिन्जर’ समूहअन्तर्गत नेपालको ताजा अदुवा निर्यात गर्न अवरोध । भारतीय भन्सारद्वारा भन्सारको अर्को कोड ‘जिन्जर’ समूहभित्र रहेर पाँच प्रतिशत भन्सार शुल्क तिरेर अदुवा निकासी गर्न कडाइ । भारत निकासीमा पुनस् अवरोध । करिब १७ अर्ब रुपैयाँको साढे तीन लाख मेट्रिक टन अदुवा विभिन्न स्थानमा अलपत्र ।


काठमाडौं ।  भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन्। पटकपटक अवरोध गरी उत्पादक/निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय र निर्यात सहजीकरण गर्ने वाणिज्य मन्त्रालयले दिगो समाधानको पहल गरेका छैनन् । यसबाट उत्पादक/निर्यातकर्ताले ठूलो क्षति बेहोर्नुपरेको छ।

अदुवा उत्पादक तथा व्यवसायी संघका अनुसार भारतीय भन्सारले भन्सारको कोड ‘फ्रेस जिन्जरु समूहअन्तर्गत नेपालको ताजा अदुवा निर्यात गर्न अवरोध सिर्जना गरेको हो । यसअघि यही समूहबाट अदुवा निर्यात हुदै आएको थियो । यो समूहमार्फत निर्यात गर्दा भन्सार छुटमा यहाका उत्पादनले निर्यात सुविधा पाएका थिए । ‘जीएसटी लागू भएपछि जिन्जर समूहमा निर्यात गर्न लगाएका छन्’, संघका अध्यक्ष नरेन्द्र खड्काले भने, ‘यो समूहअन्तर्गत निर्यात गर्दा पाँच प्र्रतिशत अतिरिक्त भन्सार शुल्क बेहोर्नुपर्ने भएको छ।’

भारतीय भन्सारले अदुवा निर्यात गर्न भन्सारमा दुई प्रकारको समूह (भन्सार कोड) को व्यवस्था गरेको छ । पहिलो ‘फ्रेस जिन्जर’ । यो समूहमा शुल्कबिना उत्पादन भएका ताजा अदुवाको नमुना कोलकातास्थित प्रयोगशालाबाट परीक्षण गराएर निर्यात गर्न सकिने व्यवस्था छ । अर्को समूह हो ‘जिन्ज’ । यो समूहमा प्रशोधन भएका सुक्खा अदुवा निर्यात गर्न सकिन्छ । यो समूहमा भारतीय भन्सारले जीएसटी भन्सार शुल्क पाँच प्रतिशत लाग्ने व्यवस्था गरेको छ । यो समूहअन्तर्गत पहिले एक प्रतिशत भन्सार शुल्क कायम थियो । जीएसटी लागू भएपछि पाँच प्रतिशत कायम गरिएको छ । पहिले भन्सार छुट सुविधाका कारण भारतीय बजारमा यहाका उत्पादनलाई प्रतिस्पर्धा गर्न सजिलो थियो । पाँच प्रतिशत जीएसटी तिर्नुपर्दा लागत बढेर प्रतिस्पर्धा गर्न कठिन भएको छ।

जिन्जर समूहमार्फत निर्यात गर्न दिए पनि भारतीय भन्सारले विभिन्न झमेला झिकेर निर्यातमा अवरोध सिर्जना गर्दै आएको संघका अध्यक्ष खड्काले जानकारी दिए । ‘गतवर्षदेखि सुरु गरिएको अवरोध विभिन्न बहानामा कायमै राखिएको छ’, उनले भने । कृषि विकास र वाणिज्य मन्त्रालयको पटकपटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको उनले बताए । किसान र निर्यातकर्ता पटकपटक मारमा परे पनि कर्मचारीतन्त्रले पर्याप्त पहल नगरेको उनको गुनासो छ।

लागत बढेका कारण स्थानीय उत्पादन खेत, गोदाम र भन्सारमा थुप्रिएको छ । संघका अनुसार लाखौं टन अदुवा अलपत्र छ । समस्या चाडै समाधान नभए उत्पादन कुहिएर किसानले थप घाटा बेहोर्नुपर्ने संघका सचिव हेमन्तराज बोहोराले बताए । ‘सरकारले भारतीय समकक्षीसँग डटेर कूटनीतिक पहल गरी आफ्ना किसानको उत्पादन कुहिनबाट बचाउनुप¥यो’, उनले भने । उनका अनुसार नेपाली अदुवामा विषादी पाइएको भन्दै गतवर्ष हल्ला चलाइएका कारण भैरहवा, वीरगन्ज, नेपालगन्ज र विराटनगर नाकाबाट अदुवा निर्यात भएको छैन । पछिल्लो समय काकडभिट्टामार्फत केही परिमाणमा भइरहेको निर्यात पनि ठप्प छ।

अदुवा खेतीबाट उखेलेर सीधै भारत निर्यात हुन्छ । उत्पादित करिब ९५ प्रतिशत अदुवा भारत निर्यात हुन्छ । उत्पादनको झन्डै ५५ प्रतिशत अदुवा काँकडभिट्टा नाकाबाट निर्यात हुन्छ । नेपाली उत्पादन भारतीय बजारमा पुगेपछि सफा गरी काँटछाँट र ग्रेडिङ गरी विभिन्न ब्रान्डमा बिक्री हुनुका साथै पाकिस्तान, बंगलादेश, जापान, जर्मनी, श्रीलंका, यूएई र इङल्यान्डमा निर्यात पनि हुन्छ । इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा, मकवानपुर, झापा, नवलपरासी, धादिङ, नुवाकोट, रसुवा, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ सल्यान, कैलालीलगायत जिल्लाको २३ हजार आठ सय २६ हेक्टरमा करिब चार लाख टन अदुवा उत्पादन हुन्छ।

सरकारको दाबी
समस्या समाधान गर्न यहास्थित भारतीय दूतावास र दिल्लीमा नेपाली दूतावासलाई जानकारी गराएको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैजूले दाबी गरे । ‘निर्यात समस्या समाधान गर्न दुवै दूतावासलाई पत्राचार गरी जानकारी गराएका छौ’, उनले भने, ‘चाडै समाधान हुने आस छ ।’ अदुवामा पटकपटकको अवरोधबारे आधिकारिक जानकारी भारतीय पक्षबाट प्राप्त नभएको उनले बताए । ‘वास्तविक कारण बुझ्न सकिएको छैन’, उनले भने।

प्रयोगशाला परीक्षण नगरी निर्यात गर्न खोज्दा निर्यात गर्न नदिएको कुरा आएको छ । संघका अध्यक्ष खड्काले भने निकासीयोग्य अदुवाको प्रत्येक लटको नमुना कोलकात्तास्थित केन्द्रीय प्रयोगशालाबाट परीक्षण गराएर प्रतिवेदनका आधारमा मात्रै निर्यात गर्दै आएको दाबी गरे । ‘हाम्रो चुनौती छ’, उनले थपे, ‘परीक्षण नगरी अदुवा निर्यात गरेका छैंनौं ।’ सरकारले प्रोत्साहन गर्नुको साटो सधंै भारतीय पक्ष खुसी हुने गरी नेपाली निर्यातकर्तालाई दोषारोपण गरेको उनको आरोप छ ।

प्रकाशित मिति : असोज ३१, २०७४
-अन्नपूर्ण पोस्ट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :