भारतीय र चिनियाँ मासु पनि नेपालीको भान्छामा

यो समाचार 260 पटक पढिएको

काठमाडौं। नेपालमा वर्षेनी करिब तीन लाख ३० हजार मेट्रिक टन मासुजन्य बस्तुको उपभोग हुँदै आएकामा करिव ५५ हजार मेट्रिक टन मासु भारत र चीनबाट आयात गरिन्छ ।

पशुसेवा विभागका अनुसार ५४ प्रतिशत राँगा, २१ प्रतिशत खसी बोका, १७ प्रतिशत कुखुरा, सात प्रतिशत बंगुर, एक प्रतिशत भेडा र शून्य दशमलव सात प्रतिशत हाँसको उपभोग गर्ने गरिएको छ ।

नेपालमा करिब तीन लाख ८५ हजार मेट्रिक टन मासु खपत हुने गर्दछ । विशेष गरी काठमाडौं, ललितपुर र भक्तपुरमा दशैँ तिहार पर्वलाई मात्र लक्षित गरी रु एक अर्ब ५० करोडको मासुको कारोबार हुने गरेको पशुपक्षी बजार निर्देशनालयका कार्यक्रम निर्देशक बलबहादुर थापाले जानकारी दिए ।

दशैँ र तिहार पर्वलाई लक्षित गरी करिब रु तीन अर्ब बराबरको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ । देशभरीको कारोबारमध्ये करिब ६० प्रतिशत कारोबार अन्य बजारमा हुने अनुमान गरिएको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा शंकर साहले जानकारी दिए ।

देशका अन्य शहर बजारमा पनि दशैँ र तिहारमा मात्र करिब रु एक अर्ब ५० करोडभन्दा बढीको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ । देशभर खपत हुने मासुजन्य बस्तुको करिब तीन भागमध्ये एक भाग काठमाडौं उपत्यकामा खपत हुने गर्छ । नेपाललाई मासुमा आत्मनिर्भर बनाउन सरकारी पक्षबाट किसानलाई प्रोत्साहन गर्न आवश्यक देखिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :