जुम्लामा लोप हुँदै कालीमार्सी धान

यो समाचार 145 पटक पढिएको

जुम्ला । अहिले जुम्लाका किसानलाई धान काट्ने चटारो परेको छ । चैतमा बीउ राखेर जेठमा रोपिएको धान काट्न तयार भएपछि किसान खेतमा झरेका छन् । कालीमार्सी धान असोज दोस्रो सातामै भित्र्याउन तयार हुने हुँदा किसान अहिले खेतबारीमा व्यस्त भएका हुन् । तर पछिल्लो समय उन्नत जातको धानबाट उत्पादन बढी हुने भएका कारण कालीमार्सीतर्फ किसानको आकर्षण घट्दै गएको छ । विभिन्न प्रकोपका कारण उत्पादन घट्दै गएपछि कर्णालीको पहिचान बोकेको कालीमार्सी धान बिस्तारै विस्थापित हुँदैछ ।

धान पाक्न निकै लामो समय लाग्ने र बाला काट्ने समयमा ब्लास्टजस्ता रोग देखिने भएका कारण उत्पादन कम हुन थालेपछि यहाँका किसानले कालीमार्सीको विकल्प खोज्न थालेका हुन् ।

कुनै समय कालीमार्सी अर्थात् रातो चामल उत्पादन हुने पहिचान बोकेको जुम्लामा पछिल्लो एक दशकयता कालीमार्सीको खेती घट्दै आएको छ । प्रत्येक वर्ष ब्लास्ट रोगका कारण काट्ने बेलामा धान नष्ट हुने गर्छ । साथै कालीमार्सीको बोट नै कमजोर हुने भएका कारण सानो असिनापानीले पनि धान झर्न थालेपछि किसानले विकल्पमा उन्नत जातका बीउ रोजेका हुन् । जिल्लाको कुल २९ सय हेक्टर जमिनमा धानखेती हुने गर्छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कुल धानखेती गरिएको क्षेत्रमध्ये हाल जुम्लामा २५ प्रतिशत जमिनमा मात्रै कालीमार्सी धान रोपिएको छ । अरूभन्दा पोसिलो र स्वास्थ्यका लागि राम्रो हुने भए पनि उत्पादकत्व कम हुँदै गएपछि किसानको आकर्षण घट्दै आएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताए । ‘स्वाभाविक रूपमा अरूभन्दा मीठो र पोसिलो कालीमार्सी नै हो’, उनले भने, ‘किसानले कालीमार्सीबाट राम्रो उत्पादन लिन नसकेको, धान काट्ने बेला ब्लास्ट रोग र सानो असिनाले पनि क्षति हुने हुँदा यसको सट्टा उन्नत जातको बीउ लगाउन सुरु भएको हो ।’

पछिल्लो समय उन्नत जातको धानबाट उत्पादन बढी हुने भएका कारण कालीमार्सीतर्फ किसानको आकर्षण घट्दै गएको छ ।

गत आर्थिक वर्षमा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कालीमार्सी चालू आर्थिक वर्षमा पाँच प्रतिशतले घटेर २५ प्रतिशत क्षेत्रफलमा झरेको छ । जिल्लाको सिँजा क्षेत्रका केही भाग, तातोपानी गाउँपालिकाका हाकु, लाछुजिउला, लाम्रा र केही प्रतिशत गोठीचौर क्षेत्रमा लगाए पनि अधिकांश क्षेत्रमा उन्नत जातको धान नै लगाइएको छ ।

एक दशकदेखि प्रत्येक वर्ष कालीमार्सी पाक्ने बेलामा ब्लास्ट रोगले किसानलाई समस्या पारेको तातोपानी गाउँपालिका ४ का डिल्लीप्रसाद पाण्डेले बताए । यस वर्ष पनि तातोपानीको हाकुक्षेत्रका अधिकांश ठाउँमा लगाएको कालीमार्सी धान ब्लास्ट तथा असिनापानीका कारण क्षति भएको छ । काट्ने बेलामा खेतमा धानका बीच झुल्ने बेलामा पँलाटो देखिन थालेपछि गिडीखोला क्षेत्रका किसान चिन्तित छन् ।

प्रकाशित मिति : असोज ३०, २०७४

रचनात्मक प्रतिक्रिया दिनुहोस् :