फ्रान्सको कालिज पोखरामा उत्पादन

यो समाचार 558 पटक पढिएको

पोखरा । पदमराज अधिकारी २२ वर्ष बेल्जियममा बसेर नेपाल फर्किए । पोखरा १४ माटेमसिनाका उनी बेल्जियम छिर्दा ३० वर्षका लक्का जवान थिए । नेपाल फर्किएलगत्तै उनी फुर्सदमा बसेनन् । बेल्जियमको अनुभवले फ्रान्सबाट कालिजका अण्डा ल्याई चल्ला उत्पादन शुरु गरे ।उनले वाइल्ड फुड प्रोडक्ट प्रालि दर्ता गरी गत वर्षको अप्रिलदेखि पोखरा ३३ लामगादीमा कालिजको व्यवसायिक फर्म सञ्चालन गरे । परीक्षणकै क्रममा फ्रान्सबाटै २४ सय कालिजका अण्डालाई ह्याचिङ गरेर चल्ला उत्पादन गरी कालिज फर्म सञ्चालन गरियो । दोस्रो वर्ष २४ सय अण्डाबाट चल्ला उत्पादन भइसकेको अधिकारी बताउँछन् । यी कालिज नेपालमा पाइनेभन्दा फरक प्रजातिका हुन् । अधिकारीले १८ रोपनी जग्गामा प्राकृतिक बासस्थानजस्तै गरी वरिपरि तारजाली लगाएर कालिजपालन गरेका छन् ।

जंगली कुखुरा भनी परिचित कालिज नेपालमा पाल्न र शिकार गर्न प्रतिबन्ध छ । व्यापारिक घरानाले भने सोखको रूपमा कालिज पाल्ने गरेका छन् । विदेशवाट अण्डा ल्याएर ह्याचिङ गरी व्यवसायिक कालिज पालिएको पोखरामा यो पहिलो पटक हो । पोखरा आउने पर्यटकलाई युरोपकै स्वाद दिने गरी कालिजको मासु पस्कने उद्देश्यले युरोपबाटै कालिजका अण्डा ल्याई चल्ला कोरलेर नयाँ व्यवसायका रूपमा कालिज पालन थालेको अधिकारीले बताए । उनले दुई वर्ष बेल्जियममा कालिज पालेको अनुभवका आधारमा यो व्यवसाय शुरु गरेका हुन् । बेल्जियमका कालिज फर्म सञ्चालकमार्फत व्यवसाय गरेको अधिकारीले बताए ।

नेपालमा कालिज पाल्न र शिकार गर्न प्रतिबन्ध छ। पोखरामा भने व्यवसायिक रूपमै कालिज पालिएको छ। फर्मबाट उत्पादित कालिज प्रतिगोटा तीन हजारमा बिक्री हुन्छ।

अहिले उनको फर्ममा दुई जातका रिङ नेक प्रजाति र कालो कालिज गरी एक हजार कालिज छन् । फ्रान्सबाट अण्डा ल्याई ह्याचिङ गर्दा निकै कम संख्यामा मात्र चल्ला निस्किएको उद्योगका व्यवस्थापक सोमनाथ लामिछानेले बताए । पहिलो लटको कालिजबाट उत्पादन भएका अण्डा ह्याचिङ गरी चल्लासमेत उत्पादन गर्न थालिएको छ । व्यवस्थापक लामिछानेका अनुसार आफैंले चल्ला उत्पादन गरी ठूलो कालिज फर्म सञ्चालन गर्ने ‘ड्रिम प्रोजेक्ट’अनुसार काम अघि बढेकोे छ । फ्रान्सबाट ल्याइएका २४ सय अण्डाबाट २५ प्रतिशत ९६ सय० चल्ला मात्र पहिलो लटमा निस्केका छन् । गत वर्ष ह्याचिङ गरी उत्पादन भएका कुखुरा अण्डा दिने भएका छन् । तिनै कालिजले पारेको अण्डा र पछिल्लो पटक फ्रान्सबाट ल्याएको अण्डा ह्याचिङ गरी यस वर्ष दुई हजार चल्ला उत्पादन भएका छन् ।

फर्ममा तयार भएका भाले कालिज मासुको रूपमा बिक्री गरिने, पोथी कालिजबाट अण्डा उत्पादन गर्ने र ह्याचिङ गरी धेरैभन्दा धेरै चल्ला उत्पादन गर्ने योजनाअनुसार काम अघि बढेको छ । अण्डाबाट ह्याचिङ गरी २३ देखि २५ दिनमा चल्ला निस्कन्छन् । केही वर्षमा साढे दुई लाखसम्म चल्ला उत्पादन गर्ने योजनाअनुसार अहिले फर्ममा एक करोड लगानी भएको छ । ६ महिना पालेपछि भाले कालिज मासु खान लायकको हुन्छ । कालिजको मासु पौष्टिकयुक्त र स्वादिलो हुने भएकाले माग निकै भएको व्यवसायी बताउँछन् । अहिले फर्ममा उत्पादन भएका कालिज प्रतिगोटा तीन हजारमा घरबाटै बिक्री हुन्छ । फ्रान्सबाट कालो कालिज र रिङ नेकको अण्डा प्रतिगोटा साढे दुई युरोमा किनिएको छ ।

ढुवानी, ट्याक्स, क्वाराइन्टाइनमा समेत तिर्दा नेपाल आइपुग्दा प्रति अण्डा ११ युरो खर्च लागेको सन्चालक अधिकारीले बताए । यहाँ ह्याचिङ गर्दा प्रतिअण्डा थप ४० रुपैयाँ लाग्छ । अब भने बाहिरबाट अण्डा ल्याउनुपर्दैन । यिनै काजिलबाट उत्पादन हुने अण्डाबाट चल्ला निकाल्न सकिन्छ । आउँदो आवमा दश हजार चल्ला उत्पादन गर्ने प्रालिको लक्ष्य छ । गत वषँ चार सय भाले कालिज बिक्री गरेको प्रालिले यस वर्ष ६ बिक्री गर्ने लक्ष्य राखेको छ । कालिजलाई नरम प्रजातिका घाँस र घरमै खस्रो बनाएर पिसेको गहुँ, मकै दाना दिइन्छ । फर्ममा ६ जनाले रोजगारी पनि पाएका छन् ।

फ्रान्सबाट ल्याएर व्यावसायिक रूपमा कालिज पाल्दा स्थानीय कालिज संरक्षणमा योगदान पुग्ने भएकोले मैले यो व्यवसाय रोजेको हुँ। – पदमराज अधिकारी व्यवसायी

१९९५ मा बिजनेस भिसामा बेल्जियम पुगेका अधिकारी युवा उमेर उतैको ब्रुज शहरमा बिताए । दुई छोरा, एक छोरी उतै पढाए । नेपालमै केही नयाँ काम गर्नुपर्छ भन्ने सोचले कालिज फर्म सञ्चालन गरेको उनको भनाइ छ । विस्तारै व्यवसाय राम्रो हुँदै गएपछि छोरा, छोरी र श्रीमतीलाई पनि यतै बोलाउने उनको योजना छ । फ्रान्सबाट ल्याएर व्यवसायिक रूपमा कालिज पाल्दा स्थानीय कालिज संरक्षणमा योगदान पुग्ने भएकोले यो व्यवसाय आफूले रोजेको उनले बताए । यो अभियानले यहाँका स्थानीय जातका कालिजको संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ ।

कानुनमा के छ

नेपालको हिमाल, पहाड र तराईमा कालिज पाइए पनि धेरै संख्यामा पहाडमा पाइने विज्ञहरू बताउँछन् । नेपालमा चिलिमे, मुनाल, डाँफे, फोक्रास, कालिज र चिर गरी ६ प्रजातिका कालिज पाइन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका संरक्षण अधिकृत ऋषि बरालका अनुसार कालिज समुद्र सतहको दुई सय ४५ मिटरदेखि तीन हजार ५० मिटरसम्म पाइन्छ । नेपालमा कालिजबारे अनुसन्धान नभएकाले कुन प्रजातिका कालिजको अवस्था कस्तो छ भन्ने यकिन नभएको विज्ञ बताउँछन् । सबैभन्दा बढी चोरी शिकारीमा मारिने मारिने चरामध्ये कालिज पनि पर्ने संरक्षणकर्मी राजु आचार्यले जानकारी दिए । वनमा आगलागी हुँदा पनि यी प्रजातिका चरा धेरै मर्ने गरेका छन् । सामुदायिक वन संरक्षणसँगै सामान्यतया यी प्रजातिका चराको संख्या बढेको अनुमान गरिए पनि चोरी शिकारीले कस्तो प्रभाव पारेको छ भन्ने यकिन छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार कालिज पाल्न र शिकार गर्न निषेध छ ।

विदेशबाट ल्याएको हकमा जुन देशबाट ल्याइएको हो, त्यो देशले कृषिजन्य हो भन्ने प्रमाणित गरेको अवस्थामा कृषि कार्यालयबाट स्वीकृति लिई कालिज पाल्न पाइने प्रावधान रहेको विज्ञहरू बताउँछन् । त्यसरी प्रमाणित नभएमा वन्यजन्तु पाल्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनअनुसार कारबाही हुन्छ । रूपन्देहीमा पालिएको अस्ट्रिच पनि कृषिजन्य हो भन्ने प्रमाणितको आधारमा व्यवसायिक रूपमा पाल्न थालिएको हो । २०६० मै कुन–कुन वन्यजन्तु व्यवसायिक रूपमा पाल्न पाइने भन्नेबारे नीति बने पनि ऐनमा समावेश थिएन । अहिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन संशोधन भएको छ । ऐन बनेर मात्र पूर्ण रूपमा लागू हुन सक्दैन । नियमावलीमा कुन वन्यजन्तु पाल्न पाइने, के गर्ने, के नगर्ने, कसरी नियमन गर्ने भन्नेलगायत विषयमा प्रस्ट पारिएको हुन्छ । त्यसैले नियमावली बनेपछि ऐन पूर्ण रूपमा लागू हुने राष्ट्रिय निकुञ्ज विभागका इकोलोजिस्ट लक्ष्मण पौडेल बताउँछन् ।

प्रकाशित मिति : असोज २८, २०७४

रचनात्मक प्रतिक्रिया दिनुहोस् :