प्राङ्गारिक मलको नाममा झुनझुनवालाको ब्रम्हलुट ! युरिया मल प्रयोग गरी ‘नक्कली’ प्राङ्गारिक मल तयार

यो समाचार 210 पटक पढिएको

सरकारले बन्द गरायो कारखाना
कृषकमाथि ठगी

विराटनगर । मोरङको ग्रामथान २ झोराहाटमा रहेको एउटा उद्योगले रसायनिक मल मिसावट गरेर प्राङ्गरिक मल उत्पादन गर्ने गरेको फेला परेको छ । गोविन्द झुनझुनवालाले संचालन गरेको जनकपुर फर्टीलाइजर इन्डस्ट्रिज प्रालीले रसायनिक मलको प्रयोग गरेर प्राङ्गरिक मल बनाउँदै कृषकमाथि ठगी गर्ने गरेको पाइएको हो । माटो सेवा निर्देशनालयको ५० प्रतिशत अनुदानमा पाँच वर्षदेखि उद्योग संचालनमा छ ।

रसायनिक मल प्रयोग गरेर प्राङ्गरिक मल बनाउने गरिएको विशेष सूचनाका आधारमा अनुगमन गर्न पुगेको टोलीले सोमबार उद्योग र गोदाम शील गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको निर्देशनमा जिल्ला कृषि विकास कार्यालयको नेत्रृत्वमा पुगेको कृषि प्राविधिक र विज्ञ सम्मिलित अनुगमन टोलीले उद्योग शील गरेको हो ।

उद्योग अनुमगन र शील गर्न अवरोध हुन सक्ने सम्भावना बढेपछि डीएसपी विष्णुहरि कोइरालाको नेत्रृत्वमा प्रहरी समेत परिचालन गरिएको थियो । कृषि विकास कार्यालय मोरङका अधिकृत हृदयराम पोखरेलले मल उत्पादन र विक्री वितरणमा रोक लगाउँदै उद्योगमा शील गरिएको बताए । उनका अनुसार प्राङ्गरिक मल उत्पादन गर्नका लागि कुखुराको सुली, खरानी, हड्डीको चूर्ण, थोरै मात्रामा कम्पोष्ट मल, कृषि चुन लगायत प्रयोग गर्नु पर्छ ।

रसायनिक मल प्रयोग गर्न पाइँदैन । उद्योगको अनुगमन गर्ने क्रममा प्राङ्गरिक मल बनाउन रसायनिकको प्रयोग गरिरहेको समेत भेटिएकोे पोखरेलले बताए । अनुगमन टोलीले उद्योगबाट प्राङ्गरिक मल बनाउन प्रयोग गर्दै गरेको युरिया मल समेत बरामद गरेको छ । उनले भने, ‘प्राङ्गरिक मल बनाएको भन्दै कामदारहरुले युरिया मल हालिरहेका थिए ।’

‘प्राङ्गरिक मल बनाउन रसायनिक मल प्रयोग नै गर्न मिल्दैन । उद्योगले रसायनिक मल प्रयोग गरेर कृषकलाई ठगी गर्ने गरेको पाइयो,’ उनले भने, ‘त्यही भएर उद्योगमा शील गरिएको छ । आवश्यक अनुसन्धान पछि कारवाही प्रक्रिया अघि बढाइने छ ।’ पोखरेलले परीक्षणका लागि मलको नमुना समेत संकलन गरिएको जानकारी दिए । उनका अनुसार नुमना परीक्षणका लागि सुनसरीको झुम्कामा रहेको क्षेत्रीय माटो परीक्षण प्रयोगशालामा पठाइने छ । उनले प्राङ्गरिक मल बनाउन प्रयोग गरिने रसायनिक मल कृषकका लागि घातक हुने बताए । यो उद्योगमा उत्पादन हुँदै आएको मलको मुख्य बजार पश्चिम नेपाल हो ।

उद्योगले उत्पादन गरेको मल प्रति किलो २० देखि ३० रुपैयाँ सम्ममा विक्री गर्ने गरेको छ । ‘युरिया अर्थात रसायनिक मल हालेर प्राङ्गरिक मल बनाउँदा कृषि बाली फस्टाउने भएका कारण मलमा कृषकको आकर्षण बढाउन रसायनिक मलको प्रयोग गर्ने गरेको पाइयो,’ पोखरेलले भने, ‘उत्पादन राम्रो दियो भन्ने छाप कृषकमा छाड्नका लागि यसो गरिएको हो ।’ प्राङ्गरिक मल उत्पादन गरेर कृषकको सेवा गर्नका लागि सरकारी अनुदानमा खोलिएको उद्योगले कृषकलाई नै ठगी गर्ने गरेको उनको भनाइ छ ।

मलको नमुना परीक्षणको रिपोर्ट आइसकेपछि उद्योग र उद्योग संचालकमाथि कारवाही प्रक्रिया अघि बढाइने जानकारी उनले दिए । उनका अनुसार उद्योगको मल उत्पादन गर्ने लाइसेन्स समेत रद्ध गर्दै उद्योग नै बन्द गर्न सकिने छ । सहायक प्रजिअ पौडेलले मल उत्पादन गर्ने नाममा कृषकमाथि ठगी गर्ने उद्योगमाथि कारवाही अघि बढाउन अनुसन्धान सुरु गर्न सम्बन्धीत निकायलाई निर्देशन दिइसकिएको बताए । उनले उक्त उद्योगलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही अघि बढाउने तयारी पनि थालिएको बताए ।

प्रकाशित मिति : असोज २६, २०७४

रचनात्मक प्रतिक्रिया दिनुहोस् :