कृत्रिम गर्भाधान सेवा सञ्चालन

यो समाचार 191 पटक पढिएको

कञ्चनपुर, ७ माघ । गाईभैँसीको नश्ल सुधार गरी दुग्ध उत्पादनमा बढोत्तरी गर्नका लागि कञ्चनपुरको पिपलाडीमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । पिपलाडी गाविसको आर्थिक सहयोगमा पहिलो पटक कृत्रिम गर्भाधान सेवा सञ्चालनमा ल्याइएको हो । cow_2282398b1-300x187गाविसले कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने सामग्री खरिद गर्नका लागि रु ४५ हजार आर्थिक सहयोग रहेको पशुसेवा केन्द्र पिपलाडीका पशुसेवा प्राविधिक आत्माराम भट्टले बताउनुभयो । पशुसेवा कार्यालय कञ्चनपुरले कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने वीर्य र नाइट्रोजन निःशुल्क रूपमा उपलब्ध गराउने सहमति भएको प्राविधिक भट्टले बताउनुभयो ।

 

यसअघि यहाँ कृत्रिम गर्भाधान केन्द्र नहुदा यस क्षेत्रका गाईभैसीपालकले सो सेवा लिनका लागि सात किलोमिटरको यात्रा तय गर्दै झलारी पुगेर कृत्रिम गर्भाधान सेवा लिँदै आएका थिए । गाँउमै न्यून शुल्कमा कृत्रिम गर्भाधान सेवा पाएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । पशुसेवा कार्यालय कञ्चनपुरले जिल्लामा डेढ दशकदेखि कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्दै आएको छ । यसअघि नौ वटा केन्द्रबाट कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै आएको पशुसेवा कार्यालयका कृतिम गर्भाधान केन्द्रको सङ्ख्या दश पुगेको छ । निजी तथा प्राइभेटमार्फत यहाँका १२ जनाले कृत्रिम गर्भाधान सेवा प्रदान गर्दै आएका छन् । हालसम्म दश हजार बढी गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :