कुखुरा व्यवसाय सङ्कटमा

This post has already been read 124 times!

वीरगन्ज, ७ माघ । भारतीय कुखुरा तथा चल्लाको बढ्दो चोरी तस्करीका कारण नेपालको सीमावर्ती क्षेत्रमा कुखुरा व्यवसाय सङ्कटमा पर्न थालेको छ । वीरगन्जको सिर्सिया, अलौँ, भिस्वा, पोखरीया र जानकीटोला लगायतका विभिन्न छोटी भन्सार नाकाबाट भारतीय तैयारी कुखुरा, चल्ला र कुखुराजन्य वस्तुको ओसारपसार सहजरूपमा भइरहेको छ, स्थानीयवासीले भने– यसरी अवैधरूपमा भित्रिएका भारतीय कुखुरा र चल्ला वीरगन्जलगायत आसपासका बजारमा खुलेआम बिक्री भइरहेका छन् ।

2ChickenFamily

नेपाल भित्रिने यस्ता अवैध भारतीय कुखुरा र चल्लाका कारण जिल्लाका अधिकांश पोल्ट्री फार्म बन्द भइसकेको दाबी जिल्ला कुखुरा व्यवसायी सङ्घले गरेको छ । सङ्घका अनुसार जिल्लामा १५० भन्दा बढी पोल्ट्री फार्म सञ्चालनमा छन् तर भारतीय कुखुरा, चल्ला र सेतो अण्डाको अवैध आयातका कारण करिब १०० वटा पोल्ट्री फार्म बन्द भएका छन् । मूल्यमा देखिएको ठूलो अन्तरका कारण भारतीय कुखुरा तथा चल्लाको चोरी तस्करीमा वृद्धि भइरहेको छ, कुखुरा व्यवसायी मनेजर साहले भन्नुभयो– भारतभन्दा यहा कुखुरा उत्पादन लागत बढ्दो छ, जसले गर्दा सस्तोमा उत्पादन भएको भारतीय कुखुरा तथा चल्लासँग नेपाली किसानले मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन ।

 

 

सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय व्यापारीले लाखौँ रुपैया मूल्य बराबरको कुखुरा तथा चल्ला अवैध रूपमा नेपाल भित्र्याउने गरेका छन् । सीमावर्ती भारतीय बजारबाट दैनिक रूपमा दर्जनौँ पटक साइकल र मोटरसाइकलमा कुखुरा तथा चल्ला अवैध रूपमा नेपाल भित्रिने गरेका छन्, अर्का कुखुरा व्यवसायी श्यामबाबु प्रसादले भन्नुभयो– बजारमा कुखुराका माग अत्यधिक भएकाले यस्तो अवैध कारोबारले अझ व्यापकता पाएको हो ।

 

भारतीय सीमावर्ती बजारको तुलनामा यहा २० देखि २५ प्रतिशत मूल्य बढी पर्न जान्छ । यसले गर्दा सीमावर्ती क्षेत्रका ग्राहकले नेपाली बजारमा भन्दा भारतीय बजारमा सामान खरिद गर्छन् । ‘‘हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध आयात गर्नैपर्छ’’, एक कुखुरामासु व्यवसायीले भन्नुभयो– ‘‘खुला सिमाना भएका कारण अवैध आयात गर्न त्यति अप्ठ्यारो परेको छैन् ।’’ कुखुरा र चल्लालाई १० प्रतिशत ढुवानी खर्च दिँदा भारतीय बजारबाट भनेको ठाउमा पु-याइदिने गर्छन् ।

 

त्यसो गर्दा पक्राउ परेको खण्डमा आयातकर्ताले नै ब्यहोर्नुपर्ने हुन्छ । कुखुरा तथा चल्ला आयात गर्ने कानुनी प्रक्रिया अत्यन्त जटिल भएकाले पनि चोरी तस्करीमा वृद्धि भएको हो, कुखुरा व्यवसायीहरू भन्छन्– भारतीय कुखुरा आयात गर्नका लागि भारतको मुम्बइ, कोलकता, हैदरावाद र दिल्ली गरी चार ठाउबाट मात्र अन्तर्राष्ट्रिय स्वास्थ्य प्रमाणपत्र ल्याउनुपर्ने प्रावधान छ तर चल्लाका हकमा हवाई मार्गबाट मात्र आयात गर्नुपर्ने कानुनी प्रावधानका कारण पनि यसको चोरी तस्करीमा वृद्धि भएको हो ।

 

यस्तो कानुनी प्रक्रियागत जटिलतालाई नहटाएसम्म यसको चोरी तस्करी नियन्त्रण गर्न कठिन हुने दाबी सम्बन्धित निकायको छ । भारतबाट अवैधरूपमा नेपाल भित्र्याउन लागेको पाँच हजार चल्लालाई हालै सशस्त्र प्रहरी राजस्व गस्ती टोली वीरगन्जले पर्साका सीमावर्ती नेपाली गाउ अलौबाट नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोस्ट सिर्सियामा बुझाएको घटनाले पनि चल्लाको अवैध व्यापार हुने गरेको पुष्टि गरेको छ । पक्राउ परेका चल्ला करिब रु तीन लाख ७५ हजार मूल्य बराबरका रहेको सशस्त्र प्रहरीले जनाएको छ ।