डढुवा रोगको समस्या बढ्दो

यो समाचार 206 पटक पढिएको

 धनगढी,  ७ माघ । बाक्लो हुस्सुसँगै चलेको शीतलहरका कारण कैलाली जिल्लामा आलु, गोलभेँडालगायतका बालीमा डढुवा रोगको प्रकोप बढेको छ । रोगको प्रकोपसँगै यसवर्ष कैलाली जिल्लामा यी बालीको उत्पादनमा ह्रास आउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Sitlahar

डढुवा रोगका कारण सुरुको अवस्थामा आलु र गोलभेँडाको पात र डाँठ कालो भई केही दिनपछि फलमा समेत यो रोगको सङ्क्रमण भई दाना पनि सडेर जाने हुन्छ । कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशीले डढुवा रोगबाट बालीलाई बचाउन प्राविधिकको सल्लाहमा सुरक्षित विषादी छर्किनुपर्ने र खान तयार भइसकेको आलुमा रोगको सङ्क्रमण देखिएको भए दानालाई सङ्क्रमणबाट बचाउन डाँठ काटेर फ्याँक्नुपर्ने सल्लाह दिनुभएको छ ।

 

भारतबाट आयातित सस्तोखालको बीउको प्रयोग गर्ने कृषकको आलु र गोलभेँडामा डढुवाको प्रकोप बढी देखिने गरेकाले बीउ प्रयोग गर्दा पनि प्राविधिकको सल्लाह लिनुपर्ने जोशी बताउनुहुन्छ । डढुवा रोगले फूल लागेको तोरी बालीलाई पनि क्षति पु-याएको छ । यद्यपि विगत दुई दशकदेखि हरेक हिउँदे याममा देखिने गरेको डढुवा रोगको प्रकोपसँगै कृषकले पहिलेको भन्दा कम क्षेत्रफलमा मात्र तोरीखेती गर्ने गरेका छन् । आलु र गोलभेँडालगायतको तरकारी गर्ने कृषक बढ्दै गएकामा यी बालीमा लाग्ने डढुवा रोग ठूलो समस्याका रूपमा देखिन थालेको छ ।

 

कैलालीमा वार्षिक ११ हजार ५०० हेक्टर जग्गामा आलु र गोलभेँडाखेती हुने गरेको छ । व्यावसायिक रूपमा साग तरकारीको खेती हुने क्षेत्रफल बर्सेनि बढेको भए पनि वर्षभरि जिल्लामा हुने साग तरकारीको मागको अझै पूर्ति हुन सकेको छैन । जिल्लामा माग हुने अधिकांश परिमाणको प्याज भने भारतबाट आयात हुने गरेको छ । जिल्लामा उत्पादन हुने हरियो सागले आठ महिना र आलुले छ महिनासम्म जिल्लाको मागलाई पूर्ति गर्ने गरेकामा अन्य महिनामा (जेठदेखि असोजसम्म) डडेलधुरा डोटीलगायतका जिल्लाका साथै भारतबाट समेत साग तरकारी आयात हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :