सभासद्‌द्वारा पद तथा गोपनीयताको सपथ

यो समाचार 180 पटक पढिएको

 काटमाडौं ,  माघ ७\ संविधानसभाका नवनिर्वाचित सभासदले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन्। संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाले नयाँ बानेश्वरमा रहेको संविधानसभा भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित विशेष समारोहमा सभासदलाई सपथ गराए। मंगलबार मध्यान्हमा भएको सपथ कार्यक्रममा थापाले सभासद्‌हरुलाई ईश्वरको नाममा सपथ गराए। ४४ जना सभासदले मातृभाषामा सपथ लिए। सपथमा एमाले र कांग्रेसका अधिकांश सभासद् राष्ट्रिय पोशाक दौरासुरुवालमा सहभागी भएका थिए।

 (तस्बीर: उमा विष्ट)
संविधानसभाको पहिलो बैठक बुधबार दिनको तीन बजे बस्नेछ। सरकारले मनोनित गर्ने २६ सभासदको भने टुंगो लागेको छैन। अन्तरिम मन्त्रिपरिषद वा नयाँ सरकार कसले मनोनयन गर्ने भन्नेमा दलहरुबीच विवाद छ।

सभासद्‌को शपथ १० भाषामा

काठमाडौं : विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले यसपटक संविधानसभा सदस्यको शपथ लिम्बू भाषामा लिने भएका छन्। पहिलोपटक सदस्यको शपथ लिम्बू भाषामा लिएका नेम्बाङले सभाध्यक्षको शपथ भने नेपालीमै लिएका थिए। नेम्बाङसँगै एमालेका अर्का सभासद् डम्बर तुम्बाहाम्फेले पनि लिम्बू भाषामै शपथ लिने जानकारी संविधानसभा सचिवालयमा गराएका छन्।

सदस्यहरूलाई संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले मंगलबार पदको शपथ गराउनेछन्। कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि थापाबाट पदको शपथ लिँदैछन्।

संविधानसभा सचिवालयले मातृभाषामा शपथ लिन चाहने सभासद्लाई तीन दिनअगावै मातृभाषाको बेहोरासहित लिखित जानकारी दिन आग्रह गरे पनि सोमबार मात्र अधिकांशले मातृभाषाका लागि निवेदन दिएका हुन्। ‘संविधानसभा नियमावलीले मातृभाषामा शपथ लिन चाहने सभासद्लाई मातृभाषामै शपथको व्यवस्था गराउनुपर्ने व्यवस्था गरेको छ। यसअनुसार शपथ लिन चाहनेलाई तीन दिनअघि नै जानकारी दिन सदस्यहरूलाई भनेका थियौं’, सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने।

सचिवालयका अनुसार ३५ जना सभासद्ले मातृभाषामा शपथ लिने जानकारी गराएका छन्। जसअनुसार उनीहरूले हिन्दी, मैथिली, भोजपुरी, मधेसी (बज्जिका), मगर, गुरुङ, थारू, नेवार, अवधी र लिम्वु गरी १० वटा भाषामा शपथ लिनेछन्।

एमाओवादीका प्रभु साहलगायत केही सभासद्ले मैथिली भाषामा शपथ लिने जानकारी दिएका छन्। एमाओवादीकी ओनसरी घर्तीमगरले मगर भाषा, नेपा: पार्टीका लक्ष्मण राजवंशीले नेवार भाषामा शपथ लिनेछन्।

संघीय समाजवादी पार्टीले आफ्ना पाँचै सभासद्लाई आ आफ्नो मातृभाषामा शपथ लिन निर्देशन दिएको जानकारी महासचिव राजेन्द्र श्रेष्ठले दिए। समानुपातिकमा पाँच सिट पाएको संघीय समाजवादीबाट एक जनजाति, एक मधेसी महिला, एक बाहुन महिला, एक मुस्लिम र एक दलित सभासद् छन्।

ज्येष्ठ सदस्य थापाले छोरा सुनीललाई पनि शपथ गराउनेछन्। राप्रपाका सुनील प्रत्यक्षतर्फबाट निर्वाचित सदस्य हुन्। एमालेले आफ्ना सभासद्लाई दौरासुरुवाल लगाउन निर्देशन दिएको छ। सभासद् रवीन्द्र अधिकारीले पुरुषलाई दौरासुरुवाल र महिलालाई चोलो र सारी लगाउन पार्टीले निर्देशन दिएको जानकारी दिए। सभासद् र संविधानसभाको गरिमा बढाउन एमालेले आफ्ना सभासद्लाई राष्ट्रिय पोसाक लगाउन निर्देशन दिएको हो।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :