संकटमा पर्दैछ रेशमखेती

यो समाचार 157 पटक पढिएको

काठमाडौं, ७ माघ \एकताका रेशम खेती भनेपछि किसान हुरुक्कै हुन्थे । खेतबारीमा किम्बु रोपेर धेरैले खेती पनि गरे । तर पछिल्ला वर्षहरुमा रेशम खेतीतर्फको आकर्षण घट्दै गएको छ ।

Resam kheti

सरकारी प्रोत्साहन र किसानको पनि दृढ संकल्प नहुँदा यो खेती अहिले ओझेलमा पर्दै गएको हो । सरकारले रेशम खेतीका लागि किसानलाई प्रोत्साहन नदिनु नै रेसम खेती संकटमा पर्नुको प्रमुख कारण भएको सरोकारवाला बताउँछन् ।
रेशम खेतीका लागि कम बजेट छुट्टाएकाले किसान समक्ष प्रभावकारी कार्यक्रम पुर्‍याउन कठिनाई भएको व्यवसायिक कीट विकास निर्देशनालयले जनाएको छ । ‘व्यवसायिक रेशम खेतीका लागि छुट्याएको बजेट कम भएपनि लाभकारी रुपमा किसान समक्ष पुर्‍याउन कार्यक्रम बनाइरहेका छौं’ निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठले भन्नुभयो ‘बजेट सदुपयोग गर्न सके पनि धेरै उपलब्धि हासिल गर्न सकिन्छ ।’ अहिले देशका धनकुटा, पोखरा , स्याङजा , चितवन, काभ्रे, धादिङ लगायत जिल्लामा व्यवसायिक रेशम खेती भइरहेको छ ।

यसकारण आकर्षण घट्दो:
किसानलाई प्राविधिक सहयोग र अनुदान एकदमै न्यून हुँदा यो खेती संकटमा पर्न थालेको रेशम खेती विकास अधिकृत चन्द्र ढकालले बताउनुभयो । उहाँका अनुसार रेशम खेतीका लागि कम्तीमा १० देखि १२ रोपनी जग्गामा किम्बु लगाउनुपर्ने भएकाले त्यसबाट उत्पादन लिन कम्तीमा पनि २ वर्ष पर्खनुपर्छ ।

२ वर्षसम्म पर्खेर लगाइएको व्यवसायबाट सोचे जस्तो आम्दानी र सफलता नपाएपछि व्यवसायिक खेती गर्दै आएका किसानले अहिले ब्यवसाय परिवर्तन गर्न थालेका छन् । उनीहरु अहिले रेशम खेती भन्दा पनि तरकारी र फलफूमा खेतीमा बढी आकर्षित भएका छन् ।

व्यवसायिक तरकारी, पशुपालन र फलफूल खेतीमा सरकारी अनुदान लगायत प्राविधिक सहयोग पनि राम्रो पाइने र आम्दानी पनि राम्रो हुने भएकाले रेशम खेती छोडी किसानहरु अर्को खेतीमा जुटेका पाईएको रेशम खेती विकास शाखा खोपासीले जनाएको छ । रेशम खेतीको व्यवसायिकताका लागि बेलैमा सचेत नहुने हो भने आउने दिनमा थप संकटको अवस्था सिर्जना हुने भन्दै चासो दिनुपर्नेमा शाखाले जोड दिएको छ ।
रेशम खेतीका फाइदा रेशमबाट पश्मिना, ऊन, गलैचाँ, टोपी, सल लगायतका वस्तु बनाउन सकिन्छ । तर रेशमजन्य सामानबाट राम्रो आम्दानी हुने भएपनि व्यवसायिक खेती घट्दै जाँदा मागको अनुपातमा उत्पादन निकै कम छ । स्वदेशी उत्पादन कम भएपछि अहिले चीन र भारतबाट रेशमको धागो आयात गर्नुपर्ने बाध्यता छ । उत्पादन नहुँदा चीन र भारतबाट वर्षेनी २ सय ५० मेट्रिक टन धागो आयात हुने गरेको छ ।
भन्ने बितिकै सोचे जति लाभ लिन नसकेपनि यसको बजार राम्रो भएकाले ढुक्क भएर खेती गर्न सरकारले आग्रह गरेको छ । रेशमको लागि चाहिने किम्बु खेतीलाई अरु बाली जस्तो धेरै मिहेनत र स्याहार गर्न नपर्ने भएकाले थोरै लगानीमा पनि आम्दानी लिन सकिने भन्दै ढुक्क हुन सरकाले आग्रह गरेको हो । सरकारले यो व्यवसायलाई उद्योगको रुपमा विस्तार गर्ने तयारी पनि भइरहेको जनाएको छ ।

रेशम खेतीका लागि समस्या:

रेशम खेती समस्यामा पर्नु व्यवसायिक रुपमा किम्बु उत्पादन गर्न नसक्नु हो । किम्बुका विरुवा उत्पादन गर्न आवश्यक जग्गा नहुँदा माग अनुसार अघि बढ्न नसकेको व्यवसायिक कीट विकास निर्देशनालयलको भनाई छ ।

निर्देशनालयका अनुसार सरकारले देशका विभिन्न ठाउँमा किम्बुको विरुवा उत्पादन गर्न जग्गा उपलब्ध गराएपनि उपलब्ध गराइएको केही ठाउँका जग्गा अर्के प्रयोजनमा प्रयोग भइरहेकाले समस्या भएको हो ।

चितवनको भण्डारा र सुनसरीको इटहरीमा किम्बुको विरुवा उत्पादन गर्न उपलब्ध गराएको जग्गा अरु प्रयोजनका लागि प्रयोग भइरहेकाले पूरै जग्गामा किम्बुको विरुवा उत्पादन गर्न नसकेको निर्देशनालयका कार्यक्रम निर्देशक श्रेष्ठले बताउनुभयो । किम्बुको विरुवा उत्पादन गर्न सरकारले तनहुँको बन्दिपुर, स्याङजा र पोखरामा पनि जग्गा उपलब्ध गराएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :