उत्तरी रसुवामा माछापालन

यो समाचार 54 पटक पढिएको

रसुवा, ६ माघ । अन्नबाली अत्यन्तै न्यून फल्ने भिरालो जमिन र ठाडोखोलामा खेर गएको पानीलाई सदुपयोग गर्दै उत्तरी रसुवाको ठूलोभार्खु गाउँमा माछापालन कार्यले क्रमिक गति लिन थालेको छ । रसुवा उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा २०५३ सालमा दुईवटा पोखरी बनाई थोरै सङ्ख्यामा माछा भुरा ल्याई यहाँ माछापालन सुरु गरिएको हो । जिल्लामा रेन्बो, ट्राउट माछापालन व्यावसायिक तवरले अगाडि बढाउन उच्च पहाडी कृषि व्यावसायिक तथा जीविकोपार्जन सुधार आयोजनाले अनुदान उपलब्ध गरेपछि अहिले डेढ दर्जनभन्दा बढी पोखरी निर्माण गरी २० हजार माछाका भुरा पाल्न सुरु गरिएको माछापालक कृषक स्याफ्रु–५ का तेम्पा ग्याल्सेन तामाङले बताउनुभयो ।

 

यसका लागि मत्य अनुसन्धान केन्द्रको प्राविधिक सहयोग र हिमाली परियोजनाको ३२ लाख आर्थिक अनुदान उपलब्ध गराएको छ । स्थलगत अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा गएको नागरिक समाज, उद्योग वाणिज्य संघका प्रतिनिधिसमेतको टोलीले पोखरीको अनुगमन गर्दा प्रगति उल्लेखनीय भएको ठहर गरेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा जगतबहादुर सिम्खडाले जानकारी दिनुभयो । तामाङले बनाएको पोखरीले वार्षिकरूपमा ५० लाखको कारोबार गर्ने टोलीले अपेक्षा गरेको छ । आफू मलेसिया जाँदा सोचेजस्तो आम्दानी गर्न नसकेको र विदेशबाट ल्याएको रकमले रु ३५ हजारमा पाखो जमिन खरिद गरी सुरु गरिएको माछापालनले जीविकोपार्जनमा सरलता आउने विश्वास तामाङको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :