बिमा रकम कृषकको पहुँचमा पुगेन

This post has already been read 267 times!

काठमाडौं, ६ माघ । कृषि विकास मन्त्रालयले पशु तथा कृषि बिमाका लागि छुट्टयाएको रकमको न्यून परिणाम मात्रै हालसम्म कृषकको पहुँचमा पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चालु आवमा बिमा रकमका लागि सरकारले १३ करोड विनियोजन गरेको छ । त्यसमध्ये हालसम्म रु २५ लाख १४ हजार ७३० मात्रै कृषकले ११ बिमा कम्पनीमार्फत बिमाका रूपमा दाबी गरेका छन् । सरकारले चालु आवमा कृषि तथा पशु बिमाका लागि ११ इन्सुरेन्स कम्पनीमार्फत नौ करोड ३१ लाख ४३ हजार बिमाङ्क अभिलेखमा देखिए पनि कृषकको पहुँचमा भने पुग्न नसकेको मन्त्रालयका सहायक प्रवक्ता टेकप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

 

बिमाको अभिलेख सङ्ख्या पनि १७९ मात्रै छ । गत साउनदेखि गत पुससम्म सो परिणाममा बिमा रकम दाबी गरिएको हो । बिमाबापत सरकारले आधा रकम र आधार रकम कृषक समूह र सहकारीले बेहोर्ने व्यवस्था भए पनि प्रचारप्रसार र जनचेतनाका अभावमा लक्षित समूहसम्म नपुगेको मन्त्रालयको भनाइ छ । कृषि तथा पशुधनको रक्षाका लागि सरकारले चालु आबदेखि बिमाको कार्यक्रम अगाडि सारेको हो । यस्तै मन्त्रालयले प्राङ्गारिक मल कारखाना स्थापनाका लागि ११ प्रस्ताव स्वीकृत गरेको छ ।

 

मल कारखाना स्थापना गर्न ५० प्रतिशत पुँजीगत अनुदानको प्रस्ताव आह्वान भएकामा २३ प्रस्ताव परेकामा ११ प्रस्ताव मात्रै स्वीकृत भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्याजको सुरक्षित भण्डारका लागि पथलैया, बुटवल र नेपालगन्जमा भेन्टिलेटेड शीतघर निर्माण गर्न निजी तथा सहकारी संस्थालाई ५० प्रतिशत पुँजीगत अनुदान दिइने भएको छ । मुलुकमा प्याजको अत्याधिक माग भए पनि भण्डारणको अभावमा बाह्य मुलुकबाट प्याज आयात गर्नुपरेकाले शीतघर निर्माण गर्न लागिएको हो ।

 

 

युवालाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यका साथ २५ जिल्लामा अभियानात्मक रूपमा कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसका लागि एक हजार ४५२ योजना सङ्कलन भएको छ । सङ्कलन भएका योजनामध्ये पहिलो चरणमा १० जिल्लाका ४०० योजना छनोट भई तरकारी उत्पादनको कार्यक्रम सुरु भइसकेको छ । मौरीपालन तथा च्याउ खेतीका लागि काभ्रेपलाञ्चोक, भक्तपुर, प्युठान, दाङ, धनकुटा र इलाम जिल्ला छनोट भएको जनाइएको छ ।