तरकारी आपूर्ति दोब्बर बढ्यो

यो समाचार 272 पटक पढिएको

काठमाडौं,  चुनाव सकिएपछि राजधानीमा तरकारीको आपूर्ति दोब्बरले बढेको छ । संविधानसभा चुनावताका भएको यातायात बVegetableन्दका कारण राजधानीमा तरकारी आपूर्तिमा कमी आउनुका साथै मूल्य पनि ह्वात्तै बढेको थियो । चुनाव सकिएर यातायात सहज भएपछि आपूर्ति बढेको छ । चुनावका बेला बढेको तरकारीको मूल्य समेत घट्न थालेको व्यवासायीले बताएका छन् । आपूर्ति बढेपछि तरकारीको मूल्यमा करिब ४० प्रतिशतले घटेको छ ।

सामान्य अवस्थामा ५ देखि ७ सय मेट्रिक टन तरकारी भित्रिने कालीमाटी तरकारी बजारमा चुनावको समयमा ३ सय मेट्रिक टन मात्र तरकारी आउने गरेको थियो । आपूर्तिमा कमी आउनेबित्तिकै बजार मूल्य बढ्ने गर्छ । चुनावपछि काठमाडौं भित्रिने अधिकांश तरकारीको मूल्यमा ३० देखि ४० प्रतिशतले कमी आएको कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिले जनाएको छ । यसअघि बढेको अदुवा, खुर्सानी, लसुन र प्याजको मूल्यमा समेत कमी आएको छ । कात्तिक पहिलो साता प्रतिकिलो १ सय १२ रुपैयाँ थोक कारोबार भएको प्याज कालीमाटी बजारमा मंगलबार साढे ६३ रुपैयाँमा कारोबार भयो । त्यस्तै प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेको अदुवाको मूल्य १ सय ५ रुपैयाँमा झरेको छ । चाइनिज लसुन १ सय २ रुपैयाँबाट ९५ रुपैयाँमा झरेको छ ।
काउली, सिमी, ब्रोकाउली, मूला, भेंडे खुर्सानीलगायतका दैनिक प्रयोगमा आउने मुख्य–मुख्य तरकारीको मूल्य घटेको व्यवसायीले बताएका छन् । केही समययता ह्वात्तै बढेको आलुको मूल्यमा समेत गिरावट आएको छ । आलुको थोक मूल्यमा प्रतिधार्नी १० देखि १५ रुपैयाँसम्म कमी आएको उपभोक्ताले बताएका छन् । उपत्यका भित्रिने टमाटरको मूल्य भने नघटेको नेपाल तरकारी तथा फलफुल व्यवसायी महासंघले जनाएको छ । गोलभेंडाको माग नेपालमा पूरा हुन नसकेका कारण भारतबाट समेत निरन्तर भित्र्याइएको महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । “आलुको आपूर्ति बढ्दै गएकाले मूल्यमा निरन्तर कमी आएको छ । तर, गोलभेंडाको आपूर्ति भने वढ्न नसक्दा मूल्य घटेन,” उनले भने । अन्य तरकारीको आपूर्ति बढेकाले मूल्य घट्न थालेको उनले बताए । “पुसमा अधिकांश तरकारीको मूल्य घटेर पुरानै मूल्यमा आउने सम्भावना छ,” घिमिरेले भने । पछिल्ला दिनमा भारतबाट समेत दैनिक ५० मेट्रिक टन तरकारी उपत्यका भित्रिरहको उनले बताए । चुनावअघिको १ साता उपत्यका बाहिरका विभिन्न ठाउँबाट दैनिक ३ देखि ५ सय मेट्रिक टन तरकारी राजधानी भित्रिएको तथ्यांक छ । चुनावपछि भने दैनिक ६ सय देखि ६ सय ५० मेट्रिक टन भित्रिरहेको छ ।

 कारोबार दैनिकबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :