पूर्वमा पृथक पढाइ : आधुनिक खेती प्रणालीमा आधारित होर्टिकल्चर एन्ड फ्लोरिकल्चर !

यो समाचार 516 पटक पढिएको

कृषि इन्जिनियरिङ, पोषण तथा आहार विज्ञान, टी टेक्नोलोजी एन्ड मेनेजमेन्ट अध्यापन

बिराटनगर । देशभरिमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मात्र पढाइ हुने विषय हो, होर्टिकल्चर एन्ड फ्लोरिकल्चर । खेती प्रणालीमा देखिएका अव्यवहारिकता हटाउन र आधुनिक खेती प्रणालीलाई प्रबद्र्धन गर्ने विषयमा अध्यापन गरिने विषय हो यो । खासगरी फूल सज्जाबारे ज्ञान दिन सहयोग गर्छ, यो कोर्सले ।केही वर्षअघिसम्म पनि विविध विषय पढ्न उच्चशिक्षाको लागि पूर्वका विद्यार्थीहरू राजधानी या त विदेश जाने गर्थे । आफूले खोजेको विषय पढाइ नहुने भएपछि आफ्नो ठाउँ छाडेर अन्तै जानुपर्ने बाध्यता थियो । तर, विगत एक दशकमा पूर्वी नेपाल बाहिरका विद्यार्थीको लागिसमेत शैक्षिक गन्तव्य बनेको छ । प्रदेश १ मा यस्ता कतिपय विषय पढाइ हुन्छन्, जो अन्त कतै पढाइ हुँदैन ।

धेरै विषयहरूमा पूर्व अब आफैं सक्षम बन्दै आएको छ । मानविकी, शिक्षा, व्यवस्थापन, नर्सिङजस्ता सदावहार कोर्षका साथै फरक विषयमा पनि अध्यापन हुन्छ, जसको कारण विद्यार्थीहरूले अन्त कलेज खोज्नुपर्ने आवश्यकता पर्दैन । प्रदेश १ मा स्वास्थ्य विषय पढाइ हुने सबैभन्दा ठूलो कलेजका रूपमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ, जहाँ भारतबाट समेत विद्यार्थीहरू जीवविज्ञान पढ्न आउँछन् । यस्तै, विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजलगायतले पनि स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गरिरहेको छ । शिक्षामा आत्मनिर्भर बन्दै आएको प्रदेश नं। १ आफू मात्र आत्मनिर्भर छैन, बरु देशभरका विद्यार्थीलाई आफ्नो क्षेत्रमा तान्न सफल छ । यहाँ केही प्रनिनिधि शिक्षालयका विशेषताबारे प्रस्तुत गरिएको छ, जहाँ निश्चित विषयका लागि देशभरबाट विद्यार्थीहरू आउँछन् ।

कृषि इन्जिनियरिङ

शैक्षिक सत्र २०५७र०५८ देखि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कृषि इन्जिनियरिङ शुरु भएको हो । कृषि इन्जिनियरिङ पढाइ हुने यो देशको एउटै मात्र शिक्षालय हो । कृषिमा यान्त्रिकीकरण गरी बढी उत्पादन गर्ने उद्देश्य रहेको यो शिक्षाले विद्यार्थीहरूलाई प्रविधिसँग नजिक बनाई कृषिको विकासमा योगदान दिइरहेको छ । क्याम्पसका विभागीय प्रमुख जावेद आलमका अनुसार इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले निकालेको सूचनाअनुसार फर्म भरेर विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्छ । त्यहाँ पास हुने विद्यार्थीहरूको रुचिका आधारमा विषय छानिन्छ ।

विगत एक दशकमा पूर्वी नेपाल देश बाहिरका विद्यार्थीको लागि शैक्षिक गन्तव्य बनेको छ।

यो अध्ययन गर्नेहरू माटो, सिँचाइ, विकरणीय ऊर्जासँग सम्बन्धित रहेर काम गर्न सक्छन् । यसले कृषिका लागि चाहिने औजार तथा सामाग्रीहरू पनि उत्पादनमा सहयोग पुर्‍याउँछ । भूमिलाई भौतिक, रासायनिक क्षयीकरणलाई बचाउनका लागि पनि यो शिक्षाको अर्को महत्वपूर्ण पाटो हो । कृषि इन्जिनियरिङ सकेका जनशक्तिहरू विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरूसँगै आफंै पनि रोजगारी सिर्जना गर्न सक्ने खुबी राख्छन् । सिँचाइ विभाग, कृषि विभाग, भूसंरक्षण तथा वन मन्त्रालयलगायत सरकारी निकायहरूले रोजगार दिन सक्छन् । अन्य विषयझंै यसलाई चिनाउन नै समय लाग्ने र प्रविधि तथा ल्याबहरूमा ठूलो धनराशि खर्च हुने गरेको कारण यो विषयको अध्यापन र विकासमा समस्यासमेत आउने गरेको छ ।

पोषण तथा आहार विज्ञान

२०६२ सालदेखि राष्ट्रिय योजना आयोगले ध्यान दिन थालेको यो शिक्षा ०६७ सालदेखि मात्रै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार क्याम्पसले अध्यापनको स्वीकृति पायो । विज्ञान विषय लिएर आईएस्सी तथा प्लस टु गरेका विद्यार्थीहरूले यो विषय अध्ययन गर्न पाउँछन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको यो क्याम्पसले स्वीकृति पाएको यहाँ २४ जनाको कोटा छ । तर, फर्म भर्नेहरूको संख्या निकै हुन्छ । सहायक क्याम्पस प्रमुख धनराज कार्कीका अनुसार प्रवेश परीक्षाबाट शीर्ष आठसम्म आउने विद्यार्थीले एक लाख तिरी अध्ययन गर्न पाउँछन् । अन्य १६ जनाले भने तीन लाख १५ हजार खर्च गरी अध्ययन गर्नुपर्ने हुन्छ ।

सन्तुलित आहार, खानेकुराको कमी हुने वा कुपोषणको प्रभावलाई हटाउने यसको मुख्य विषय हो । नेपालका लागि यो विषय नौलो मानिन्छ । कुपोषणको शिकारले मानिसहरू मरेको खबरहरू सञ्चार माध्ययममा आइरहँदा पोषणको नियमित आपूर्तिको लागि समेत यो विषयले सहयोग गर्छ । यसबाहेक यस क्याम्पसबाट भूविज्ञान, फुड टेक, बीटेकलगायत विषय पनि अध्यापन हुने गरेको छ । यी सबै विषय प्राविधिक भएकोले विद्यार्थीहरूको आकर्षण राम्रो छ ।

पोषण विज्ञ जनशक्तिहरूले विशेषतः हस्पिटल, नेपाल सरकार तथा गैरसरकारी संस्थाले चलाएको परियोजना र जनस्वास्थ्य कार्यक्रमहरूमा रोजगारको पाउँछन् । यसबारे पर्याप्त जनशक्ति उत्पादन नहुँदा विदेशबाट पढेर आएका वा विदेशी नागरिकबाट काम चलाउनुपर्ने बाध्यता छ । स्टार होटलहरू, खाद्य उद्योग, खेलकुद क्लब, जिमखाना, आर्मी तथा विद्यालयको होस्टललगायत अन्य क्षेत्रमा यस पोषण विज्ञको हाल ठूलो माग छ । नेपालमा भन्दा तत्कालका लागि भने विदेशमा यो विषय अध्ययन गरेका जनशक्तिको माग बढी छ ।

होर्टिकल्चर फ्लोरिकल्चर

प्रविधिलाई साथ लिएर कृषिलाई आधुनिकिकरण गर्ने एउटा अर्को विषय हो, होर्टिकल्चर एन्ड फ्लोरिकल्चर, जुन इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मात्र पढाइ हुन्छ । यो विषयमा खासगरी खेती प्रणालीमा देखिएका अव्यवहारिकता हटाउन र आधुनिक खेती प्रणालीलाई प्रबद्र्धन गर्ने विषयमा अध्यापन हुन्छ । होर्टिकल्चर विषय इलामका तात्कालीन प्राध्यापक डाक्टर नृहसिंहकुमार खत्रीले भित्र्याए । होर्टिकल्चरको लागि इलामको हावापानी सुहाउँदो छ ।

यसमा अहिले चार वटा सेमेस्टरमा गरी एक सय २० जना विद्यार्थी अध्ययनरत् छन् । यो विषय पढ्न चाहने विद्यार्थीहरूको चाप बढ्दो छ । यसले कृषि र खेतीमा देखिएका समस्या समाधान गर्न तथा फूल सज्जाबारे ज्ञान दिन सहयोग गर्छ । बगैंचा सजाउन देश तथा विदेशका ठूला होटल तथा घरहरू, क्याम्पस, पार्कहरूमा यो विषय पढेका जनशक्ति सजिलै बिक्छन् । आफंै पनि व्यवसाय सञ्चालन गर्न सक्छन् । साथै यस विषय पढाउने शिक्षकको संख्या पनि निकै कम छ ।

टी टेक्नोलोजी एन्ड मेनेजमेन्ट

नेपालमा करिब २० हजार हेक्टर जमिनमा चिया खेती हुन्छ । पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा चियाखेतीका लागि प्रसिद्ध मानिन्छन् तर झापा तथा इलाम गरी एक सय ४१ वटाभन्दा बढी चिया उद्योगहरूले दक्ष जनशक्तिको अभावमा गुणस्तरीय चिया उत्पादन गर्न सकिरहेका छैनन् । विशेष गरी चिया विशेषज्ञहरू भारतबाट निर्यात गर्नुपर्ने समस्यासँगै बढी आर्थिक भार खेप्नुपरिरहेको छ ।

शिक्षामा आत्मनिर्भर बन्दै आएको प्रदेश नं. १ आफू मात्र आत्मनिर्भर छैन, बरु देशभरका विद्यार्थीलाई आफ्नो क्षेत्रमा तान्न सफल छ।

शैक्षिक सत्र २०६८/०६९ बाट झापाको भद्रपुरस्थित मेची क्याम्पसले टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट शिक्षाको अध्ययन शुरु गर्यो । शुरुको वर्ष २३ जना विद्यार्थी भर्ना भए पनि पछि विद्यार्थी संख्या निरन्तर घट्न थाले । यस पटक भने केही प्रावधानहरू परिमार्जन गरिएकोले विद्यार्थीहरूको आकर्षण बढ्ने अनुमान गरिएको छ ।

‘अघिल्लो शैक्षिक सत्रसम्म विज्ञान विषयमा बायोलोजी नै लिनेले मात्र यो विषय पढ्न पाउने भनिएको थियो,’ सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद निरौला भन्छन्, ‘यस वर्षदेखि ११ वा १२ कक्षामा एक सय पूर्णांक बायोलोजी पढ्नेले पनि भर्ना हुन पाउने भएका छन् ।’ फिजिकल पढ्नेले पनि पाउने भएपछि विद्यार्थी बढ्ने अनुमान गरिएको छ । त्रिविले सेमेस्टर प्रणालीसमेत खारेज गरेको छ भने क्याम्पसले शुल्कसमेत करिब आधा घटाएको छ । ‘पहिले साढे तीन लाख रुपैयाँ हाराहारी तिर्नुपथ्र्यो भने अहिले करिब आधा रकममै पढ्न पाइने भएको छ ।’

विज्ञहरूले चियाको लागि माटो परीक्षण गर्ने, नर्सरी लगाउने, चियाको बुटा रोप्ने, स्याहार गर्नेदेखि चिया टिप्ने र प्रशोधन गर्ने प्रविधिबारे जानकारी राख्नेछन् भने उत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनका लागि पनि व्यवस्थापन प्रविधिको समेत सिकाइ हुन्छ ।विस्तार भइरहेका प्रत्येक चिया उद्योगहरूमा कम्तीमा एक जना विशेषज्ञको आवश्यकता पर्छ, त्यसलाई परिपूर्ति गर्न यस विषय पढेकाहरू भए सहज हुन्छ । चिया खेतीलाई किरा तथा मौसमी प्रतिकूलताबाट टाढा राखेर उत्पादकत्व बढाउन तथा प्रविधिको प्रयोग गरेर आधुनिकीकरण गर्नसमेत यस्ता विषय पढेका प्राविधिकले सक्छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :