माछा पालेरै ‘अफजल’ बने लखपति

यो समाचार 741 पटक पढिएको

माछाबाटै सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार थापेका एक सफल किसान

सर्लाही । पिडारी– ८ का अफजल हुसेन (५७) ले ५ वर्षअघिसम्म सफल उखु किसानको नामले ख्याति कमाएका थिए । तर, आजभोलि उनी जिल्लाभरि नै माछा व्यावसायीका नामले परिचित छन् । ११ बिघामा पोखरी खनी ‘पंगासियस’ माछा पालेर मनग्य आम्दानी गर्दै आएका हुसेनले परम्परागत धान, गहुँ र मकैजस्ता खाद्यान्नमा निर्भर खेतीको परिभाषा नै परिवर्तन गरेका छन् । ‘पंगासियस’ (बचवा) माछा उत्पादन गर्ने उनी जिल्लाकै एक मात्र किसान हुन् । पिडारीमै सानो चिनी मिल सञ्चालन गरेर उखु खेती गर्दै आएका उनले पाँच वर्ष अघिदेखि भने माछा व्यवसाय शुरु गरेका छन् ।

राम्रो र व्यवस्थित तरिकाले माछापालन गरेवापत सरकारले उनलाई दुई लाख रुपैयाँ र सम्मान पत्रसहित सर्वोत्कृष्ट कृषकबाट पुरस्कृत गरेको थियो।

भारतमा रहेका परिवारका अन्य सदस्यले माछा पालनबाटै आम्दानी गरेको देखेपछि उनी पनि उखु खेती तथा चिनी मिलको पुरानो मोह त्यागे । र, लागे माछा पालनतर्फ । उखुबाट गुजारा चलाउन मात्र पुग्ने कमाइ गर्दै आएका उनी माछा बेचेर अहिले वार्षिक ४५ देखि ५० लाखसम्म कमाउँछन् । ०६९ सालमा ६ बिघामा पोखरी खनेर माछा पालन शुरु गरेका उनको माछापोखरी अहिले ११ बिघा क्षेत्रफलमा फैलिएको छ । भन्छन्, ‘आगामी वर्ष थप साढे तीन बिघामा पोखरी खनेर माछा पालन गर्ने योजना रहेको छ ।’ राम्रो र व्यस्थित तरिकाले माछापालन गरेवापत कृषि विकास मन्त्रालयले उनलाई ३० जेठमा दुई लाख रुपैयाँ र सम्मान पत्रसहित सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

उनले ‘कार’ नाम गरेको जातको माछा उत्पादन गर्ने सोच बनाएका छन् । भारतबाट ‘बरफ’मा ल्याइने बासी ‘पंगासियस’ माछा खाँदा मानिसहरू बिरामी पर्न थालेपछि आफैंले ‘पंगासियस’ माछा उत्पादन गर्न कम्मर कसेर लागि परेका छन् । उनी भन्छन्, ‘यसबाट यहाँका उपभोक्तामा बासी माछा खाने बाध्यता हट्ने छ र बिरामी हुनु पर्दैन । माछाका ‘भुरा’ नेपालमा नपाइने भएकाले भारतबाट ल्याउनुपर्छ, त्यति मात्र होइन माछालाई आवश्यक पर्ने दाना पनि उतैबाट ल्याउनुपर्छ । उनी भन्छन्, ‘नेपालमै सर्वसुलभ तरिकाले उपलब्ध हुन सके हामीजस्ता किसानलाई सजिलो हुने थियो ।’ उनले ‘पिडारी फिसरिज’ माछा फार्म मार्फत माछा व्यवसाय सञ्चालन गर्दै आएका छन्, जसमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पिडारी फिसरिजमा अहिले करिब दुई लाख ८० हजार माछा छन् ।

त्यहाँ भएका माछालाई दिनमा करिब ४५ देखि ५० बोरासम्म दाना चाहिन्छ । माछा तयार हुन करिब नौ महिना लाग्छ । उत्पादन भएको माछा प्रतिकिलो एक सय ७५ देखि दुई सय रूपैयाँमा बिक्री हुन्छ । उनले उत्पादन गरेको माछा जिल्लाकै बजारमा निर्यात हुने गर्छ । फार्मबाट बढी माछा बेच्ने व्यापारीलाई हौसलास्वरूप पुरस्कृत पनि गरिएको छ । यस वर्ष जिल्लाका तीन व्यापारीलाई मोटरसाइकल पुरस्कार दिएको उनले बताए । ‘उत्पादन भएको माछा जिल्लामै पुगिराखेको छैन,’ हुसेनले भन्छन्, ‘पहिले भारतबाट माछा किन्ने व्यापारी आए पनि अहिले जिल्लामै अपुग भएपछि अन्य व्यापारीलाई दिन सकिएको छैन ।’ पंगासियस माछा पालन अत्यन्तै जोखिमपूर्ण छ ।

‘अरू माछाभन्दा उत्पादन गर्ने तरिका र त्यसमा लाग्ने मिहिनेतको हिसाबले फरक छ, त्यसैले अन्य किसानले यो जातको माछा उत्पादन गर्न सक्दैनन्,’ हुसेनको कथन छ । समय–समयमा पोखरीको पानीको तापक्रम जाँच्नुपर्छ । १८ डिग्रीभन्दा कम भएको अवस्थामा पोखरीका माछा मर्छन्, त्यसैले जाडोमा माछा बचाइराख्न निकै मिहिनेत गर्नुपर्छ । जाडोमा २४ सै घण्टा पोखरीको पानी फेरिरहनुपर्छ, जुन सबै किसानले गर्न सक्दैनन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :