खडेरीले गत वर्ष साढे १० अर्बको बाली क्षति

यो समाचार 209 पटक पढिएको

काठमाडौं । प्राकृतिक प्रकोपबाट तराईका आठ जिल्लामा १० अर्ब रुपैयाँ बढीको बाली नष्ट भएको छ । कृषि विकास मन्त्रालयका अनुसार तराईका ८ जिल्लामा एक वर्षमा मात्रै सुक्खा खडेरीका कारण उक्त परिमाणमा कृषि बाली नष्ट भएको हो । मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२-७३ मा मात्रै कुल १० अर्ब ३७ करोड ६८ लाख ६३ हजार रुपैयाँको कृषि बाली नष्ट भएको छ । तराईका आठ जिल्लाका ६ सय २९ गाविसमा खडेरीका कारण धान, मकै, तरकारी, रहर, माछा तथा उखुलगायतका कृषिजन्य वस्तु नष्ट भएको छ ।  कुल २ लाख ३३ हजार ८ सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबाली नष्ट भएको छ ।

मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार यसरी सुक्खा खडेरीका कारण भएको क्षतिले तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका ४ लाख ८२ हजार ४ सय ४९ घर धुरी प्रभावित भएका छन् । ती घरधुरीहरूमा राहतको सामान वितरण गरिएको र यसरी कृषकले लगाएको कृषिबालीमा प्राकृतिक प्रकोपबाट क्षति हुनु निकै दुःखद रहेको प्रवक्ता कार्कीको भनाइ छ ।

सुक्खा खडेरीका कारण सप्तरीका कुल ३८ हजार ६ सय ७५ हेक्टर क्षेत्रफलमा कृषि बालीको क्षति भएको छ । सिरहामा ५४ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाएको अनुमानित ५४ करोड ५३ लाख रुपैयाँबराबरको क्षति भएको छ । त्यस्तै धनुषामा ३८ हजार ७ सय ८७ हेक्टर क्षेत्रफलमा लगाएको कृषिबाली क्षति भएको छ । जसको परिणाम अनुमानित २ अर्ब ३४ करोड ४६ लाख ३० हजार छ ।

महोत्तरीमा २८ हजार २ सय २७ हेक्टर क्षेत्रफलमा लगाएको अनुमानित १ अर्ब ४४ करोड ५४ लाख ५० हजार रुपैयाँको कृषिबाली नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ । त्यस्तै सर्लाहीमा सुक्खा खडेरीका कारण नै ३४ हजार ३ सय २० हेक्टर क्षेत्रफलमा लगाएको कृषिबाली नष्ट भएको छ । जसको अनुमानित रकम १ अर्ब ९४ करोड ३० लाख ५० हजार रुपैयाँ बराबर हो । त्यसैगरी रौतहटमा २१ हजार ८७ हेक्टर क्षेत्रफलको अनुमानित १ अर्ब ५ करोड ४३ लाख ५० हजार रुपैयाँबराबरको नष्ट भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

बारामा २ हजार ३ सय ६७ हेक्टरमा लगाएको २४ करोड ९३ लाख ५० हजारबराबरको र पर्सामा १५ हजार २ सय १७ हेक्टर क्षेत्रफलमा लगाएको १ अर्ब ४३ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :