सुख्खा पीडित किसानलाई कृषि मन्त्रालयको २१ करोडको राहत कार्यक्रम घोषणा

यो समाचार 679 पटक पढिएको

काठमाडौं । समयमा अकाशे पानी नपर्दा समयमा धान रोपाई गर्न नसकेका तराई मधेशका किसानलाई राहत दिन सरकारले २० करोड ६८ लाख रुपैयाँ बिनियोजन गरेको छ । पूर्वी तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका पीडित किसानलाई विशेष राहतका कार्यक्रम उपलब्ध गराउन कृषि विकास मन्त्रालयले यो बजेट उपलब्ध गराएको हो ।

कृषि मन्त्री रामकृष्ण यादबले तराईको धान रोपाईको अवस्था सुधार गर्न यो रकम उपलब्ध गराइएको जानकारी दिए । आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादबले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार आगामी भदौं महिनाभित्रमा ९ वटा कार्यक्रम सक्ने गरी यो रकम विनियोजन गरिएको छ ।

मन्त्री यादवले तराइका आठ जिल्लामा सुख्खाका कारण धान रोपाईमा देखिएको समस्या सुधार गर्न राहतको प्याकेजअन्तर्गत कार्यक्रम ल्याइएको जानकारी दिए । उनकाअनुसार सानो सूचनाको आधारमै किसानबाट निवेदन संकलन गरी सुख्खा ग्रस्त क्षेत्रमा तत्कालै सिंचाई सुविधाका लागि स्यालो ट्युववेल जडान गर्ने कार्यक्रम ल्याइएको छ । हाललाई अल्पकालीन कार्यक्रम ल्याइएको र निकट समयमै मध्यकालीन र दीर्घकालीन कार्यक्रम समेत ल्याउन लागिएको उनले जानकारी दिए ।

मन्त्रालयले सबैभन्दा बढी रकम तत्काल सिंचाइ व्यवस्थापन कार्यक्रमका लागि १४ करोड ८९ लाख रुपैयाँ बिनियोजन गरेको छ । तराईका आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा २ हजार स्यालो ट्युववेल, २ सय सेट सवमर्ज मोटर/पम्पिङ सेट र डेलिभरी पाइप तथा २६ साना सिंचाई आयोजना मर्मत सम्भार गर्ने कार्यक्रम भदौ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

धान रोपाई हुन नसकेको जिल्लामा भने वैकल्पिक खेति प्रवद्र्धन कार्यक्रम, दलहन, तेलहन, गहुँ, मकै, तरकारीलगायतको बीउ बितरण, मौसमको पूर्वानुमानमा कृषकको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम, खाद्य स्वच्छता कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, एकिकृत सिंचाइँ तथा जलस्रोत व्यवस्थापन आयोजना लगायतका कार्यक्रम मन्त्रालयले लागू गरेको छ ।

मन्त्रालयका अनुसार गत वर्षको तुलनामा रोपाई कम भए पनि आव ०७२/७३ को तुलनामा भने यो वर्ष रोपाई राम्रो भएको छ । अन्न भण्डार मानिने तराई क्षेत्रको पनि प्रस्तावित आठ जिल्ला र आसपासका जिल्ला धान सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामा पर्छन् । मन्त्रालयका अनुसार आइतबारसम्म सप्तरीमा ७० प्रतिशत, सिराहामा ५० प्रतिशत, धनुषामा ५० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत र सप्तरीमा ५० प्रतिशत मात्र रोपाई सकिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :