भारतबाट गाई नल्याऊ : किसान

यो समाचार 255 पटक पढिएको

भरतपुर ५ माघ । व्यवसायिक गाईपालन गर्दै आएका चितवनका किसानहरुले भारतबाट उन्नत गाई नेपाल ल्याउने सरकारको तयारीको विरोध गरेका छन् । व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुले नेपाली किसानलाई नै सहुलियत दिन माग गरे ।cow 1
गाई ल्याउन लागेको प्रतिबन्ध हटाएर सरकारले नेपाली किसानका लागि भारतबाट १० हजार गाई भित्र्याउँदै गरेको व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष आनन्द निउरे बताउँछन् । सो तयारी तत्काल रोक्नु पर्ने उनको भनाइ छ ।
‘नेपालका व्यवसायिक फार्म र स्रोत केन्द्रलाई सहुलियत दिएमा नेपालमा नै उन्नत जातका गाई उत्पादन हुने सम्भावना छ । त्यसैले भारतबाट गाई ल्याउन आवश्यक छैन’ अध्यक्ष निउरेले भने । सहयोग मिलेमा १० हजार गाई चितवन र नवलपरासीको नवलपुर क्षेत्रमै उत्पादन हुने उनले बताए ।
यहाँका किसानको गोठ व्यवस्थापन उन्नत नभइसकेको निउरेको भनाइ छ । ‘यहाँ जुन रूपमा गोठ व्यवस्थापन हुन्छ, ती गोठमा भारतबाट ल्याएका उन्नत गाई बस्न हुर्कन सक्दैनन्’ उनले भने । गोठका कारण गाई बिरामी हुने खतरा रहने उनको भनाइ छ ।
‘अहिले पैसा खर्च गरेर गाई ल्यायो । बिरामी भएपछि फेरि उतैबाट ओखती ल्यायो । त्यसो गर्नुभन्दा त सरकारले हामीलाई अनुदान दिए, यहाँको हावापानी र अवस्था सुहाउँदो उन्नत नश्लका गाई उत्पादन गर्ने थियौँ’ अध्यक्ष निउरेले भने ।
नेपाली किसानका गोठ सुधारका लागि सहयोग र सचेतना बढाउन किसानहरुको आग्रह छ । किसानका लगानीका साथै वित्तीय संस्थाले पनि दुधालु पशुपालनमा लगानी बढाउन किसानहरुले माग गरेका छन् । व्यवसायिक पशुपालनका लागि बढीमा सात प्रतिशतमात्रै व्याज लिन उनीहरुको आग्रह छ ।
अहिले किसानले १४ प्रतिशतको हाराहारीमा ऋणको व्याज तिर्दै आएका छन् । त्यस्तै पशुधन बिमाको प्रिमियम बढाउन पनि भनेका छन् । प्रिमियममा किसान र सरकारले आधा –आधा रकम बेहोर्छन् । त्यो बढाएर सरकारले ७५ प्रतिशत बेहोर्नुपर्ने किसानको माग छ ।
त्यस्तै, व्यवसायिक पशुपालन फार्महरुलाई सहुलियतमा प्रति गाई भैँसी दुई लाख रूपैयाँ कर्जा दिन पनि किसानहरुको अपिल छ । दिनको ५०० लिटरभन्दा बढी दूध उत्पादन गर्ने एकल अथवा सामुहिक फार्मलाई निःशुल्क दुग्ध चिस्यान केन्द्र दिन निउरेको माग छ । हरियो घाँसले दूधको गुणस्तर बढाउने हुँदा घाँस खेतीमा सरकारले प्रति बिघा ५० हजार रूपैयाँ अनुदान दिनुपर्ने आवश्यकता रहेको निउरेले बताए । त्यस्तै, घाँससँग सम्बधित मेसिन औजार खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध हुनुपर्ने उनको जोड छ ।
‘अहिले उत्पादन लागत अत्यधिक भएकाले किसानहरु गाईपालनमा निरास छन् । राज्यको दायि¤व त्यो निरासा हटाउने हो । अनुदानले लागत घटाउँछ । राम्रा गाई ल्याएका भरमा पशुपालनको विकास हुने होइन’ अध्यक्ष निउरेको जिकिर छ । चितवनमा मात्रै उन्नत फार्म १५० वटा छन् । १० देखिमाथि १०० वटासम्म गाई पाल्नेहरुलाई आफूहरुले समेटेको निउरेले बताए । एउटै फार्मले दिनको ५०० लिटरसम्म दूध उत्पादन गर्छ । व्यवसायिक फार्मबाट मात्रै चितवनमा दिनको ४० हजार लिटर दूध उत्पादन हुने गर्छ ।


‘माछा पनि रोक’

रत्ननगर । भारतवाट अवैध रूपमा आयत हुने माछाले नेपालमा उत्पादन हुने माछाको बजारीकरणमा समस्या गरेकोे छ । रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघको संयोजन र नेपाल मत्स्य विकास निर्देशनालय काठमाडौंले शुक्रबार आयोजना गरेको ‘माछा उत्पादनमा देखिएका समस्या र भावी रणनीति विषयक’ अन्तत्र्रिmया कार्यक्रममा बोल्नेहरुले भारतबाट आउने माछा रोक्नुपर्नेमा सबैले चासो दिए ।
लोडसेडिङका कारण पोखरीमा पानीको आपूर्ति गर्न असहज भएको भन्दै कृषकहरुले माछा उत्पादनको अर्को समस्या लोडसेडिङ रहेको बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय प्राकृतिक तथा कृतिम जलासय मत्स्य विकास कार्यक्रम काठमाडौका प्रमुख रमानन्द मिश्रले प्राकृतिक जलासय विश्वमा नै घट्दै गएकोले कृतिम माछापालनमा वृद्धि गर्नु आवश्यक रहेको बताए ।

नेपालमा ०.४२ प्रतिशतमात्र माछा उत्पादन हुने गरेको छ । देशमा कृषिको वृद्धिदर ४.५ प्रतिशत रहे पनि देशमा माछाजन्य कृषिले ८ प्रतिशत बृद्धिदर हासिल गरेको छ । महोत्सवका गोष्ठी तथा सेमिनार समितिका संयोजक ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार कर्माचार्य, नेपाल मत्स्य व्यवसायी महासंघका केन्द्रीय महासचिव अम्बिकाप्रसाद अधिकारीलगायतले बोलेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :