महोत्तरीमा चैते धान काट्न किसान व्यस्त

यो समाचार 232 पटक पढिएको

• राकेशप्रसाद चौधरी

महोत्तरी । महोत्तरी जिल्लामा लगाइएको चैते धानबाली काट्न किसानहरु ब्यस्त छन् । साथै, नयाँ धानबाली लगाउन खेत तयार गर्न थालेका छन् । जिल्ला कृषि बिकास कार्यालयले २०० हेक्टर जग्गामा एसआरआई प्रबिधिबाट चैते धानबाली लगाएका किसानहरुलाई बृहत्तर धान उत्पादन कार्यक्रममार्फत प्रोत्साहन समेत गरेको बाली बिकास अधिकृत दिनेश प्रसाद यादवले बताए । एसआरआई प्रबिधिबाट लगाइएको धानबालीबाट प्रति हेक्टर ५० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । यस प्रबिधिबाट धानखेती गर्दा रोपहा मजदूर कम लाग्ने, मल तथा पानी कम खर्च हुर्न, किरा कम लाग्ने भंगहाका किसान विजय कुमार महतोले बताए ।

यस क्षेत्रका किसानले चैते धानबालीलाई ‘अगता’ अथवा ‘आउस’ भन्ने चलन छ । महोत्तरी जिल्लामा झण्डै ४७ हजार हेक्टर जग्गामा धानबाली लगाउने गरिन्छ । जसमध्ये चैते धानबाली सात सय हेक्टर जग्गामा लगाइएको छ । बाली बिकास अधिकृत यादवका अनुसार पाँच प्रतिशत जग्गामा मात्रै बर्षभित्र सिंचाई ब्यबस्था छ । अन्य जग्गाहरुमा अकासे अथवा बोरिङ्ग एवं पम्पहरुबाट सिंचाई गर्ने गरिन्छ । चैतेधान लगाउने जग्गामा दुई वटा धान तथा एउटा गहुँ वा दलहन बाली लगाउन सकिने प्राविधिक सहायक लाल कुमार साहले बताए ।

जिल्लाको मेधनाथ गोरहन्ना, पर्सापतैली, गौशाला, बर्दिबास लगायतका ठाउँमा अत्याधिक चैते धानबाली लगाउने गरिएको छ । जिल्ला कृषि बिकास कार्यालयबाट बृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत प्रति हेक्टर पाँच हजार रुपैया अनुदान दिने गरिएको चैते धानबाली लगाएका किसान सत्यनारायण यादवले जानकारी दिए । एक हेक्टर जग्गा बराबर १.४७६५६९ बिग्हा जग्गा हुन्छ । धान उत्पादनमा आत्मनिर्भर मात्र नभई निर्यातकर्ता समेत रहेको भारतीय प्रान्त पंजाब जस्तै तराई-मधेशलाई बनाउन पैसा तिरेर भएपनि समयमै मल तथा सिंचाईको ब्यबस्था हुनुपर्ने तथा राज्यबाट सम्पूर्ण खर्चको ५० प्रतिशतसम्म अनुदान एवं धानबाली बिमाको ब्यबस्था हुनुपर्नेतर्क किसानहरुको छ ।

बसबिट्टीका किसान अफताब आलमले भने,‘भारतबाट मल ल्याउँदा प्रहरीले पक्राउ गर्छ, गोबर लगायतको मलले पुग्दैन । जेनतेन खेती गर्दा अब अकाशबाट पानी झर्दैन ।’ महोत्तरी जिल्लामा हुने धानखेतीमध्ये अधिकांश किसानले अकासे पानीको भर पर्नुपर्दछ । रासायनिक मलको लागि भारतीय चोरबाटोको भर पर्नुपर्दछ भने सिंचाईका लागि चोरीको बिजुली हेर्नुपर्दछ ।

धानबाली सुख्खा भए वा नष्ट भएमा राज्यबाट क्षतिपूर्तीको ब्यबस्था हुनुपर्ने माग किसानहरुले गर्ने गरेको पनि बर्षौ भइसकेको छ । जिल्ला कृषि बिकास कार्यालयले अनुदान दिएको चैते धानबाली हर्दिनाथ–१ बीउँबाट लगाइएको थियो भने अन्य किसानले रैथाने ‘आउस’ को बीउँबाट खेती गरेका थिए । अहिले ५० प्रतिशत पनि असारे धानखेती रोपाई नभएको कृषि बिकास कार्यालय महोत्तरीले जनाएको छ ।