कृषिमा यान्त्रिकरणको प्रयास

This post has already been read 142 times!

 बागलुङ, ४ माघ । लागत कम गरी उत्पादन बढाउन कृषि बालीमा उन्नत प्रविधिको प्रयोग बढेको छ । जिल्ला कृषि विकास कार्यालय र किसानको निजी प्रयासमा कृषिलाई यान्त्रिकरणतर्फ उन्मुख बनाइएको हो । खाद्यान्न बाली, तरकारी बाली र फलफूल बालीलाई यान्त्रिकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।Mechanijmकार्यालयले वार्षिक कार्ययोजनामार्फत त्यस्ता प्रविधि हस्तान्तरण र सीप तथा क्षमता विकासका कार्यक्रम गाउँस्तरमा विस्तार गरेको छ । कम लागतमा कम जनशक्तिको प्रयोग गर्दै कृषि उत्पादनमा क्षति घटाउने उद्देश्यले कृषिको यान्त्रिकरणमा जोड दिइएको सो कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । कार्यालयले सबै किसानको मागलाई सम्बोधन गर्न नसक्ने हुँदा प्रविधि प्रयोगलाई प्रसार विधिमार्फत विस्तार गर्न कार्यक्रम सुरु गरेको रिजालको भनाइ छ ।

“यो वर्षमात्रै हामीले पाँचवटा यान्त्रिक हलो प्रदान गरिसकेका छौँ, थप १४ वटा हलोको माग छ”–कृषि प्रसार अधिकृत विप्लव अधिकारीले भन्नुभयो, “पचास प्रतिशत अनुदानमा कार्यालयले यान्त्रिक हलो प्रदान गर्ने गरेको छ ।” कार्यालयले धान बताउन प्रयोग हुने पङ्खा पनि दिने गरेको छ । त्यस्तै, अत्याधुनिक मौरी घार, महदानी, पञ्जा, टोपीलगायतका यान्त्रिक सामान पनि किसानलाई दिने गरेको छ । समूहगत र व्यक्तिगत दुवै आधुनिक कृषि प्रणाली अपनाउन चाहने जुनसुकै किसानलाई कार्यालयले यान्त्रिकरणमा सहयोग गर्ने बताइएको छ ।परम्परागत कृषि प्रणालीलाई सुधारेर आधुनिक कृषि प्रणालीलाई अवलम्बन गराउन यान्त्रिकरणको आवश्यकता परेको रिजालको टिप्पणी छ । कृषि कार्यालयले बर्सेनि किसानलाई लक्षित गरी विभिन्न कृषियन्त्र प्रदान पनि गर्दै आइरहेको छ । खाद्यन्न बालीतर्फ थ्रेसर, कर्न सेलर, उन्नत खालको अन्न भकारी, सुपर ग्रीन ब्याग त्यस्तै तरकारी बालीतर्फ आरा, करौँती, सिकेचर, कैँची जस्ता यान्त्रिक वस्तु प्रदान गर्ने गरिएको छ । कार्यालयमा निश्चित अनुदानमा किसानलाई यन्त्र दिने गरिएको हो ।

आवश्यक प्रक्रिया पु¥याई निवेदन साथ कृषि कार्यालयमा आएमा सक्दो सहयोग गर्न कार्यालय तयार रहेको वरिष्ठ कृषि विकास अधिकृत रिजालले बताउनुभयो । पछिल्लो समय जिल्लाको ग्रामीण क्षेत्रका किसान पनि कृषिलाई यान्त्रिकरण गर्नेतर्फ अग्रसर बनेका देखिन्छन् । परम्परागत खेतीप्रणालीबाट उब्जाउ पनि कम हुने र लगानी पनि बढी लाग्ने हुँदा किसान सरल र कम लागतको यान्त्रिक प्रविधिमा आकर्षित हुन थालेका हुन् ।