किसानहरू आर्गनिक कफीखेतीतर्फ आकर्षित

यो समाचार 167 पटक पढिएको

लमजुङ, ४ माघ । केही वर्ष पहिले उत्पादन भएर पनि बजार समस्याले पेसा परिवर्तन गर्ने मनस्थितिमा पुगेका लमजुङका कफी किसान विस्तारै उत्पादित कफीले बजार पाउन थालेपछि हौसिएका छन् । पछिल्लो समयमा लमजुङमा उत्पादित कफीले देशका विभिन्न सहर र विदेशमा समेत बजार पाउन थालेपछि किसानलाई हौसला मिलेको हो ।Coffeविशेष गरी लमजुङबाट अगार्निक कफीको माग बढी हुने गरेकाले आफूहरूलाई हौसला मिलेको किसानले बताएका छन् । लमजुङको धमिलिकुवा, चक्रतीर्थ, भलायखर्क, भार्ते, विचौर, परेवाडाँडा, सुन्दरबजार, दुराडाँडा, जीता, कुन्छा, भोर्लेटार, गाउँसहर, खुदी, सिम्पानी, घनपोखरा, भुलभुलेलगायतका गाविसका किसानहरू अहिले कफीखेतीतर्फ आकर्षित भएका छन् ।
कफीखेतीबाट आम्दानी बढ्न थालेपछि अन्य खेती हुने जग्गा जमिनमा पनि किसानले कफीको बिरुवा रोप्न थालेका छन् । सेपिलो सीमान्तकृत र भिरालो ठाउँमा कफीखेती राम्रो हुने र लमजुङको धरातलीय स्वरुप पनि त्यस्तै भएकाले लमजुङका कफीखेतीका राम्रो सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उपयुक्त हावापानी, भू–बनोट र बढ्दो मागका कारण धान फल्ने खेतमा पनि अहिले कफीखेती विस्तार भएको छ । अहिले लमजुङका विभिन्न भागमा किसानले आफ्नै घरमा कफी पल्र्पर मेसिन राखेर प्रशोधन पनि गर्न थालेका छन् । कफीखेती गर्ने किसानको पहलमा लमजुङमा कफी व्यवसायी संघ पनि गठन भएको छ ।

संघको पहल र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा विभिन्न गाविसका किसानले सहकारी संस्थामार्फत कफीखेती विस्तार गरेका छन् । कफीखेतीका लागि कृषि विकास कार्यालयले बिरुवा खरिदमा ५० प्रतिशत अनुदान दिने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको करिब २०० हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेको र वार्षिक ४५ मेट्रिक टन उत्पादन हुँदै आएको कृषि कार्यालयका बागवानी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :