अस्तित्व खोज्दैं कोदोखेती

यो समाचार 929 पटक पढिएको

मलंगवा । आजभन्दा २५ वर्ष पहिले धानजस्तै तराईमा प्रमुख बालीका रूपमा रहेको कोदोखेती अहिले हराउँदै गएको छ । सर्लाहीको दक्षिणी भेगमा बढीमात्रामा गरिने कोदोबाली अहिले देख्न पाइँदैन । कोदो काटेर धान रोप्ने समयमा अहिले खेत त्यत्तिकै उजाड देखिएको छ । कही कही मुस्किलले कोदोबाली लगाएको दखिन्छ ।

सरगरदिनाका परमेश्वर साहले मानिसको खानपान परिवर्तन भएपछि कोदोखेती गर्न छाडिएको बताउनुभयो । ‘पहिले हामीले वर्षायाममा कोदोको रोटी र सानो माछा खुब खाने गर्थ्यौ,’ साहले भन्नुभयो, ‘अचेल मानिसको जीवनशैली परिवर्तन भएसँगै कोदोखेती हराउँदै गएको छ ।’ गरिबले मात्र कोदोको रोटी खान्छ भन्ने मानसिकताले अहिलेको समाज ग्रसित छ । कोदोको परिकार खाने भनेको गरिबीको पहिचान हो भन्ने सोचाइ अहिले पनि समाजमा रहेकाले किसानले कोदोखेती छोडेको साह बताउनुहुन्छ ।

लगानी बढी र उत्पादन कम भएपछि पनि किसानले कोदोखेती छाडेको वरिष्ठ कृषि विकास अधिकृत विनोद साहले बताउनुभयो । बिक्रीमा कमी नआए पनि उत्पादनमा लाग्ने खर्च अन्यबालीभन्दा बढी भएकाले किसानले कोदोखेती छोडेको साहले बताउनुभयो । ‘कोदोमा बढी मात्रामा आइरन पाइन्छ’, साहले भन्नुभयो, ‘यो स्वास्थ्यका लागि बरदान हो ।’ अन्य ठाउँमा ठुल्ठूला व्यक्तिले कोदो अहिले पनि खान्छन् ।

साहले भन्नुभयो, ‘कोदोखेतीका लागि सर्लाहीको कृषि विकास कार्यालयमा कुनै प्रकारको फन्ड छैन । धान, उखु, तरकारी, माछालगायत खेतीमा अहिले बढी ध्यान दिइएको छ ।’ पहाडतिर राज्यले कोदोखेतीमा ध्यान दिए पनि सर्लाहीमा छैन । बजार व्यवस्थापन तथा कोदोखेतीका लागि आधुनिक औजार, तथा सीप प्रदान गर्न सके किसान फेरि यसतर्फ आकर्षित हुन सक्छन् ।

कोदोको परिकार नखाए पनि कोदोबाट बनेको जाँड रक्सी खाने मानिस अहिले प्रशस्त छन् । तराईमा कोदो पाउन छाडेपछि जाँड रक्सी उत्पादन गर्नेले भारतीय बजारबाट किनेर ल्याउने गरेका छन् ।