काभ्रेमा रसायनिकको सट्टा जैविक विषादी प्रयोग दर बढ्यो

This post has already been read 829 times!

बनेपा । काभ्रेका किसान जैविक विषादीतर्फ आकर्षित हँदै गएका छन् । खेतबारीमा रासायनिक विषादी प्रयोग छाड्दै जैविक विषादी प्रयोग गर्ने कृषकको संख्या जिल्लामा बढ्दै गएको छ ।जिल्लामा पहिलोपटक कृषकले निर्माण गरेको जैविक विषादी उत्पादन केन्द्र कुशादेवी गाविसमा स्थापना भएसँगै अहिले जिल्लामा यसको प्रयोगसमेत बढ्दै गएको कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।

बाली संरक्षण निर्देशनालय क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, सयपत्री सामुदायिक आईपीएम स्रोत केन्द्र र कृषि विकास कार्यालय काभे्रको प्राविधि तथा आर्थिक सहयोगमा स्थापना भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सो उत्पादन केन्द्रको निर्माण भएसँगै कृषकहरू जैविक विषादी प्रयोगमा आकर्षित हुँदै गएका जानकारी दिनुभयो ।

जैविक विषादी केन्द्रबाट एनपीभी भाइरस ७५० ईएल उत्पादन भएकामा ६२० ईएल कृषकले प्रयोग गरेका छन् । त्यसैगरी, ट्राइक्रोडर्मा एक हजार ५ सय केजी उत्पादन भएकोमा एक हजार ३७ केजी बिक्री भएको छ भने निमाटोल ७५० लिटर उत्पादन भएकोमा चार सय लिटर बिक्री भएको सयपत्री सामुदायिक स्रोत केन्द्रका प्राविधिक रीतकुमार सापकोटाले जानकारी दिनुभयो । ‘पहिला त कृषक जैविक विषादी प्रयोग गर्नै डराउँथे तर अहिले त रासायनिक विषादीभन्दा जैविक विषादी नै प्रयोग गर्दा उत्पादन बढेकोे बताउँछन्,’ सापकोटाले भन्नुभयो, ‘अहिले त यसको मागसमेत बढेको छ ।’

पाचँ वर्षअगाडि स्थापना भएको जैविक विषादी केन्द्र जिल्लाकै कृषक रासायनिक विषादी प्रयोगलाई विस्थापित गर्ने दरिलो माध्यम बन्दै गएको छ । जैविक विषादी प्रयोगबाट बालीनाली सप्रने, उन्नत उत्पादन हुने र लगानी पनि कम पर्ने कारण यो क्षेत्रका किसान जैविक विषादी प्रयोगमा आकर्षित हँुदै गएका छन् ।

मानवीय जीवनमा रासायनिक विषादीले ठूलो असर गर्ने भएपछि किसान आफैं रासायनिक विषदीलाई हटाउँदै जैविक विषादी प्रयोग गर्न थालेको कृषक बताउँछन् । जैविक विषादी केन्द्रबाट उत्पादित विषादी हजार जनाभन्दा बढी किसान र २० वटा फार्ममा समेत नियमित प्रयोग गरिँदै आएको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।

केन्द्रका अनुसार ट्राइक्रोडर्मा र एन।पी।भी नामक विषादी आठदेखि १० रुपैयाँसम्म पर्ने गरेको छ । रासायनिक मलको भन्दा निकै कम मूल्य रहनु, दीर्घकालीन जीवन बिताउन, जैविक विषादी हालिएका तरकारी तथा बालीको बजारीकरणको समस्या नहुनु र स्वास्थ्यलाई समेत निकै लाभ पुग्ने भएपछि कृषक यस जैविक विषादीप्रति आकर्षित भएका छन् । जैविक विषादीले बिरुवामा लाग्ने किरालाई सहजै मार्ने र बिरुवालाई आवश्यक तत्व प्रदान गर्ने नेमाटोड, ट्राइक्रोडर्मा, एनपिभि र मेटाजियमलगायत विषादी उत्पादन र वितरण गरिने गरेको केन्द्रले जनाएको छ ।

रासायनिक विषादीलाई हटाउने र जैविक विषादी प्रयोगलाई तीव्र रूपमा प्रयोग गर्ने कार्यका लागि प्रचार–प्रसारको निकै समस्या भएको प्राविधिक सापकोटाले बताउनुभयो । स्वस्थ उत्पादन र दीर्घकालीन स्वास्थ्यका लागि प्रयोग गर्नै पर्ने सो विषादी हाल जिल्लाको कुशादेवी, ¥याले विहावर, भूमिडाँडा, नासिकास्थान, कुन्तावबेंसी, भकुण्डे, पाँचखाललगायत दर्जनौं गाविसका किसानले प्रयोग गर्ने गरेका छन् । यो विषादी प्रयोगबाट उत्पादनमा समेत वृद्धि हुँदै गएको किसान बताउँछन् ।

काभ्रेमा विषादी प्रयोग घट्दै

जिल्ला कृषि विकास कार्यालय धुलिखेलका अनुसार काभ्रेमा खपत भएको विषादी काभ्रे मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखालगायत जिल्लामा खपत भएको विषादी समेत गणनाले अनावश्यक हल्ला भएको बताउँदै आएको छ । पहिलेको तुलनामा काभ्रेमा विषादी प्रयोग घटेको छ । जिल्ला कृषि विकास कार्यालयका अधिकृत थर्क जिसी भन्नुहुन्छ, ‘हामीले किसानका खेतबारीमै गएर हेरेका छांै । अहिले पहिलेको तुलनामा ६० प्रतिशत विषादी कम प्रयोग गर्छन् ।’ आईपीएम कक्षा, जनचेतना र विषादी असरबारे किसान आफै सचेत भएका छन् । पछिल्लो समय किसानले विषादीका रूपमा गाईवस्तुको प्रांगारिक र कम्पोस्ट मलको प्रयोग गर्ने गरका छन् । अधिकांश किसान अर्गानिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

जिल्लामा आर्थिक वर्ष ०७०-७१ मा ८७ मेट्रिक टन विषादी खपत भएको थियो भने ०७१-७२ मा घटेर ८६ मेट्रिक टन खपत भएको थियो । आर्थिक वर्ष ०७२-७३ मा ८३ मेट्रिक टन विषादी खपत भएको थियो भने २०७३-७४ मा सो परिमाण घटेर ७३ मेट्रिक टन विषादी खपत भएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका अधिकृत थर्क जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेमा खपत हुने विषादीमध्ये ५० प्रतिशत छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुलीलगायत जिल्लामा निर्यात हुने भएकाले विषादी निर्यातमा काभ्रेमा धेरै रेकर्ड देखिए पनि प्रयोगमा नभएको दाबी गरे । जिल्लामा प्रयोग हुने विषादीमध्ये १ प्रतिशत अर्गानिक, २ प्रतिशत झारनाशक, ७१ प्रतिशत ढुसीनाशक,२४ प्रतिशत कीटनाशक र २ प्रतिशत अन्य विषादी प्रयोग हुने गरेको जिल्ला कृषि विकास कार्यालय काभ्रेको तथ्यांकमा छ ।