दुग्ध विकास संस्थान (डीडीसी) डुवाउन माफियाको चलखेल

यो समाचार 442 पटक पढिएको

‘निकट समयमै दूधको मूल्य समायोजन हुन्छ’ : सरकार

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति वानियाले दुग्ध विकास संस्थानलाई डुवाउन ट्रेड युनियनदेखि सरकारी निकाय नै लागि परेको आरोप लगाएका छन् । आम उपभोक्ता, किसानका साथै राष्ट्रिय अर्थतन्त्रमासमेत महत्वपूर्ण योगदान पुरयाउँदै आएको संस्थानलाई समाप्त पार्न केही नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्र, संस्थानका टे«ड युनियन र माफियाहरु लागिपरेको उपभोक्तावादी बानियाँको दाबी छ ।

दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन, मूल्य तथा गुणस्तर नियन्त्रणका साथै प्रविधि विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको संस्थानलाई निजीकरण नभइ सरकारी स्वामित्वमै थप विस्तार गर्दै लैजानुपर्ने उनको सुझाव थियो । संस्थानको अस्तित्व समाप्त पार्ने रणनीतिका साथ पटक पटक निजीकरणको प्रयास हुँदै आएको उनले बताए ।

दुग्ध विकास संस्थान(डिडिसी)को ४९ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बानियाँले यस्तो जानकारी दिएका हुन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडिया र केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले विगत तीन वर्षदेखि दूधको मूल्य नबढेको तर उत्पादन लागत भने बढ्दै गएकोले डेरी उद्यमी दुग्ध उत्पादक किसान समस्यामा रहेको बताएका थिए । साथै डेरी एसोसिएसनका अध्यक्ष केडियाले दुग्ध विकास संस्थान निजी डेरी उद्योगको अविभावकरुपमा मान्दै निजी क्षेत्रले पनि सहकार्य गर्दै आएको बताएका छन् ।

संस्थानको कुनै पनि निर्णयले निजी क्षेत्र पनि प्रभावित हुने भएकोले सावधानी अपनाउनुपर्ने बताए । नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले संस्थान जस्तै निजी क्षेत्रले पनि आफ्नो दायित्व निर्वाह गर्दै आएको बताए । भूकम्प र नाकाबन्दीको चुनौती बाबजुद पनि निजी डेरीले एक दिन पनि दुग्ध संकलन र आपूर्ति वन्द नगरी उपभोक्तालाई सेवा प्रदान गरेको उनको भनाइ थियो ।

सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी भइरहेको जानकारी दिएको छ । विगत तीन वर्षदेखि दूधको मूल्य बढ्न नसकेको भन्दै दुग्ध उत्पादक किसान तथा डेरी व्यवसायीले दबाब दिँदै आएकोमा सरकारले दूधको मूल्य समायोजनको तयारी गरेको हो । दुग्ध विकास संस्थान(डिडिसी)को ४९ औ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जिसीले विगत तीनवर्षयता अधिकांस वस्तुको मूल्यबृद्धि भएपनि दूधको मूल्य एउटै रहेको भन्दै मूल्य समायोजनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

राष्टिय दुग्ध विकास वोर्डको अध्ययन प्रतिवेदनका आधारमा मूल्य समायोजन गरिने उनले बताए । तर मूल्य समायोजन राजनीतिक विषय भएकोले मन्त्रीको आगमनपछिमात्रै यस विषयमा निर्णय हुनसक्ने उनको भनाइ थियो । संस्थानलाई उत्पादनको विविधिकरण र बजारीकरणमा जोड दिन निर्देशन दिँदै उनले उत्पादन विस्तारका लागि लगानीको समस्या नहुने बताए । लगानीका लागि करिब ६ करोड रुपैयाँसम्म अर्थ मन्त्रालयले सहुलियत व्याजदरमा उपलव्ध गराउने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

दुग्ध विकास संस्थानका महाप्रवन्ध गंगा तिमल्सिनाले संस्थानले हाल ४४ जिल्लाका ग्रामीण क्षेत्रमा दैनिक १ करोडभन्दा बढी रकम प्रवाह गर्दै आएको जानकारी दिए । संस्थानमार्फत दूग्ध संकलन, ढुवानी तथा बिक्री वितरण कार्यमा करिव १५ हजार व्यक्ति अप्रत्यक्षरुपमा र एक हजार एक सय कर्मचारीले प्रत्यक्षरुपमा रोजगारी पाउँदै आएको बताए । उनले आयात प्रतिस्थापनका लागि विराटनगरस्थित पाउडर प्लान्टको हालको उत्पादन दैनिक ३० हजार लिटरबाट क्षेमता दोव्वर बनाइ दैनिक ६५ हजार लिटर दुधबाट नयाँ उत्पादनसमेत गर्ने योजना रहेको बताए ।

उक्त प्लान्टको क्षमता विस्तारको ८० प्रतिशत काम पूरा भइसकेको पनि उनले बताए । त्यस्तै ललितपुरको खुमलटार र प्रदेश न.४ को पोखरामा दुग्ध पदार्थ उत्पादन केन्द्रहरुको स्थापना र आयोजनाहरुको प्रसोधन क्षमता बृद्धि री दुग्ध संकलन तथा बिक्री विस्तार गरिने पनि उनले जानकारी दिए । विगत केही वर्षदेखि नाफामा गएकोमा पछिल्लो समय भने नाफामा उच्च गिरावट आएको छ । सस्थानले आर्थिक वर्ष २०७१-०७२ र २०७२-०७३ मा उच्च अर्थात १३ करोड मूनाफा गरेको थियो तर पछिल्लो आर्थिक वर्षको ८ महिनाको मूनाफा भने जम्मा ६४ लाख रुपैयाँमात्रै रहेको छ । पशु पंक्षी विकास मन्त्रालयका अनुसार हाल नेपालमा गाइ र गोरु गरी कुल ७२ लाखको हाराहारीमा रहेको भएपनि व्यवस्थापनको अभावमा दुधको अभाव हुने गरेको छ ।