पहाडमा हराउँदै, सहरमा मौलाउँदै मकैं संस्कृति !

यो समाचार 549 पटक पढिएको

१२ महिना पाइने पोलेको मकै नुन खुर्सानीमा चोपेर खानुको मज्जा नै वेग्लै

एक समय यस्तो थियो, पहाडी र हिमाली भेगका सर्वसाधारण खाना होस् वा खाजाको रुपमा मकैं नै उपभोग गर्थे । त्यति सारो चामलको उत्पादन नहुँदा स्थानीय स्तरमा अत्याधिक परिमाणमा उत्पादन हुने मकै नै प्रमुख खाद्यान्नको रुपमा पहाडी भेगका बासिन्दाको मुख्य स्रोत बनेको थियो । चामल भनेपछि कि त पहुँचवाला कि त राम्रै आम्दानी हुनेले चाड बाडमा उपभोग गर्न सक्षम थिए । तर पछिल्लो समयमा यो परिवेश बिलकुलै फेरिएको छ । सडकको पहुँच, क्रय शक्ति र जिवनस्तर बृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोतमा मकैको साटो चामल प्राथमिकतामा पर्न थालेको छ ।

पोषण र खाद्य सुुरक्षाको दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै अब गाई भैसी, खसीबोका र कुखुरालाई खुवाउने खाद्यान्नको रुपमा प्रयोग गर्न थालेका छन् । उता सहरीयाबासीको खाद्यान्नको मुख्य स्रोत चामलको उपभोग दर अहिले विस्तारै घट्दै गएको छ ।

 

हिमाली र पहाडी भेगका बासिन्दाले मकैं खाने संस्कृतिलाई विस्तारै छाड्दै गएको अवस्थामा सहरियाबासीले भने मकैं खाने संस्कृतिलाई पछ्याउदै लगेका छन् । यसकै प्रतिफल हो, सहरमा अहिले सर्वसाधारणको भान्छा कोठादेखि ठुल ठुला होटेलमा मकैंको स्वादिस्ट परिकार पाक्न थालेको छ । सहरमा मकैं खाने संस्कृति निक्कै बढेको छ । त्यो पनि सबैभन्दा बढी दिउँसो र बेलुकाको समयमा चोक चोक, गल्ली गल्ली र रमनीय पार्कहरुमा पोलेर मकै खाने संस्कृति मौलाउँदै गएको हो । पार्कहरुमा त् युवा युवतीको जोडीले अंगालो मारेर पोलेको मकै खाँदै मिठासपूर्ण वात् मार्दै गरेको दृश्य सहरिया क्षेत्रमा सामान्य भइसकेको छ ।

अहिले सहरी क्षेत्रमा मकैको अचार, उसिनेर, पिठोको रोटीको रुपमा, ढिडोको रुपमा, सुपको रुपमा, भुटेर र पपकर्नको रुपमा मकैंको उपभोग संस्कृति बढ्दै गएको छ । यस वाहेक पशुपन्छीलाई दानाको रुपमा पनि मकैंको उपभोग हुन्छ । यसमध्ये सहरी क्षेत्रमा अत्याधिक रुचाइएको पोलेर मकै खाने संस्कृति फैलिदो छ ।

बिज्ञहरुका अनुसार सहरी क्षेत्रमा पोलेर मकै खाने संस्कृति भित्रिएको समय धेरै भएको छैन् । पछिल्लो करिब २० बर्ष यतादेखि पोलेको मकैं खाने संस्कृति सहरी क्षेत्रमा देख्न थालिएको छ । यो संस्कृतिलार्ई मुर्त रुप दिन बर्षे मकै वालीभन्दा १२ महिना उत्पादन हुने मकैको जातको अहम भूमिका छ ।

‘न १२ महिना फल्ने मकैको जात विकास हुन्थ्यो, न सहरी क्षेत्रमा पोलेर मकैं खाने संस्कृति भित्रिन्थ्यो,’ चितवनको रामपुरस्थित राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमका वरिष्ठ मकै बैज्ञानिक डा.केशवबाबु कोइराला भन्नुहुन्छ,‘दिनहुँ रुपमा चामलकै परिकार खाएर दिक्क मानेका सहरियाबासी जिव्रोको स्वाद फेर्न पछिल्लो समयमा मकैको परिकार खान पल्के । त्यसमध्ये सबैभन्दा बढी रुचाइएको पोलेको मकैं हो ।’ नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गत राष्ट्रिय मकैवाली कार्यक्रम हो । सहरीबासीको जिव्रोको स्वाद फेर्न बर्षे मकैंवालीको योगदान कमै छ । अहिले सहरका चोक चोकमा १२ महिना तातात्तै पोलेको मकैं नुन खुर्सानीको अचारमा चोपेर खान पाइन्छ । कुनै ठाउँमा २० रुपैयाँ, अनि कुनै ठाँउमा २५ रुपैयाँमा सजिलै पोलेको मकै सडक किनार र ठेलाबाट किनेर खान पाइन्छ ।

यसरी १२ महिना फल्ने मकैंको बीउका कारण गरिबीको रेखामुनि रहेका ठूलो संख्यामा सर्वसाधारण रोजगारसमेत पाएका छन् । यसरी पोलेर मकैं बेच्नेहरुले दैनिक रुपमा ठाउँअनुसार एक हजारदेखि अढाई हजार रुपैयाँसम्म आम्दानी गर्दैआएका छन् । कोटेश्वरमा ठेलामा हरियो मकैं पोलेर बिक्री गर्दैआउनु भएकी गुल्मीका सुनिता घलेकाअनुसार भिडभाडका अनुसार उहाँ दैनिक रुपमा २५ रुपैयाँका दरले दुई हजार रुपैयाँ बराबरको मकैं पोलेर बिक्री गर्दैआउनु भएको छ ।

यसरी महिनामा घलेले ६० हजार रुपैयाँबराबरको पोलेको मकैंको कारोबार गर्नुहुन्छ । घलले प्रति गोटा हरियो मकैंको घोघा सातदेखि १० रुपैयाँमा किसानबाट खरिद गर्नुहुन्छ । घलेले सबै खर्च कटाएर मासिक रुपमा ५५ हजारसम्म खुद नाफा गर्दैआउनु भएको छ । ‘पोलेको मकैं बेचेर नै घर व्यवहार चलाएकी छु,’ घलेले भन्नुभयो,‘गर्न खोज्नेलाई स्वदेशमै प्रसस्त परिमाणमा रोजगारको व्यवस्था छ । मासिक ५०—६० हजार कमाउनलाई अरुको देशमा गएर ज्यान गुमाउनुभन्दा स्वदेशमै त्यो भन्दा बढी आम्दानी गर्न सकिन्छ ।’ अहिले सहरमा पोलेर मकैं खाने संस्कृति बढ्दै गएपनि दैनिक रुपमा कति मूल्यबराबरको कति परिमाणमा बिक्री हुन्छ भन्ने यर्थाथ आँकडा भने कतै उपलब्ध छैंन् ।

बैज्ञानिक कोइरालाकाअनुसार आजभोली मंसिर १५ देखि पुससम्म मात्रै नगदे वालीको रुपमा परिचित मकैंको उत्पादन हुँदैन । बाँकी सबै महिनामा मकैंको खेती हुन्छ । अहिले पहाडी र र उच्च पहाडी क्षेत्रमा एक पटक र तराई, भित्री मधेश, फाँट, टार र बेसीमा १२ महिना मकैंको खेती हुन थालेको छ ।

‘पहिले फागुनदेखि असारसम्म मात्रै बर्षे वालीको रुपमा मकैं फलाइन्थ्यो, हिजोआज खास गरी तराईसहित भित्री मधेश, फाँट, टार र बेसीमा १२ महिना मकैंको बोट लहलहाउन थालेको छ,’ बैज्ञानिक कोइरालाले भन्नुभयो । बिज्ञकाअनुसार १० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको भुगोल मिलेको जुनसुकै स्थानमा उन्नतसहित स्थानीय जातका मकैं फलाउन सकिन्छ । अहिले त् स्थानीय जातबाट पनि हिउँदमा दुई पटकसम्म उत्पादन लिन सकिन्छ ।

राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमका अनुसार अहिले चितवन, नवलपरासी, बारा, पर्सा, धनुषा, उदयपुर, डोटी, डडेलधुरालगायतको स्थानमा १२ महिना मकैं उत्पादन गरिन्छ । घोघा लागेको हरियो मकैंलाई पोलेर बिक्री गर्दा बजार पनि प्रसस्त पाइने र आम्दानी पनि उच्च हुने हुँदा किसानहरु पनि उत्पादन गर्न निक्कै हौसिएका छन् । खाद्यान्नको रुपमा यही मकै सुकाएर प्रति किलो २२ देखि २५ रुपैयाँमा बिक्री हुन्छ ।

बिज्ञहरुका अनुसार जस्तोसुकै जातको मकै पोलेर खान सकिन्न् । पहेलो रंगको मात्रै पोलेर खाने चलन छ । अहिले अरुण दुई, रामपुर कम्पोजिट, पोषिलो मकै एक, रामपुर हाइब्रीड दुई, रामपुर हाईब्रीड चार, रामपुर हाईब्रीड ६, खुमल हाईब्रीड दुईजातका मकैको बीउ प्रयोग गरी उत्पादन गरिएका हरियो मकैं पोलेर खाइन्छ । नार्कले हालसम्म २७ वटा मकैंको जात विकास गरेर सिफारिश गरिसकेको छ ।

नेपालमा हाल आठ लाख हेक्टरमा मकैंको खेती हुन्छ । पछिल्लो आर्थिक बर्ष २०७२।७३ मा आठ लाख ९१ हजार पाँच सय ८३ हेक्टरबाट २२ लाख ३१ हजार पाँच सय १७ मेट्रिक टन मकै उत्पादन भएको थियो । नेपालमा उत्पादन हुने मकैंको परिमाणले नधान्दा भारतलगायत तेश्रो मुलुकबाट बर्षेनी आठ अर्बभन्दा बढी मूल्यको मकै आयात हुने अवस्थामा चुलिंदै गएको छ । पशुपन्छीलाई खुवाउन प्रयोग हुने प्यालेट दाना उद्योगलाई दैनिक एक हजार चार सय मेट्रिक टन मकै आवश्यक पर्छ । दाना तयार पार्न ७० प्रतिशत मकैं नै आवश्यक पर्छ ।