कृषि पेसामा आकर्षित हुँदै कुमाल जाति

यो समाचार 236 पटक पढिएको

पाल्पा, ३ माघ । ‘ताजाताजा बेच्या छ, खाइया छ, काउली भेन्टा गोलभँडा लाइया छ, चिन्ता छैन केही, मलाई सिङ्गापुर नी यही, वेलजियम नी यही, मलाई क्यानडा नी यही । श्रमका लागि विदेश जाने युवालाई स्वदेश मै कृषिमा केही गर्न सकिन्छ भन्ने सन्देशसहित लोक गायक पशुपति शर्माले गाउनुभएको माथि उल्लेखित गीतले भने जस्तै काउलीखेती गर्न सुरु गरेपछि केही चिन्ता छैन तानसेन नगरपालिका पक्लुवा–१४ का भीमबहादुर कुमाललाई ।

Vegetable

पाँच वर्ष साउदीमा काम गर्दा महिनाको बल्लतल्ल रु २० हजार कमाउने कुमालले भन्नुभयो, “मैले साउदीमा मात्र पाँच वर्ष काम गरेँ, अन्य देशमा पनि श्रमका लागि गएँ, तर अहिले आफ्नै देशमा काउली र बन्दागोभीखेती गरेर एक मौसममा करिब रु दुई लाखको आम्दानी गर्छु ।” अहिले करिब छ रोपनी जग्गामा काउली मात्रै लगाएका कुमालले थप्नुभयो, “लाखाँै ऋण गरेर विदेश गयो कमायो, कमायो त्यही ऋण तिर्दा ठिकै हुन्छ, तर आफ्नै देशमा, आफ्नै परिवारसँग आफ्नै खेतबारीमा काउलीबन्दा लगाउएपछि किन विदेश जानुप¥यो ।” साठी घरधुरी कुमाल जातिको बसोबास रहेकोे तानसेन नगरपालिका वडा नं १४ पक्लुवामा लुमन्ती आवासका लागि सहयोग समूहले आवासका साथसाथै तरकारी खेतीका लागि निःशुल्क कृषि तालिम तथा बीउबिजन, कृषिसम्बन्धी अन्य सामग्री वितरण, शौचालय निर्माण र सुधारिएको चुल्हो बनाई दिन सुरु गरेपछि अहिले त्यस ठाउँका कुमाल जातिले कृषिलाई आम्दानीको स्रोत बनाएका छन् ।

 

 

तत्कालका लागि करिब १५ रोपनी जग्गालाई लक्ष्य बनाएर लुमन्तीले काउली, खुर्सानी, टमाटर र अन्य बेमौसमी तरकारीसम्बन्धी बीउबिजन वितरण गरेको थियो । लुमन्तीले ल्याएको आवास र कृषिसम्बन्धी कार्यक्रमबाट कुमाल जाति कृषिमा मात्र आकर्षित छैनन्, दैनिक ज्याला मजदुरी गर्ने उनीहरूको आर्थिक स्थितिमा समेत सुधार आएको छ । “पहिले काम नपाएर दिनभरी खाली बस्नु पथ्र्याे, साँझबिहानको खाना र परिवार पाल्न पनि नसकिने स्थितिमा पुगेको थिएँ म, लुमन्तिले घर बनाउन व्याजमा ऋण उपलब्ध गराएपछि भने खाली बस्नुपरेको छैन, पैसा पनि कमाएको छु ” घर बनाउने काम गर्ने पाल्पा भुवनपोखरीका अमर कुमालले आफ्नो खुसी यसरी व्यक्त गर्नुभयो । दुई रोपनी जग्गामा काउली, बन्दा, टमाटर र खुर्सानी लगाउनुभएकी पक्लुवाकै विष्णुमायाँ कुमालले तरकारी बेचेरै पाँचजना छोरीछोरीलाई पढाउनुका साथै आफूहरू बुढाबुढीसहित सात जनाको परिवारलाई राम्रोसँग खान, लाउन पुगेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “लुमन्ती भन्ने संस्थाले हामी जस्ता आयस्रोत नभएका गरिबलाई सिँत्तैमा कृषिका बारेमा तालिम र निःशुल्क बीउको व्यवस्था गरेर गुण लाएको छ लुमन्तीलाई धन्यवाद छ, यसरी नै देशका सबै जिल्लामा कृषिसम्बन्धी तालिम र बीउ वितरण गर्नुपर्छ ।” लुमन्ती, सन् १९९४ मा स्थापना भएको एक गैर नाफामूलक गैरसरकारी संस्था हो । आवासको अवस्थामा सुधार गरी नेपालको गरिबी न्यूनीकरण गर्नु नै यसको मूल उद्देश्य रहेको छ । स्थापना कालदेखि नै ‘लुमन्ती’ले नेपालका अव्यवस्थित बस्ती, पिछडिएका समुदाय तथा सहरमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिरहेको छ । लुमन्ती पाल्पा तानसेनका संयोजक शङ्कर भण्डारीले लुमन्ती तानसेनले विगत एक वर्षदेखि न्यून आय भएका जनतालाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको र विपन्न तथा पिछडिएको परिवारको क्षमता विकास, नेतृत्व विकास र आयआर्जनका कार्यक्रममा सहभागी गराएको जानकारी दिनुभयो । उहाँका अनुसार तानसेन नगरपालिका भित्रका न्यून आय भएका १०० घरपरिवारलाई सहयोग गरिएको छ ।

 

लुमन्ती, तानसेन नगरपालिका र लक्ष्मी बैंकको सहकार्यमा क्षमता तथा नेतृत्व विकास र आयआर्जनका कार्यक्रमकका साथसाथै आवासका लागि सात वर्षे योजनामा आठ प्रतिशत व्याजमा ऋणको व्यवस्था पनि गरेको छ । लुमन्तीकी कार्यक्रम व्यवस्थापक समा बज्रले विगत लामो समयदेखि गरिबको आर्थिक तथा भौतिकस्थिति सुधारका लागि लक्षित गरिब समुदायमा आवास कार्यक्रमलगायत कृषि, खानेपानी, सरसफाइ तथा स्वास्थ्य, शिक्षा, एवम् विपत् व्यवस्थापनका क्षेत्रमा लुमन्तीले काम गर्दै आएको जानकारी दिनुभयो । लुमन्तीले सञ्चालन गरिरहेको आवास कार्यक्रमबाट अहिले पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, तानसेन नगरपालिका, कोहलपुर, विराटनगरलगायतका क्षेत्रमा दसौँ हजार परिवार लाभान्वित भएको उहाँले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :