हरियो डाँडामाथि हलो जोत्ने साथी, हो हो माले हो हो…..!

यो समाचार 373 पटक पढिएको

आज राष्ट्रिय धान दिवस, धानको टुसा, हिलो र रोपाहारको ग्ल्यामर

हरियो डाँडामाथि हलो जोत्ने साथी

हो हो माले हो हो, हो हो तारे हो हो
ह ह ह ह ह ह हो ……

चाम्रो माटो माथि बाल्दै मनको बाती
डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई
हो हो झुले हो हो हो हो लुरे हो हो ।

जनकवि केशरी धर्मराज थापाको यो सदाबहार गीत असारमा मात्र होइन, अन्य महिनामा पनि उत्तिकै सुनिने गरिन्छ । धर्मराज थापाको यो गीत मात्रै होइन, हाम्रा गाउँबेसी र तराईका फाँटहरुमा पनि असारमा आफ्नै परम्परा र संस्कृति झल्काउने खालका असारे गीत प्रचलनमा रहेका छन् । असारे रोपाँईको समयमा यो गीतको आफ्नै महत्व छ । रोपाँईको रमझम राजधानीदेखि ग्रामिण परिवेशसम्म त्यतिकै झल्किन्छ ।

अन्य बर्षजस्तो यो बर्ष भने रोपाँई केही खल्लो देखिएको छ । बुधबार सम्पन्न स्थानीय तहको निर्बाचनका कारण सर्वसाधारण र राज्यसमेत निर्बाचनमै होमिएका कारण रोपाँई खल्लो देखिएको हो । जे भएपनि किसानहरुको राष्ट्रिय पर्व असार १५ राष्ट्रिय रुपमा भव्यतामा मनाउनै पर्ने हाम्रो चलन छ । दहि च्युरा खाएर हिलाम्मे खेतमा हिलो छ्यापेर मनाइने यो पर्वको मौलिकतालाई नकार्न सकिंदैंन् । असार १५ को अवसरमा धानसम्बन्धी केही विशेष जानकारीसहित फोटो फिचर हेर्नुहोस् ।

देशभर नौं प्रतिशत धान रोपाई

यो बर्ष असारमा नौं प्रतिशतको हाराहारीमा मात्रै धानको रोपाई सम्पन्न भएको छ । असार १३ गतेसम्ममा यो आँकडामा रोपाई सम्पन्न भएको हो । अघिल्लो आर्थिक बर्षको तुलनामा साढे नौं प्रतिशत कम परिमाणमा धानको रोपाई सम्पन्न भएको हो ।

कृषि विकास मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाकाअनुसार असार १४ गते सम्पन्न भएको प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचनका कारण रोपाईमा प्रभाव परेको छ ।

गत् आर्थिक बर्षको असार १३ गतेसम्ममा देशभर १८.४१ प्रतिशतको हाराहारीमा रोपाई सम्पन्न भएको थियो । यही अवधीमा अहिले ८.९९ प्रतिशतको हाराहारीमा मात्रै रोपाई सकिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म सबैभन्दा कम तराईमा र सबैभन्दा बढी उच्च पहाडी क्षेत्रमा रोपाई भएको छ ।

तराईको धानको क्षेत्रफल १० लाख ७२ हजार सात सय ५६ हेक्टरमध्ये ४.५७ प्रतिशतका दरले ४८ हजार नौं सय ७९ हेक्टरमा रोपाई गरिएको छ । असार १३ गतेसम्ममा उच्च पहाडी क्ष्ोत्रको धानको क्षेत्रफल ६३ हजार ६ सय ५१ हेक्टरमध्ये २१.१६ प्रतिशतका दरले १३ हजार चार सय ६५ हेक्टरमा धानको रोपाई भएको छ । त्यस्तै मध्य पहाडी क्षेत्रको धानको क्षेत्रफल चार लाख १६ हजार ६१ हेक्टरमध्ये १८.५४ प्रतिशतको दरले ७७ हजार एक २० हेक्टरमा रोपाई भएको छ ।

अघिल्लो बर्ष यही अबधीमा तराईमा १४.०३, मध्य पहाडी क्षेत्रमा २८.३२ र उच्च पहाडी क्षेत्रमा २७.५७ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको थियो । नेपालमा धानको खेती हुने कूल क्षेत्रफल १५ लाख ५२ हजार चार सय ६९ हेक्टर छ ।

आगामी बर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्ष २०७३।७४ मा भने हालसम्मका सबै भन्दा बढी करिब एक खर्ब २५ करोड मूल्यबराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयले चालु आर्थिक बर्षलाई गणना गर्दै आगामी तीन बर्षमा मुलुकलाई धानमा आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखि योजना कार्यान्वयनमा ल्याएको छ । यसका लागि सरकारले चालु आर्थिक बर्षमा तीन हजार मेट्रिक टन उन्नत जातका धानको बीउ अनुदानमा बितरण गरेको छ ।

धानमा यसरी मुलुकलाई आत्मनिर्भर बनाइने
धानमा नेपाललाई आत्मनिर्भर बनाउन गत् आर्थिक बर्ष २०७१।७२ देखि २० जिल्लामा मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै गत् आर्थिक बर्ष २०७२।७३ देखि तराईका १५ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यो कार्यक्रमलाई अहिले ३५ जिल्लामा बिस्तार गरिएको छ । आगामी आर्थिक बर्ष २०७४।७५ देखि यो कार्यक्रमलाई स्थानीय तहलाई जिम्मा लगाइएको छ ।

धानमा आत्मनिर्भर हुनलाई चालु आर्थिक बर्ष २०७३।७४ देखि नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालनमा ल्याइएको छ । यो परियोजनाअन्तर्गत २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानवालीलाई समावेश गरिएको छ । यो कार्यक्रमअन्तर्गत झापा जिल्लामा धानको सुपर जोन स्थापना गरिएको छ ।

यस्तै कञ्चनपुर, कपिलवस्तु, प्युठान, बर्दिया र सर्लाहीलाई धानको जोन क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइएको छ । यस्तै २४ जिल्लामा धानको ब्लक पनि घोषणा गरिएको छ । आगामी आर्थिक बर्ष २०७४।७५ देखि कार्यान्वयनमा ल्याउने भनेर सिराहा जिल्लालाई पनि जोन अन्तर्गत समावेश गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । एक हजार हेक्टरलाई सुपरजोन, पाँच सय हेक्टरको क्षेत्रफललाई जोन र एक सय हेक्टरको क्षेत्रफललाई ब्लकअन्तर्गत राखिएको छ ।

हालको प्रति हेक्टर धानको उत्पादकत्व ३.१५ मेट्रिक टन प्रति हेक्टरलाई बृद्धि गरी ४.५ मेट्रिक टनमा पु¥याएर आत्मनिर्भर हुने सरकारको लक्ष्य छ । आत्मनिर्भरकै लागि सरकारले चैते धानलाई प्रवद्र्धन गर्न करिब ५० जिल्लामा चैते धानको क्षेत्रफल विस्तार गरेको छ । अहिले एक लाख १८ हजार हेक्टरबाट विस्तार गरी तीन लाख हेक्टरमा पु¥याउने लक्ष्य पनि मन्त्रालयले अघि सारेको छ ।

६३ प्रकारका धानको बीउ
नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले बिकास गरी सूचीकृत गरिएका ६३ प्रकारका जातको धानको उत्पादन नेपालमा भइरहेका छन् । नेपालमा चैते धान, बर्षे धान, भदैया धान, घैया धान र हिउँदे धान(बोरो धान) लाई बीउको रुपमा प्रयोग हुँदै आएको छ । उहाँकाअनुसार नार्कले पछिल्लो समयमा लामो समयसम्म पानी नपरी खडेरी लागेको समयमा प्रयोग गर्न मिल्ने सुख्खा धान र धेरै दिनसम्म पानीको कारण डुवानमा पर्ने खेतीमा पनि डुवान सहन सक्ने खालको बीउ पनि नार्कले बिकास गरिसकेको छ ।

सबैभन्दा बढी तराईमा क्षेत्रफल
नेपालको कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानको खेती हुन्छ । यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४.१ प्रतिशत हेक्टरमा धानको खेती हुन्छ । यस वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २८.९ प्रतिशतमा सीमित रहने उल्लेख छ । अघिल्लो आर्थिक वर्ष जीडीपीमा कृषिको योगदान ३१ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ ।

आयात पनि त्यतिकै
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७३।७४ को १० महिनामा २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बरारबको धान भारत, इटली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट तीन लाख ५९ हजार नौं सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७२।७३ मा भने २२ अर्ब ८० करोड ३० लाख ६५ हजार मूल्य बराबरको पाँच लाख ३९ हजार ६ सय मेट्रिक टन चामल आयात भएको थियो ।

धानको विश्व परिवेश
अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था(इरी) का नेपाल प्रमुख डा. भव त्रिपाठीका अनुसार एक सय १४ मुलुकमा धानको खेती हुन्छ । विश्वभर ३.५ अर्ब सर्वसाधारणको प्रमुख खाद्यान्न नै चामल रहेको उहाँले जानकारी दिनुभयो । विश्वभर १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौं लाख मेट्रिक टन धान उत्पादन हुन्छ । यसमध्ये ९० प्रतिशत उत्पादन र उपभोग एशियामै हुन्छ ।

विश्वका मुलुकहरुमध्ये धान उत्पादन गर्ने अग्रणी मुलुकहरुमा चीन पहिलो स्थानमा आउँछ । त्यसपछि क्रमशः भारत, इण्डोनेशिया, वंगलादेश, भियतनाम, थाईल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापानमा धानको उत्पादन हुन्छ । एशियामै सबैभन्दा कम धानको उत्पादन नेपालमा हुँदै आएको छ ।