तोडियो संक्रान्तिमा चरा मार्ने चलन

This post has already been read 297 times!

  • सुरजकुमार भुजेल

मकवानपुर, हरेक वर्षको माघे संक्रान्तिका बेला पालुङ क्षेत्रमा धेरै चराहरुको काल आउँथ्यो । त्यही माथि पनि चराहरु सजिलैसंग मर्न पाउँदैनथे । ‘परम्परा’ को नाउँमा चराहरुलाई लखेटीलखेटी थकाएर मारिन्थ्यो । यही परम्पराबाट अहिले पनि गाउँघरमा ‘भ्याकुर खेदाइ’ शब्दावली प्रचलनमा छ । तर यसपाली पालुङ क्षेत्रमा ‘भ्याकुर खेदाइ’ भएन । माघे संक्रान्ति आयो–गयो, चराहरु मरेनन् ।Bird

सामुदायिक भए पछि अहिले दामन पालुङका बनहरु हराभरा छन् । बनमा चराचुरुङ्गीहरु पनि बढेका छन् । समुदायमा आएको जागरणका कारण तिनीहरु गुलेलीको निशानाबाट जोगिएका छन् । ‘अरु बेला त मार्ने (चरा) प्रचलन हटेकै छ, माघे संक्रान्तिमा पनि हट्यो, राम्रै भयो’ ऋषेश्वर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष राजेश केसी भन्छन् ।

 

माघे संक्रान्ति भन्ने वित्तिकै नेपालीहरु ‘पुसको पाक्य, माघको खाक्य’ भन्ने उखान सम्झन्छन् । संक्रान्तिको दिन खाने तिलको लड्डु, चाकु, तरुल अघिल्लो दिनमै तयार पार्ने प्रचलन छ । पहिले पहिले मानिसहरु तरुल खोज्न जंगल जाने गर्दथे र चरा पनि मार्थे । परम्पराकै रुपमा विकसित भएकाले बालबालिकादेखि पाकाहरुसम्म चरा लखेट्न कस्सिन्थे । गाउँभरिका मानिसहरु मिल्थे, जंगलबाट खेदेर बेंसीसम्म ल्याउँथे अनि आत्तिएर बेहाश जस्तै भएका चराहरुलाई कसैले त्यत्तिकै समात्थे, कसैले लाठालौराले हिर्काउँथे । शिखरकोटका दुर्गाबहादुर छुमी सम्झन्छन्–त्यसरी लखेटिनेमा खास गरी भ्याकुर प्रजातिका चरा हुन्थे, धेरै त संग्रेला लखेटिन्थ्यो । चरा मारेर चाड मनाउने चलन भएकोले गाउँघरमा अहिले पनि माघेसंक्रान्तिमा खाइने मासुलाई ‘शिकार’ भन्ने चलन छ ।

 

पालुङ क्षेत्रको जंगलमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पनि पाइन्छ । त्यसो त यस क्षेत्रमा के कति प्रकारका चराहरु पाइन्छन् भन्ने विषयमा अध्ययन हुन बाँकी नै छ । सोल्ु सामुदायिक वनका अध्यक्ष सिताराम कार्की जे भएका चराहरु केही वर्ष यता आएर मानिसको निशानाबाट जोगिएको बताउँछन् । उनको अनुभव छ–पहिले पहिले चिया पसलमा पनि गुलेली बेच्न राखेको देखिन्थ्यो, अहिले बजारमै पाउन मुश्किल छ ।

Comments are closed.