भोको पेट भर्ने किसानको सम्मान गरौं : पूर्वमन्त्री

यो समाचार 139 पटक पढिएको

काठमाडौं । पूर्वमन्त्री गणेश शाहले धान दिवस नै किसान दिवस भएकोले किसानलाई सम्मान गर्ने परम्पराको विकास हुनुपर्ने बताएका छन् । किसान सबैका अन्नदाता भन्दै खाना खानुअघि सबैमा किसानलाई सम्झिने संस्कार आवश्यक रहेको उनले बताए ।

साथै खाना फाल्ने प्रबृत्तिले किसानको मिहनेत र परिश्रमको अपमान हुने र खाद्य संकटसमेत बढाउने भएकोले यस्तो प्रबृत्तिलाई निरुत्साहित गरिनुपर्नेमा पनि उनले जोड दिए । हुने खाने शहरवासीहरुले खाना खेर फाल्ने र विपन्नहरु भोकभोकै वस्नुपर्ने अवस्था रहेको छ । कृषि विभागका पूर्व महानिर्देशक भैरवराज कैनीले खेतीयोग्य जमिन अन्य प्रयोजनमा प्रयोग हुने क्रम बढदैं गएकोले उत्पादन बढ्न नसकेको भन्दै उत्पादन बढाउन युवाहरु कृषि क्षेत्रमा आउनुपर्ने बताए । जमिनविनाको कृषि प्रविधिको विकल्प नरहेको भन्दै उनले खेतीयोग्य जमिनको संरक्षणमासमेत जोड दिए ।

विगतमा खाद्यन्न निर्यात गर्ने नेपाल अहिले आयात गर्नुपर्ने अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे । पूर्व महानिर्देशक कैनीले भने– विगतमा नेपालबाट अन्य मुलुकमा धान चामल निर्यात गरिन्थ्यो, तत्कालिन सरकारले धान चामल निर्यात कम्पनी नै स्थापना गरेको थियो तर अहिले आफै धान चामल आयात गर्नुपर्ने अवस्थामा पुगेको छ ।

कृषियोग्य जमिन घट्दो क्रममा रहे पनि भएकै जमिनमा प्रविधिको प्रयोग गरी उत्पादकत्व बढाउन सकिने अवस्था भएपनि उत्पादकत्व बढ्न नसकेको उनले बताए । उनले भने–नेपालमा उत्पादकत्व बढ्नै सकेको छैन । अहिले पनि विगत २० वर्षअघिकै अवस्थाको उत्पादकत्व रहेको छ । सो अवसरमा वेष्ट पानीका प्रमुख प्राविधिक अफिसर गोकुल दंगालले वर्षाको पानीको सदुपयोगसम्वन्धि र हिमालय क्लाइमेट इनिसियटिभकी सञ्चालिका सुस्मिता दहालले फोहोर व्यवस्थापनमार्फत रोजगारी सिर्जनासम्वन्धि छुटटा छुटटै कार्यपत्र प्रस्तुत गरेका थिए ।

सेवा नेपालकी अध्यक्ष कल्याणी शाहले विगत २५ वर्षदेखि सेवा नेपालले कृषि तथा उपभोक्ताका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले स्वस्थ जीवनका लागि जंकफुडलाई निरुत्साहित गरी अर्गानिक स्थानीय खानाको प्रवद्र्धनमा जोड दिएकी छिन् । सेवा नेपाल राष्टिय धान दिवसका अवसरमा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।