आज तीन प्रदेशको ३५ जिल्लामा दोस्रो चरणको मतदान हुँदै

यो समाचार 296 पटक पढिएको

काठमाडौं । निर्वाचन आयोगले कडा सुरक्षाका बीच तीन प्रदेशको ३५ जिल्लामा आज दोश्रो चरणको स्थानीय तहको निर्बाचन गराउँदैछ । विहान सात बजेदेखि सुरु भएको निर्बाचनमा मतदाताहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । असारे झरी र बर्षेवाली धान रोपाँईलाई एक दिन थाति राखेर पनि मतदाताहरु जनप्रतिनिधि छनौट गर्न बुधबार आफ्नो मताधिकारको प्रयोग गर्दैछन् ।

दोश्रो चरणको निर्बाचनअन्तर्गत एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका गरी ३ सय ३४ स्थानीय तहमा प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन हुँदैछ । प्रदेश नम्बर २ वाहेक प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । बुधबारको निर्वाचनबाट मतदाताको मताधिकारबाट १५ हजार ३८ स्थानीय जनप्रतिनिधि छनोट हुनेछन् ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सबै तयारी पूरा भएको र सुरक्षाको राम्रो प्रबन्ध गरिएकाले मतदातालाई निर्धक्क भएर मतदान गर्न अपिल गरेका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले भाग लिँदै छन् ।

दोश्रो चरणको निर्बाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका लागि ६२ हजार ४०८ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । मतदान हुने ८ हजार ३६४ मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको आयोगले जनाएको छ । पहिलो चरण निर्वाचनमा ७१ प्रतिशत मत खसेको थियो ।

आयोगबाट जारी मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।