‘थोपा सिंचाईमा ब्रम्हलुट मच्चिएको छ’

यो समाचार 2063 पटक पढिएको

• राजन गैरे, टेक्नोलोजी म्यानेजर-
शीतल थोपा सिंचाई प्रविधि उद्योग

 

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेखि नेपालले थोपा सिंचाई प्रविधिको विकास र विस्तार गरेको थियो । थोपा सिंचाईका अनुसन्धानकर्ता राजन गैरे नेपाली थोपा सिंचाई प्रविधिका जन्मदाता हुन् । लामो सयमसम्म आइडिई नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रहेर यससम्बन्धीको अनुसन्धान र विकासमा लागेका गैरेकै प्रयासबाट नेपालमा २०५५ सालदेखि थोपा सिंचाइ प्रविधिको सुरु भएको थियो । चितवन जिल्लामा जन्मिएका गैरे २०५२ सालदेखि आइडिई नेपालमा थोपा सिंचाइको अनुन्धान र विकासमा संलग्न रहेका थिए । लामो समय विभिन्न संघसंस्थामार्फत थोपा सिंचाइको परामर्शदाताका रूपमासमेत काम गरेका गैरे हाल नेपालमै सञ्चालनमा रहेको शीतल थोपा सिंचाइ प्रविधि उद्योगको प्रविधि व्यवस्थापकका रूपमा काम गर्दै आएका छन् ।

युएसएआइडी किसान परियोजनाको साझेदारीमा शीतल थोपा सिंचाइ प्रविधि उद्योगबाट पश्चिमका ११ जिल्लाका १० हजार कृषक प्रत्यक्षरूपमा लाभान्वित भइसकेको उनले बताए । थोपा सिंचाइ प्रविधिको बजारीकरण, कृषि प्रसारलगायतका हजारौं कृषक तथा सरकारी कृषि प्राविधिकलार्ई तालिम प्रदान गर्दै आएका गैरे हाल डिसिए, इको–नेपालको स्वच्छ बगैंचा, स्वच्छ घर नामक कार्यक्रमको संयोजकसमेत रहेका छन् । उनले गोरखाको ताङलिचोक गाविस तथा मकैसिंह गाविसका ७ सयजना कृषकलाई स्वच्छ बगैंचा, स्वच्छ घरसम्बन्धी विभिन्न तालिम प्रदान गरिरहेका छन् । प्रस्तुत छ, थोपा सिंचाइसँग सम्बन्धित विविध विषयमा गैरेसँग लेखनाथ पोखरेलले गरेको कुराकानी :

थोपा सिंचाइ प्रविधिको अनुसन्धानमा कहिलेदेखि लाग्नुभयो ?

२०५२ सालदेखि आइडिइ नेपाल नामक संस्थामा काम सुरु गरेसँगै यसको अनुसन्धानमा लागेको हुँ । करिब १२ वर्षसम्म सोही संस्थामा थोपा सिंचाइ प्रविधिको अनुसन्धान र विकासमा संलग्न थिए । पछिल्लो समय आइडिईकै प्राविधिक सहयोगमा नेपालकै शीतल थोपा सिंचाइ प्रविधि उद्योग स्थापना भयो । उद्योगले लामो समयको अध्ययन र अनुसन्धानपछि मात्रै २०५५ सालदेखि किसानलाई यो प्रविधि वितरण गरेको थियो ।

अनुसन्धान कसरी सुरु गर्नुभयो ?
सुरुमा त विदेशी प्रविधि नै भिœयाइएको थियो । भारत, इजरायल, क्यानडाबाट थोपा सिंचाइ प्रविधि भिœयाइएको थियो । तर विदेशी प्रविधि निकै महँगो भएकोले नेपाली किसानले उपयोग गर्नै नसक्ने अवस्था देखिएपछि नेपालमै यसको अनुसन्धान सुरु गर्ने सोचका साथ हामीले अनुसन्धान सुरु गरेका थियौं । नेपालको मध्यपहाडी क्षेत्रको सिंचाइका लागि यो प्रविधि निकै उपयोगी देखिएकोले आइडिईले अनुसन्धानका लागि बजेटसमेत छुट्यायो । त्यसपछि हामीले नेपालमै थोपा सिंचाइ प्रविधिको विकास ग¥यौं र परीक्षणसमेत ग¥यौं । गोरखा, कास्की लमजुङ र खुमलटारमा परीक्षण गरिएको थियो ।

विदेशीभन्दा कति सस्तो पर्छ ?
विदेशीभन्दा ६० प्रतिशत सस्तो हुनुका साथै गुणस्तरीय र किसानमैत्रीसमेत देखिएपछि प्रविधिको प्रवद्र्धन सुरु भएको हो । त्यसो त शीतल थोपाभन्दा पनि सस्तो प्रविधि पनि नभएको होइन तर विदेशी प्रविधि टिकाउ देखिएन ।

थोपा सिंचाइ प्रविधिको मापदण्ड छैन ?
अहिलेसम्म नेपालमा यसको मापदण्ड नै छैन । आयातकर्ता र किसानमासमेत यसप्रति सचेत देखिएका छैनन् । बिक्री गर्नेले पनि किसानलाई यसबारेका जानकारी दिएका छैनन् । इजरायली प्रविधिको थोपा सिंचाइ प्रयोग गर्दा एउटा टनेलका लागि १० हजार रुपैयाँ जति पर्न जान्छ भने नेपाली प्रविधिको थोपा सिंचाइ ३ हजार ३ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म पर्न जान्छ । यी दुवै प्रविधि राम्रा छन् । त्यसो त १६, १७ सय रुपैयाँको थोपा सिंचाइ प्रविधि पनि भित्रिएको छ तर त्यो टिकाउ हुँदैन । साँच्चै भन्ने हो भने इजरायलको नेटाफिङ र भारतको जैन इरिगेसनको तुलनामा नेपाली प्रविधि सस्तो र टिकाउ रहेको छ । किसानलाई यो प्रविधि जडान पनि सहज छ । पछिल्लो समय धेरै कम्पनी आएकोले थोपा सिंचाइ लुटेर खाने भाँडो बन्न थालेको छ । प्रविधि किसानमैत्री कतिको छ, कति टिकाउ छ, पानी झराइ एकरूपमा त छ कि छैन भन्ने भन्दा पनि प्रविधि बिक्री गर्दा कति फाइदा हुन्छ भन्नेमात्रै देखिएको छ । ड्रिपटेप भन्ने सस्तो प्रविधि पनि आएको छ, जुन रोल गर्न पनि सजिलो छ । यस्तो टेप भारतमा ४, ५ रुपैयाँ मिटरमा पाइन्छ तर यहाँ प्रतिमिटरको २० रुपैयाँमा बिक्री भइरहेको छ । यसमा भ्याट १ प्रतिशतमात्रै छ । यस्तो प्रविधि एक सिजनभन्दा बढी जाँदैन ।

थोपा सिंचाइप्रति किसानको आकर्षण कस्तो छ ?
पहिल्लो समय थोपा सिंचाइको माग बढ्दो क्रममा रहेको छ, सोही कारण पनि थोपा सिंचाइका नाममा ब्रम्हलुट भएको छ । तर पनि विदेशी प्रविधिभन्दा नेपाली प्रविधिकै बढी प्रयोग भएको छ । नेपाली थोपा सिंचाइ प्रविधि २०५५ सालदेखि नै प्रयोग सुरु भएको हो भने् विदेशी प्रविधि तथा २०६७, २०६८ सालदेखिमात्रै भित्रिएको हो । हालसम्म एकलाख १२ हजार किसानले नेपाली थोपा सिंचाइ प्रविधिको प्रत्यक्षरूपमा प्रयोग गरेका छन् । यो नेपाली प्रविधि नेपालमा मात्रै सीमित छैन, भारतमासमेत निर्यात हुने गरेको छ । भारतको सिक्किममा वार्षिकरूपमा २ ३ सय किसानले यसको प्रयोग गर्ने गरेका छन् । अफ्रिकी मुलुक घानालगायतका मुलुकमा पनि यसको प्रयोग भएको छ । अन्य मुलुकबाट पनि माग आएको छ तर झन्जटिलो निर्यात प्रक्रियाका कारण हामीले पठाउन सकेका छैनौं । विदेशको सामान नेपालमा जस्तो सामान पनि ल्याउन सकिने अवस्था छ तर नेपालबाट भने सहजरूपमा विदेश पठाउन सकिने अवस्था छैन । आइडिई विदेशमा पनि कार्यरत संस्था भएकोले पनि माग आएको हो ।

यसको माग बढ्दो क्रम कस्तो रहेको छ ?
यसको माग हरेक वर्ष बढ्दो क्रममा रहेको छ । वार्षिकरूपमा २० हजार किसान थपिने गरेका छन् । माग बढेसँगै हामीले देशैभर ६८ वटा डिलर विस्तार गरेका छौं । किसानलाई प्राविधिक सहयोगका लागि प्रत्येक जिल्लामा ४–४ जना सामुदायिक अभिकर्ता पनि खटाएका छौं । उनीहरूले किसानलाई थोपा सिंचाइका बारेमा जानकारी दिने र कृषिमा नर्सरीदेखि पोस्ट हार्भेस्टसम्मको तालिमसमेत दिने गरेका छन् । सम्बन्धित जिल्ला कृषि कार्यालयहरूसँगको सहकार्यमा यस्ता कार्यक्रम हुने गरेका छन् तर सबै जिल्लामा यस्तो सहकार्य हुन सकेको भने छैन । हामीले किसानले थोपा सिंचाइ प्रविधि किन्न आउँदैमा दिँदैनौं, किसानले यो प्रविधिको उपयोग गरेर फाइदा लिन सक्ने हो कि होइन, त्यसको अध्ययनपछिमात्रै प्रविधि उपलब्ध गराउँछौं ।

थोपा सिंचाइका लागि आवश्यक सामान कहाँबाट आउछ ?
कच्चा पदार्थहरू धेरैजसो सिंगापुर र कतारबाट आउँछ तर सबै सामग्री यहीँको उद्योगबाट उत्पादन हुन्छ । थोपा सिंचाइका लागि आवश्यक पाइप, फिटिस, सकेट, वाटर ट्यांकलगायत सबै सामग्री हामी यहीँ उत्पादन गर्छौं ।

नेपाली उत्पादन कत्तिको टिकाउ छ ?
प्रयोगशाला परीक्षणले १५ वर्ष भनेको छ । सामान्यतया १० देखि १५ वर्षसम्म प्रयोग गर्न सकिन्छ । त्यसो त कतिपय स्थानमा त्योभन्दा बढी समय टिकेको पनि पाइएको छ ।

यो प्रविधिलाई व्यवस्थित गर्न सरकारले के गर्नुपर्ला ?
थोपा सिंचाइ प्रविधिका नाममा यहाँ ब्रम्हलुट भएको छ । गुणस्तरीय र गुणस्तरहीन प्रविधि दुवै किसिमका बिक्रेताले टेण्डर हाल्ने गरेका छन् । १२ रुपैयाँ मिटरको पाइपवालाले पनि टेण्डर हालेको छ, ४० रुपैयाँ मिटरवालाले पनि टेण्डर हालेको छ । त्यसैले सरकारबाट यसको अनुगमन हुनुप¥यो, थोपा सिंचाइको मापदण्ड बनाउनुप¥यो । नेपाली प्रविधिमा समस्या छ भने पनि सचेत गराउनुप¥यो र आयातित प्रविधिको गुणस्तर नियन्त्रण हुनुप¥यो । नेपालमा बनेको प्रविधिको प्रवद्र्धनमा सहयोग गर्नुप¥यो किनभने यो प्रविधि नेपालका लागि आवश्यक छ । यो प्रविधिले सतह सिंचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । थोरै पानीबाट धेरै सिंचाइ गर्न सकिन्छ । कामदारको लागत खर्च कटौती हुन्छ ।