देउवा बने ४० औं प्रधानमन्त्री

This post has already been read 74 times!

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नु भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर देउवाले पदभार ग्रहण गर्नु भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेर फर्किए लगत्तै देउवाले पदभार ग्रहण गर्नु भएको हो। नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो।

यसैबीच, प्रधानमन्त्री देउवा आजै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा जानु भई काँग्रेसका संस्थापक एवम् दिवङ्गत शीर्ष नेताहरुको तस्विरमा माल्र्यपण गर्नुभयो। उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् काँग्रेसका नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिरमा माल्यर्पण गर्नुभएको थियो।

यसैगरी प्रम देउवाले कार्यालयस्थित आफ्नो पार्टी सभापतिको कार्यकक्षमा गई एक छिन बस्नुभएको थियो। पार्टी कार्यालयमा पुग्दा नवनिर्वाचित प्रमलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो।

आठ मन्त्रीको सपथ ग्रहण
देउवा सरकारको आठ मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनु भएको छ। बुधबार दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा आठ मन्त्रीलाई राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराउनु भएको हो।

देउवा नेतृत्वको सरकारमा पहिलो चरणमा विजयकुमार गच्छदार (उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास) कृष्णबहादुर महरा (उपप्रधान तथा परराष्ट्र), गोपालमान श्रेष्ठ (उपप्रधान तथा शिक्षा), ज्ञानेन्द्रबहादुर कार्की (अर्थ), फरमुल्ला मन्सुर (श्रम तथा रोजगार), जनार्दन शर्मा (गृह) र प्रभु शाहले (विना विभागीय मन्त्री) को रुपमा पद तथा गोपनीयताको सपथ लिनु भएको हो।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगर, कायमुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेको थियो।