पुष्प व्यवसायी वातावरणका संरक्षणदूत हुन्

यो समाचार 498 पटक पढिएको

सन्दर्भ : विश्व वातावरण दिवस

वातावरण प्रदूषण विश्वव्यापी चिन्ताको विषय हो । बढ्दो वातावरण प्रदूषणका कारण मानवजीवन र समस्त जगत जोखिममा छ । वातावरणीय सन्तुलनमा प्रतिकूल असर परेकै कारण जलवायु परिवर्तनको असरले एकातिर खाद्यन्न उत्पादनमा ह्रास हुँदै आएको भने अर्कातर्फ विभिन्न रोगहरूको संक्रमण बढेको छ । खासगरी शहरी क्षेत्रमा यस्तो जोखिम बढी देखिएको छ । वातावरण संरक्षणमा हरियालीले महत्वपूर्ण भूमिका हुन्छ तर राज्यस्तरबाट शहरी क्षेत्रमा हरियालीको उचित व्यवस्थापन हुनसकेको छैन ।  शहरी क्षेत्रमा विस्तार हुँदै गएका व्यावसायिक पुष्पखेती तथा नर्सरीहरूले अप्रत्यक्षरूपमा वातावरण संरक्षणमा योगदान पु¥याएका छन् । सरकारले भने वातावरणमैत्री यस्ता नर्सरी शहरी क्षेत्रमा सञ्चालन गर्न रोक लगाएको छ ।  प्रस्तुत छ, विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षणमा पुष्प व्यवसायको योगदानलगायतका विषयमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमारकसजु श्रेष्ठसँग लेखनाथ पोखरेलले गरेको कुराकानी :

कुमारकसजु श्रेष्ठ अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)

वातावरण र फूलबीच कस्तो सम्बन्ध हुन्छ ?
वातारणलाई दुई तरिकाले हेर्न सकिन्छ । एउटा इकोसिष्टम, अर्को हरियाली प्रबद्र्धन । हामी सौन्दर्यसहितको हरियाली प्रबद्र्धन गर्छौं । पुष्प व्यवसाय यसैसँग सम्बन्धित छ । सौन्दर्य र हरियालीको संयोजन नै पुष्प व्यवसाय हो । पुष्प व्यवसायीले हासिल गरेको आर्थिक समृद्धि यही तीनवटा कुराको संयोजनबाट भएको हो ।

पुष्प व्यवसाय त व्यवसायमात्रै होइन र ?
यो व्यवसायमा मात्रै सीमित छैन । वातावरण संरक्षणसँग जोडिएको छ । शहरी क्षेत्रमा जनघनत्व बढ्दैछ । शहरमा हरियाली पर्या पर्यावरणमार्फत वातावरण संरक्षण गर्न र ताजा अक्सिजन उत्पादन गरेर वातावरण सन्तुलित राख्न पुष्प व्यवसायको महŒवपूर्ण भूमिका छ । मानिसहरू भीडभाड र अस्तव्यस्त शहरी वातावरणबाट फ्रेस स्थानको खोजीमा हुन्छन् । प्राकृतिक वातावरणको अभावमा मानिसमा विभिन्न किसिमको तनाव उत्पन्न हुन्छ । तनाव घटाउन आफ्नो घर वरिपरी फूल, विरुवा रोप्ने चलन छ ।

वातावरण मन्त्रालयसँग तपाईंहरूको सहकार्य कस्तो छ ?
उत्पादनसँग सम्बन्धित भएकाले पुष्प व्यवसायलाई कृषि मन्त्रालयलअन्तर्गत राखिएको छ । हामीले वातावरणसँग सम्बन्धित काम पनि गरिराखेका छौँ । त्यसैले उत्पादन कृषि मन्त्रालयले हेर्ने र हरियाली प्रबद्र्धनलाई वातावरण मन्त्रालयले हेर्ने व्यवस्था भएमा पुष्प व्यवसाय र वातावरण संरक्षणको काम अझै व्यापक बनाउन सकिन्छ । अहिले महानगरपालिकामा वातावरण विभाग स्थापना भएको छ र हरियाली प्रबद्र्धन गर्दै आएको छ तर योमात्रै पर्याप्त छैन ।

कार्बन उत्सर्जनका नाममा अन्तर्राष्ट्रिय समुदायबाट नेपालले आर्थिक सहयोग पाउँदै आएको छ, त्यो कहाँ खर्च हुन्छ ?
यो एकदमै सान्दर्भिक प्रश्न हो । सम्पन्न मुलुकहरूले उत्पादन गरेको प्रदूषण हरियालीमार्फत घटाउन हाम्रो देशको महŒवपूर्ण भूमिका छ । सरकारले शहरमा सकडपेटीमा हरियाली प्रबद्र्धनको काम अघि बढाएको छ । हामी पनि शहरीभत्रै बसेर पुष्प व्यवसायमार्फत हरियाली प्रबद्र्धनको गरिरहेका छौं । यसमा वातावरण मन्त्रालय, पुष्प व्यवसायी र सरोकार निकायबीच सहकार्य हुनसकेमा हरियाली प्रबद्र्धनको काम अझै प्रभावकारी हुनसक्छ । कार्बन उत्सर्जनवापत प्राप्त रकम वातावरण मन्त्रालयले केमा खर्च गर्छ हामीलाई जानकारी छैन । चुरोटमा स्वास्थ कर लगाएर क्यान्सर अस्पताल बनाउने काम भएको छ तर वातावरण शुल्कवापत उठेको रकमको खर्च पारदर्शी छैन । हामीले पनि वातारण शुल्क तिर्दै आएका छौं ।

तपाईंहरू कृषि विकास मन्त्रालयसँग निकट हुनुहुन्छ, वातावरण मन्त्रालयसँग चाहिँ सम्बन्ध कस्तो छ ?
हामीले वातावरण मन्त्रालयसँग अहिलेसम्म सम्पर्कै छैन । हाम्रो सबै काम कृषि विकास मन्त्रालयअन्तर्गत हुने भएकाले वातावरण मन्त्रालयसम्म पुग्नुपर्ने बाध्यता नभएरै सम्पर्क हुन नसकेको हो । अहिले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूसँग भने वातावरण संरक्षणका लागि हामी समन्वयको पहल गर्नेछौं । अहिले हरियाली प्रबद्र्धनका नाममा गलत तरिकाबाट ‘प्लान्टेसन’ भइरहेको छ । यसको नियन्त्रण र व्यवस्थापन कसले गर्ने ? यसमा पब्लिक, प्राइभेट पार्टरसीप (पीपीपी) मोडलमा काम गर्न सकिन्छ ।

पुष्प व्यवसायको वर्तमान अवस्था कस्तो छ ?
देशभरि करिब सातसय पुष्प व्यवसायीले काम गरिरहेका छन् । हरेक पुष्प व्यवसायीले उत्पादनका साथै वातावरण संरक्षणको काम पनि गरेका छन् । मेचीको व्यवसायी होस् या महाकालीको, पुष्प व्यवसायमार्फत हरियाली प्रबद्र्धन गरेका छन् । पुष्प व्यवसायीहरू वातावरण संरक्षणका दूत हुन् । यो यथार्थ सबै निकायहरूले मनन गर्नुपर्छ । उद्योग मन्त्रालयले महानगरपालिका, नगरपालिकाभित्र अन्य प्रदूषणजन्य उद्योगजस्तै गरेर नर्सरीसमेत दर्ता हुन दिएको छैन । पुष्प नर्सरी त प्रदूषण रोक्ने व्यवसाय हो । कस्तो उद्योग व्यवसायले वातावरणमा असर गर्छ र कस्तो उद्योगले वातावरण संरक्षण गर्छ भन्नेसमेत सरकारले वर्गीकरण गर्न सकेको छैन । सरकारको यस्तै विभदेपूर्ण नीतिका कारण हाम्रा व्यवसायीहरू नर्सरी दर्ता गाउँपालिकाभित्र र सञ्चालन नगरपालिकाभित्र गर्न बाध्य छन् । वातावरण संरक्षण गर्ने उद्योग व्यवसाय निर्वाधरूपमा महानगर तथा नगरपालिकाभित्र चलाउन दिनुपर्छ ।

पुष्प व्यवसायमा आत्मनिर्भरता कस्तो छ ?
पछिल्लो समय नेपाल पुष्प व्यवसायमा आत्मनिर्भरताको दिशातर्फ अग्रसर हुँदैछ । आजभन्दा १५ वर्षअघि फूल कुल मागको ८० प्रतिशतसम्म आयात हुने गरेको थियो तर अहिले ८० प्रतिशत यही उत्पादन हुन्छ, २० प्रतिशतमात्रै आयात हुने गरेको छ । हाम्रो अभियान नै आयात प्रतिस्थापन, निर्यात प्रबद्र्धन र आत्मनिर्भरता हो । यो लक्ष्य प्राप्तिका लागि पुष्प व्यवसायमा प्रविधिको प्रयोगमा जोड दिएका छौं । थोरै जमिन, थोरै मिहिनेतले धेरै र गुणस्तरीय उत्पादन गर्ने सोचका साथ सरकारसँग सहकार्य गर्दै अघि बढेका छौं ।

हालसम्म कति क्षेत्रफलमा ग्रीनहाउस स्थापना भएका छन् ?
आर्थिक वर्ष ०७१/७२ मा सुरु भएको योजनाअन्तर्गत पहिलो वर्ष १५ हजार वर्गमिटरमा र ०७२/७३ मा २१ हजार वर्गमिटरमा ग्रीनहाउस जडान भइसकेको छ । यसैगरी ०७३/७४ मा २५ हजार ८ सय वर्गमिटर क्षेत्रफलमा जडान हुँदैछ । आगामी ५ वर्षभित्र झण्डैै २ लाख वर्गमिटर क्षेत्रफल ग्रीन हाउस विस्तार भइसक्नेछ । यी ग्रीनहाउस विश्व बजारमा प्रचलित प्रदुषित ग्यास उत्पादन गर्ने ग्रीनहाउस होइनन्, यहाँ स्थापना भएको नेचुरल भेन्टिलेटेड पोलिहाउस हो र वातावरणमैत्री हुन्छ । यस्तो ग्रीनहाउसमा विषादी प्रयोगविना नै बाह्रै महिना उत्पादन लिन सकिन्छ ।

पुष्प व्यवसायका समस्या र चुनौती के के हुन् ?
शहरी क्षेत्रमा पुष्प व्यवसाय सञ्चालन चुनौतीपूर्ण बन्दै गएको छ । सबैभन्दा ठूलो समस्या जमिनको अभाव हो । जहाँ जमिन सस्तो छ त्यहाँ सडकको पहुँच छैन । शहरी क्षेत्रमा महँगो भाडामा सीमित समयका लागिमात्रै जमिनको सम्झौता गर्नुपरेको छ । जग्गाधनीहरू पाँचवर्षभन्दा बढीको सम्झौता गर्न चाहँदैनन् । जनशक्तिको पनि त्यतिकै अभाव छ । दक्ष र अदक्ष र अर्धदक्ष सबैखाले जनशक्तिको अभाव छ । वित्तीय पहुँच छैन । सरकारले कृषि ऋणको व्याजमा अनुदान दिने भने पनि लक्षित वर्गले पाउन सकेको छैन । बैंकहरूले यस्तो अनुदानको कृषि ऋण उत्पादनसँग सम्बन्धितलाई नभई कृषिसँग सम्बन्धित उद्योगलाई मात्रै दिने गरेको पाइएको छ । बीमाको पनि समस्या छ ।

विश्व वातावरण दिवसको अवसरमा के सन्देश दिन चाहनुहुन्छ ?
अहिलेसम्म वातावरण दिवस औपचारिकतामा मात्रै सीमित हुँदै आएको छ । परिमाणमुखी कार्यक्रम सञ्चालन हुनसकेको छैन । वातावरण दिवसमा वृक्षरोपणका लागि भन्दै सम्बन्धित निकायले सित्तैमा पाइने बिरुवाहरू खोज्दै हिँड्ने गरेको पनि पाइएको छ । अहिले राजधानीको वातावरण सास फेर्नलायक छैन । स्वच्छ वातावरण निर्माणमा सबैमा चेतना जगाउनुपर्ने आवश्यकता छ । सरकारले वातावरण संरक्षण र प्रबद्र्धनका लागि लगानीका साथै चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।