माघे संक्रान्तिमा ५ करोडको चाकु

यो समाचार 143 पटक पढिएको

काठमाडौं, १ माघ\  घिउ, चाकु र तरुलको पर्वका रूपमा चिनिने माघे संक्रान्तिमा देशभर ५ करोडभन्दा बढीको चाकु तथा तिलको लड्डु (तिलौर) बिक्री हुने अनुमान व्यवसायीहरूले गरेका छन् । माघे संक्रान्तिमा हरेक समुदायले चाकु खाने प्रचलन भएकाले यसको व्यापार धेरै हुने सम्बद्ध व्यवसायी बताउँछन् ।  


माघे संक्रान्तिमा ५ करोडको  चाकुमाघे संक्रान्ति जाडो याममा पर्ने भएकाले चिसोबाट बच्नसमेत चाकु सेवन गर्ने गरेको पाइन्छ । मकर संक्रान्तिमा सूर्य विषुवत रेखाबाट मकर रेखामा प्रवेश गर्दा मौसम परिवर्तन हुन्छ । यो मौसममा चाकु खाँदा शरीरलाई चिसोबाट बचाई पौष्टिकता दिन्छ ।
मुलुकभर टोखामा उत्पादित चाकु प्रसिद्ध छ । यहाँ उत्पादिन चाकु देशभर पुग्ने गरेको काशीलाल चाकु प्रोडक्सन प्रालिका प्रोपाइटर बुद्ध श्रेष्ठ बताउँछन् । चाकु विभिन्न प्रकार सादा, बाहिरी मसलायुक्त, भित्री मसलायुक्त, सुत्केरी मसला युक्ते, खुवाको र झोल चाकु उत्पादन हुने गरेको छ । चाकुलाई स्वादिलो बनाउन यसमा काजु, पेस्ता, दाख, नरिवल, बदाम, ल्वाङ, सुकुमेललगायत मसला प्रयोग हुने गरेको छ ।
माघे संक्रान्तिमा तिलको लड्डु(तिलौरा)को बिक्रीसमेत उच्च हुने व्यवसायीको भनाइ छ । तिलौरा रातो, कालो र सेतो ३ किसिममा बन्ने गरेका छन् । भुेटेको तिल पकाएर लेदो पारिएको सखरमा मुछेर तिलको लड्डु तयार पारिने टोखाका अर्का चाकु उत्पादक भाइलाल श्रेष्ठ बताउँछन् । सखरलाई पकाएर जमाई त्यसलाई फिटेर विभिन्न आकारमा चाकु तयार गरिन्छ ।
उत्पादकले टोखाबाट औसतमा चाकुको गुणस्तरअनुसार प्रतिकेजी १ सय ५ देखि १ सय २५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । तर, सबै किसिमका मसला प्रयोग गरिएको चाकु र खुवाको चाकु भने प्रतिकेजी १ सय ६० रुपैयाँ उत्पादकले नै लिने गरेका छन् । त्यस्तै तिलको लड्डु प्रतिकेजी २ सय रुपैयाँभन्दा बढी पर्ने व्यवसायीको भनाइ छ । टोखामा ४ पुस्तादेखि चाकुको व्यवसाय गर्दै आएका बुद्ध श्रेष्ठले वार्षिक ५०÷६० लाख रुपैयाँको चाकुजन्य पदार्थको बिक्री गर्दै आएका छन् । “माग आयो भने हामी दैनिक ८ सय केजीसम्म चाकु निर्यात गर्ने सक्छौं,” उनले भने, “तर माघे संक्रान्तिअघिको १ महिनामात्र चाकुको माग उच्च हुन्छ ।” टोखाका अर्का व्यवसायी भाइलाल श्रेष्ठले सिजनमा १४÷१५ लाख रुपैयाँको चाकु बिक्री गर्ने गरेका छन् । अन्य समयमा मुस्किलले ५ प्रतिशत पनि व्यापार नहुने उनी बताउँछन् ।
पछिल्लो समय टोखामा मात्र नभई भक्तपुर, पाटन, नुवाकोटलगायतका स्थानमा समेत चाकु उत्पादन हुने गरेको छ । नेवार समुदायले माघे संक्रान्तिमा मात्र नभई योमरी पुन्हीलगायतका विभिन्न पर्वमा समेत प्रयोग हुने गरेको छ । नेवारी संस्कार अनुसार चाकु चोखो खाद्यवस्तुका रूपमा लिइन्छ, जसलाई पितृकार्यमा समेत प्रयोग गरिन्छ । चाकुमा कुनै पनि केमिकल प्रयोग नगरिने भएकाले यो खाँदा केही असर नपर्ने बुद्ध बताउँछन् । चाकुलाई सुत्केरी मसलाको रूपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । त्यस्तै आयुर्वेदिक औषधिमा समेत चाकु प्रयोग गरिन्छ ।
अन्यत्र पनि चाकु उत्पादन भए पनि टोखाको चाकुको नै माग हुनुमा गुणस्तरीय उत्पादन कारक भएको बुद्धले बताए । टोखामा उत्पादन हुने चाकुको कच्चा पदार्थ सखर भने तराईबाट आयात हुने गरेको छ । पहिले बस्ती बाक्लो नहुँदा टोखामै उत्पादन हुने उखुबाट सखर उत्पादन गरी चाकु बनाउने गरेको त्यहाँका स्थानीय बताउँछन् । चाकु बनाउने प्रचलन टोखामा करिब २ सय वर्षअघि सुरु भएको स्थानीय काशिलाल श्रेष्ठले बताए । उनले भने, “मेरा हजुरबा दीर्घमानले टोखामा चाकु बनाउन सुरु गरेको र बा अष्टमानले यसलाई पेसाकै रूपमा अगाडि बढाएका हुन् ।”
चाकु निर्यातको सम्भावना भए पनि सरकारले गुणस्तर निर्धारण नगरेकाले समस्या परेको व्यवसायीको भनाइ छ । सरकारले चाकुको मूल्य निर्धारण नगर्दा बजारमा मूल्य फरक फरक रहेको बुद्धले बताए ।

कारोबारबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :