तरुलको विक्री १५% बढी

यो समाचार 219 पटक पढिएको

काठमाडौं/तरुलको विक्री गत वर्षको तुलनामा १५ प्रतिशतले बढेको काठमाडौं तरकारी तथा फलफूल विकास बोर्डले जनाएको छ। जाडो बढ्दै गएपछि सामान्य दिनको तुलनामा राजधानीमा ६ गुणा धेरै तरुलको व्यापार हुन थालेको बोर्डका निर्देशक अर्जुनप्रसाद अर्यालले बताए । तरुलसँगै सखरखण्डको व्यापार पनि बढेको व्यवसायीहरुले बताएका छन्। माघेसंक्रान्तिका दिनमा घिउ, चाकु, तिलौरासँगै तरुल र सखरखण्ड पनि खाने चलन छ।

तरुलको विक्री १५% बढी
कालिमाटी तरकारी बजारमा दैनिक १६ देखि २० ट्रकसम्म तरुल भित्रिइरहेको बोर्डका निर्देशक अर्यालले जानकारी दिए। उनकाअनुसार, कालिमाटी सरदरमा २ देखि ३ ट्रक मात्र तरुल भित्रिने गरेकोमा पछिल्लो एक सातामा यो ६ गुणाभन्दा धेरै बढेको छ।

कात्तिकको ठूलो एकादशीदेखि नै तरुल र सखरखण्डको माग हुँदै आएपनि यस वर्ष भने गत दुई साता अघिदेखि मात्र राजधानीमा तरुलको माग बढेको उनले बताए। विशेÈगरी माघे संक्रान्तिको केही दिनअघि दैनिक करिब ५० टनको हाराहारीमा तरुल भित्रिने गरेको छ।

माघेसंक्रान्तिको एक हप्ता अघि देखि नै तरुलसँगै सखरखण्डको व्यापार पनि बढेको तरकारी व्यापारीहरुले बताएका छन्। बल्खुका खुद्रा तरकारी व्यापारी अशोक कार्कीले अहिले तरुल र सखरखण्डको विक्रि गत वर्षको तुलनामा बढेको बताए। । ‘चाडपर्वको समय र बढ्दै गएको चिसोमा ग्राहकले तरुल खान रुचाउँछन,्’ उनले भने। उनका अनुसार सामान्य तरुल भन्दा पनि वनतरुलको विक्री धेरै भएको छ। ‘महँगो भएपनि चाडपर्व भनेर वनतरुल खोज्नेहरु धेरै छन्,’ उनले भने। मंगलबार उनले वनतरुल एक किलोको एक सय पचास रुपैंयामा विक्री गरे। सामान्य तरुलको मूल्य भने उनको पसलमा एक किलोको ४५ रुपैंया थियो। सखरखण्ड एक किलोको साठी रुपैंयामा विक्रीभएको उनले बताए।

कालिमाटीमा तरकारी व्यापार गर्ने मनिष चौलागाईंले सोमबार मात्र २० हजारभन्दा धेरैको तरुल र सखरखण्ड विक्री गरेको बताए। मंगलबार २५ हजारभन्दा धेरैको तरुल र सखरखण्ड विक्री हुने उनको अपेक्षा थियो। ‘पुस १५ पछि तरुलको व्यापार अलि बढ्न थालेको हो। शुक्रबार सम्म दिनमा १०/१२ हजारको तरुल बेचिरहेको थिएँ, अहिले लगभग दोब्बर बेचिसके,’ उनले भने।

उनको पसलमा तरुल किन्दै गरेका कुलेश्वरकी शान्ति भट्टराईले पनि माघे संक्रान्तिमा तरुल चाहिने खानेकुरा भएकाले किनेको बताइन्। ‘माघेसंक्रान्ति मनाउँदा तरुल चाहिने खानेकुरा हो। त्यही भएर मैले खोजेरै यो वनतरुल किन्न आएकी हुँ’ उनले भनिन्।

कालिमाटी तरकारी बजारमा मंगलबार वनतरुलको थोक मूल्य एक किलोको एक सयदेखि एक सय दस रुपैंया र अर्को तरुलको थोक मूल्य एक किलोको २५ देखि ३० रुपैयाँ तोकिएको थियो। काठमाडौंमा सर्लाही, चितवन, नवलपरासी, धादिङ, पाल्पालगायतका जिल्लाबाट आयातहुने गरेको छ। अघिल्लो वर्ष भन्दा यस वर्ष उत्पादन घटेर कम आयात भएकाले काठमाडौंमा तरुलको मूल्यमा ५० प्रतिशत सम्म वृद्धि भएको बोर्डले बताएको छ।

चाकुको ब्यापार बढ्यो

माघेसंक्रान्ति पर्वमा चाकुको व्यापार पनि बढेको छ। असनमा चाकुको होलसेल व्यापार गर्ने उत्तमकाजी तुलाधरले यो हप्ता सुरु भएपछि दैनिक सरदर ३० हजारको चाकु व्यापार गरेको बताए। ‘गत सातासम्मदिनमा १२ देखि १५ हजारको चाकु बेचेको थिए। अहिले व्यापार दोब्बर बढेको छ,’ ललितपुरमा चाकु उद्योग समेत चलाएका उनले भने।

न्युरोडमा चाकु बेच्ने राजु तामाङले चाकु बनाउन प्रयोग गरिएको सामग्रीअनुसार २५० ग्रामको चाकुको प्याकेटलाई तीसदेखि चालिस रुपैयाँ र आधा किलो चाकुको प्याकेटलाई ६५ देखि ८० रुपैंयासम्म पर्ने बताए। ‘ठूलो प्याकेटको चाकु नेवार समुदायको चाडपर्वमा माग हुने गर्दछ,’ उनले भने। तामाङका अनुसार काठमाडौंमा बिक्री हुने चाकु धेरै जसो काठमाडौं उपत्यकामै विक्री हुने गर्दछ।

नागरिकबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :