अन्न छाडेर नगदेबालीतिर किसान

यो समाचार 198 पटक पढिएको

काठमाडौं\ मुलुकका प्रमुख खाद्यान्न बाली धान, गहुँ, कोदोभन्दा तरकारी, फलफूल, मसला र मासु उत्पादनमा किसानको चासो बढेको एक सरकारी अध्ययनले देखाएको छ। राष्ट्र बैंकले ७५ मध्ये ४७ जिल्लामा गरेको अध्ययनले धान, मकै र गहुँभन्दा तरकारी, फलफूल, मसला र मासु उत्पादनमा किसानको चासो बढेको देखिएको हो।


Vegetavle pestiअनुसन्धानमा सहभागी राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्रमुख खाद्यान्न बाली लगाउने क्षेत्रफलमा कमी आएका बेला तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल बढेको छ। अध्ययनले तरकारी तथा बागवानी बाली खेती हुने क्षेत्रफल ३.३ प्रतिशत र फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल २.५ प्रतिशतले बढेको देखाएको हो।अर्कोतिर खाद्यान्न तथा अन्य बालीले ढाकेको क्षेत्रफल एक वर्षमै २.४ प्रतिशतले घटेको छ। धान, गहुँ, कोदो, जौ, सनपाट, सुर्ती, दाल तथा तेलजन्य बालीले ढाकेको क्षेत्रफल अझ बढी घटेको छ। यससँगै भने उत्पादनमा पनि ह्रास आएको छ।काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी क्षेत्र वरपर खाद्यान्न तथा अन्य बालीले ढाकेको क्षेत्रफल व्यापक रुपमा घटेको छ। तरकारी तथा बागवानी बालीको क्षेत्र काठमाडौं, वीरगन्ज, नेपालगन्ज क्षेत्रमा व्यापक घटेको छ। फलफूल तथा मसलाजन्य बालीले ढाकेको क्षेत्रफल काठमाडौंबाहेक सबै क्षेत्रमा बढेको छ।अध्ययनले धान, मकै र गहुँको उत्पादनमा उच्च ह्रास आएको देखाएको छ। कृषि क्षेत्रमा कर्जा विस्तारका बाबजुद धान उत्पादन ९.५, मकै २.७ र गहुँ ९.१ प्रतिशतले घटेको हो। जबकि कृषि क्षेत्रको बैंक कर्जा ३९.१ प्रतिशतले बढेको छ। सिँचाइ सुविधा एक प्रतिशतले बढेको छ।
चालु वर्षको मंसिरसम्म मात्रै नेपालले तीन अर्ब ३० करोडको चामल, दुई अर्ब ६९ करोड ६८ लाखको तरकारी र एक अर्ब आठ करोडको फलफूल आयात गरिसकेको छ।

अध्ययनले आलु, ऊखु र भटमासको उत्पादन बढेको देखाएको छ। दलहन र तेलहन बालीको उत्पादन घटेको छ। दूध, माछामासुको उत्पादनमा भने वृद्धि देखिएको छ। दूध उत्पादन ३ र माछामासु तथा अन्डा ३ प्रतिशतले बढेको छ।

मासुतर्फ भैंसी र राँगाको ३.२, खसी, बोका र भेडाको मासु उत्पादन ६.४ प्रतिशतले बढेको छ। सुँगुर र बंगुरको मासु उत्पादन ५.७ र कुखुरा तथा हाँसको ७ प्रतिशतले बढेको छ। माछाको उत्पादन पनि ७.५ प्रतिशतले बढेको अध्ययनले देखाएको छ।

तराईका विभिन्न जिल्लामा कृषकलाई व्यावसायिक रुपमा माछापालन गर्न सरकारले आर्थिक अनुदान र प्राविधिक सहयोग गरेको थियो। सर्वसाधारणमा माछा उपभोग गर्ने बानी बढ्दै गएका कारण यसमा कृषकको आकर्षण बढेको अध्ययनमा उल्लेख छ।
सरकारले सिँचाइ सुविधालाई समेत यसपालि बढाएको छ। कूल खेती गरिएका क्षेत्रमध्ये ४६.८ प्रतिशत सिँचित छ। सरकारले कुलो, नहर, बोरिङ तथा पोखरीमार्फत सिँचाइ सुविधा उपलब्ध गराएको थियो। कृषिलाई प्राथमिकतामा राख्दै बैंक तथा वित्तीय संस्थाले कृषि ऋण ३९.१ प्रतिशतले बढाएर ३५ अर्ब २० करोड रुपैयाँ पुर्‍याएका छन्।

विगतको तुलनामा सिँचाइ सुविधा सामान्य बढे पनि खेती गरिएको क्षेत्रफलको आधाभन्दा कम भूभागमा मात्र सिँचाइ पुगेकाले आगामी दिनमा बाली लगाउने क्षेत्रफल अझ घट्न सक्ने अध्ययनमा उल्लेख छ। उन्नत जातका बीउबिजन, रासायनिक मलको सहज आपूर्ति तथा वितरण व्यवस्थित गर्दै प्रांगारिक मलको उत्पादन तथा उपयोगलाई विस्तार गर्दै लैजाउनु पर्ने अध्ययनले सुझाएको छ।

कृषि क्षेत्रमा कमजोर देखिए पनि कर्जा उपभोग भने काठमाडौंले बढी गरेको छ। कूल कृषि कर्जामध्ये काठमाडौंमा ३८.८ प्रतिशत खपत भएको छ। त्यसपछि वीरगन्ज, विराटनर, सिद्धार्थनगर, पोखरा, जनकपुर, नेपालगजन्ज र धनगढी क्षेत्रमा खपत भएको छ। अध्ययनअनुसार यी कृषि उत्पादन ह्रास आएका क्षेत्रको अग्रस्थानमा पर्छन्।
कृषिभन्दा दर्दनाक अवस्था औद्योगिक क्षेत्रको छ। देशभरका उद्योगहरु क्षमताको औसत ५७.८ प्रतिशतमा सञ्चालित छन्। खासगरी लोडसेडिङका कारण उद्योगहरु आधा क्षमतामा चलेका हुन्। अध्ययनमा धान उत्पादन व्यापक घटेका कारण चामलजन्य उद्योगको क्षमता २२.१ प्रतिशत मात्र उपयोग भएको छ। चाउचाउजन्य उद्योग भने क्षमताको सबैभन्दा बढी ८७.४ प्रतिशत चलेका छन्।

शान्ति सुरक्षा कमजोर, लम्बिदो संक्रमणकाल, बिग्रिएको श्रम सम्बन्धका कारण औद्योगिक उत्पादनमा गिरावट आएको अध्ययनको ठहर छ। उद्योग क्षेत्रमा देखिएको ऊर्जा संकटलाई दीर्घकालीन समाधान खोज्न आवश्यक भएको अध्ययनको निष्कर्ष रहेको छ।

बनस्पति घिउ, तोरीको तेल, दुग्ध पदार्थ, हल्का पेय, धागो, सिन्थेटिक कपडा, जुटका सामान, काठजन्य उत्पादन, कागज, बिजुलीका तार तथा केबुल, टायर तथा ट्युब उत्पादनमा ह्रास आएको छ। भटमासको तेल, पशुदाना, बिस्कुट, चिनी, चाउचाउ, मदिरा, बियर, इटा, सिमेन्ट, फलामे छडको उत्पादन भने वृद्धि भएको छ।

तेल उद्योगमा दिइएको मूल्य अभिवृद्धिकर (भ्याट) फिर्ताको सुविधा तथा बजारमा माग विस्तारका कारण भटमास तेलको उत्पादन बढेको हो। भारततर्फको निकासी बन्द भएर बजार मागमा आएको ह्रासले बनस्पति घिउ उत्पादन घटेको हो।

राष्ट्र बैंकको अध्ययनले पर्यटकस्तरीय होटलको संख्या १५.४ प्रतिशतले बढेर एक हजार दुई सय २४ पुगेको देखाएको छ। होटल शैऒ्ढया संख्या पनि १८.५ प्रतिशतले बढेर २० हजार चार सय आठ पुगेको छ।

चार वर्षदेखि सुस्त रहेको घरजग्गा कारोबारमा सामान्य सुधार देखिन थालेको छ। घरजग्गा रजिस्टे्रसन संख्या २.८ प्रतिशतले बढेको छ भने राजस्व संकलन २८ प्रतिशतले बढेको छ। घर, भवन नक्सा पास संख्या पनि ६ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घरजग्गा रजिस्टे्रसन वीरगन्जमा भएको छ। त्यसपछि जनकपुर, धनगडी, सिद्धार्थनगर, पोखरा र काठमाडौंमा भएको छ।

अध्ययनले सञ्चार सुविधामध्ये टेलिफोन (मोबाइल र ल्यान्डलाइन) २३.४ प्रतिशतले र इन्टरनेट ३७.१ प्रतिशतले बढेको छ। २०६८ को जनगणनालाई आधार मान्दा ८०.५ प्रतिशत जनसंख्यामा टेलिफोन पुगेको छ भने २६.१ प्रतिशत जनसंख्यामा इन्टरनेट सुविधा पुगेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :