कृष्णप्रसाद भन्नुहुन्छ,’दैनिक डेढ सय लिटर दूध बेच्छु’

यो समाचार 1488 पटक पढिएको

किसानका कुरामाः कृष्णप्रसाद गैरे

शिशिर पाण्डे । रुपन्देही

म बुटवल उपमहा नगरपालिकाको कालिकानगरमा बस्छु। पाल्पा जिल्लाको ख्याहा गाविसमा २०२७ सालमा जन्मेको म २०४८ सालमा २१ वर्षको उमेरमा रोजगारीको खोजीमा बुटवल झरेको हुँ। बुटवलमा चप्पल कारखानामा काम गरेर पाल्पाको तानसेन क्याम्पसबाट प्राइभेट आइए पास गरें। १३ वर्षसम्म न्यून बेतनमा जागिर खाएँ।

कृष्णप्रसाद गैरे

परिवार पाल्न जागिरबाट गाह्रो भएकाले २०६१ सालमा घरनजिकै सानो गोठ बनाएर २५ हजारमा एउटा भैंसी किनें। यहींबाट भैंसीपालन व्यवसाय सुरु गरेको हुँ। त्यो २५ हजार ब्याजमा ऋण लिएर लगानी गरेको थिएँ। केही महिनापछि त्यो भैंसी हरायो। चार दिनसम्म खोज्दा पनि भेटिएन। हराएको भैंसी खोज्ने क्रममा डुल्दै जाँदा उधारोमा ३५ हजारमा एउटा भैंसी फेला पारें। त्यो भैंसी लिएर घर फर्कंदा हराएको भैंसी पनि भेटियो। दुईटा भैंसीको दूध बेच्दा ग्राहक पनि बढे। त्यसपछि अर्को भैंसी थपें। सातवटा पुग्दासम्म एक्लैले स्याहारसुसार गरें।

आठओटा भएपछि सहयोगी भर्ना गरेर काम गर्न थालें। व्यापार राम्रो भयो। कालिकानगरको बसाइ साँघुरो भएकाले २०७० वैशाखमा आनन्दवन गाविस १ नयाँमिलमा चार बिघा जग्गा वार्षिक एक लाख रुपैयाँमा भाडामा लिएर व्यवसाय विस्तार गरें। अहिले माउ र पाडापाडी गरेर ५० भन्दा बढी भैंसी छन्। भैंसी खरिद र भौतिक संरचनामा गरी एक करोड रुपैयाँभन्दा बढी लगानी गरेको छु। चारजनाले रोजगारी पाएका छन्। परिवारका सबै सदस्य पनि काममा उत्तिकै खट्छौँ। दैनिक डेढ सय लिटर दूध उत्पादन हुन्छ। कालिकानगरमा आफ्नै गैरे दूध डेरी सञ्चालन गरेको छु। हरेक दिन बिहान दुध किन्न ग्राहकको ससानो मेला नै लाग्छ। आफ्नै भाँडो लिएर आउने ग्राहकलाई प्रतिलिटर ४८ रुपैयाँमा दिन्छु, अरूसँग प्लास्टिकको दुई रुपैयाँसमेत गरी ५० रुपैयाँ लिन्छु। दही र पनिर पनि बनाएर बेच्छु।

मासिक दुई लाख रुपैयाँभन्दा बढीको कारोबार हुन्छ। २५ प्रतिशत खुद नाफा हुन्छ। मेरो यो फर्म लुम्बिनी अञ्चलमै सबैभन्दा ठूलो हो भन्ने लाग्छ। यसैको कमाइले भाइलाई एमएसम्म पढाएँ। चारवटी बहिनीलाई पनि बीएसम्म पढाएँ। छोरो यहाँको प्रतिष्ठित विद्यालयमा पढिरहेको छ। पाँचवटी बहिनीको राम्रैसँग विवाह गरिदिएँ। बुवाआमाको पनि राम्रोसँग सेवा गरेको छु। सबै परिवार खुसी र सुखी छन्। सामाजिक प्रतिष्ठा पनि बढेको छ। दैनिक चारपाँचवटा भन्दा बढी समूह अवलोकनका लागि आउँछन्। भीडले काममा समेत व्यवधान गर्छ। समस्याका कुरा गरिसाध्य छैनन्।

आधुनिक ढंगले पशुपालन गर्न सुविधा र प्रोत्साहन छैन। परम्परागत ढंगले गरिरहेको छु। गुणस्तरीय दाना र घाँस पाइँदैन। पशु चिकित्सक पनि पाइँदैन। पशुमा बढी लाग्ने रोग माटे हो। यो रोग लागेमा गोबर परीक्षण गराउन २१ किलोमिटर टाढा भैरहवास्थित जिल्ला पशुसेवा कार्यालयमा पुग्नुपर्छ। लागेको शुल्क दिन्छु भन्दा पनि चिकित्सक पाइँदैन। तालिमको अवसर पनि पाएको छैन। काम गर्ने जोसजाँगर छ तर प्रोत्साहन छैन। बैंकहरूले किसानलाई अन्य व्यवसायमा भन्दा बढी १८ प्रतिशत ब्याज लिएर ऋण दिन्छन्।

बैंकले कृषिमा जोखिम छ भन्दै लगानी गर्न आनाकानी गर्ने गरेकाले सहकारीतिर लागेको छु। मेरो धितो राख्ने सम्पत्ति धेरै छैन। फाइनान्सको समस्या छ। हिम्मतले मात्र अगाडि बढेको हुँ। गैरेले कमायो भनेर डाह गर्नेहरू उत्तिकै छन्। त्यसैले मैले कमीकमजोरी र त्रुटि गर्दिनँ। प्रेरणा दिनेहरू पनि उत्तिकै भएकाले व्यवसायमा टिक्न सकेको हुँ। दुस्ख र समस्याका कुरा भनिसाध्य छैनन्। काममा यति व्यस्त हुनुपर्छ कि व्यक्तिगत र सामाजिक जीवन नै हुँदैन।

छिमेकमा कसैको मृत्यु हुँदा मलामी जान पनि पाइँदैन। चाडबाडमा सहयोगीहरू घर जाने भएकाले आफूले राम्रोसँग चाडबाड मान्नसमेत पाइँदैन। बिहानदेखि साँझसम्म व्यस्त रहनुपर्छ। बिरामी पर्दासमेत औषधि खाएर काम गर्नुपर्छ। यिनै कठिनाइले गर्दा पशुपालनमा लामो समयसम्म कोही टिक्दैन। लामो समय टिकेका नमुनामध्ये म एउटा हुँ जस्तो लाग्छ। विदेश जानुभन्दा यहीं काम गर्नु राम्रो हुन्छ भन्ने उदाहरण पनि हुँ म। मेरो भाइलाई कोरिया जानबाट रोकें। कोरिया गएर मासिक एक लाख कमाउनुभन्दा यहाँ २५ हजार कमाउनु राम्रो हुन्छ भनेर सम्झाएर रोकेको हुँ। एक सयवटा भैंसी पुर्‍याउने र दैनिक पाँच सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने लक्ष्य छ। देशमै व्यक्तिगत लगानीमा सञ्चालित सबैभन्दा ठूलो भैंसी पालन फर्म बनाउने अठोट लिएको छु।

सरकारी निकायबाट सहयोग र प्रोत्साहन मिल्यो भनेमात्र मेरो भावी योजना सफल हुन्छ अन्यथा टिक्नसक्ने छाँट देखेको छैन। सरकारले बजेटमा किसानलाई सुविधाको व्यवस्था गरेको कुरा पत्रपत्रिकामा पढेको छु। हेरौं, व्यवहारमा कार्यान्वयनको अवस्था कस्तो हुन्छ।