नेपालको दूध डेरी क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो परियोजना भित्रिदैं, चीन सरकारको ३२ अर्बको लगानी, वोइंग बिमानबाट चीनबाट १७ हजार गाई ल्याइदैं

This post has already been read 11724 times!

२७ जिल्लामा सञ्चालन,  दैनिक डेढ लाख मेट्रिक टन दूध उत्पादन लक्ष्य

काठमाडौं । नेपालको डेरी क्षेत्रमा कायापलट गर्न चीन सरकारको सहयोगमा मेघा आयोजना सञ्चालनमा आउन लागेको छ । चिनियाँ सरकारको स्वामित्वको कृषि यान्त्रिकरण बिज्ञान प्रतिष्ठान (केम्स) को आर्थिक सहयोगमा ‘नेपालमा डेरीको विकास मार्फत ग्रामिण गरिबी निवारण’ भन्ने आयोजना सञ्चालनमा आउन लागेको हो । चीन सरकारले पहिलो पटक यो आयोजनामार्फत नेपालको कृषि र पशुपन्छी क्षेत्रमा ठूलो लगानी गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको बिशेष आग्रहमा चीनको केम्सले यो आयोजना सञ्चालनमा ल्याउन लागेको हो ।

चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन काउन्सिलको आयोजनामा गत कात्तिक ११ गते सम्पन्न भएको नेपालमा लगानीको सम्भावना बिषयक सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपालको कृषि क्षेत्रमा लगानी लगाउन चीन सरकारसँग आग्रह गरेका थिए । सोही आग्रहअनुसार केम्सका अध्यक्ष वांग वोले उक्त आयोजना सञ्चालनमा ल्याउने घोषणा गरेको हुन ।

केम्सले डेरी क्षेत्रमा केन्द्रित हुने गरी तीन बर्षका लागि आयोजना कार्यान्वयनमा ल्याउदैछ । दुई चरणमा सञ्चालन हुने कार्यक्रमका लागि करिब ३२ अर्ब रुपैयाँ छुट्टयाइएको छ । यसअनुसार पहिलो चरणमा १७ अर्ब ९६ करोड र दोश्रो चरणमा १४ अर्ब तीन करोड ९८ लाख रुपैयाँ छुट्टयाइएको छ । सरकारी सहकारी निजी साझेदारी अवधारणा अन्तर्गत २७ वटा जिल्लामा श्रोत केन्द्र स्थापना गरी यो आयोजना सञ्चालनमा आउन लागेको छ ।

केम्सका प्रवन्धक जेरी यांगकाअनुसार यसअनुसार इलाम, झापा, मोरंग, उदयपुर, महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, बारा, मकवानपुर, चितवन, नुवाकोट, गोरखामा श्रोत केन्द्र स्थापना हुनेछ । यसैगरी लम्जुंग, तनहुँ, कास्की, रोल्पा, रुकुम, जुम्ला, रुपन्देही, दांग, बाँके, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लामा पनि श्रोत केन्द्र स्थापना गरिनेछ । चीन सरकारले यो आयोजनाको सञ्चालनको जिम्मेबारी राष्ट्रिय दुग्ध विकास बोर्डलाई दिएको छ । आयोजनामार्फत ३० हजार जनालाई रोजगारी उपलब्ध गराउने योजना पनि छ । आयोजनाले बाछी जन्माउनेदेखि दूध उत्पादन, दूध प्रशोधन, पाउडर दूध उत्पादनका साथै घाँसमा आधारित दाना कारखाना र मल उत्पादनसम्मको काम स्वचालित उपकरण र अत्याधुनिक कारखानाको सहयोगमा गर्ने योजना तयार पारेको छ ।

बिज्ञहरुका अनुसार यो आयोजना कार्यान्वयनमा आयो भने नेपालको डेरी क्षेत्रको कायापलट हुने सम्भव छ । आयोजना सञ्चालन बिषयमा राष्ट्रिय दुग्ध विकास बोर्डका अध्यक्ष कैलाशप्रसाद ढुँगेल र केम्सका अध्यक्ष वांग वोबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । ‘अब दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर गर्न बाँकी छ’, बोर्डका अध्यक्ष ढुँगेलले भन्नुभयो,‘निर्वाचन सके लगक्तै आवश्यक तयारी सकेर समझदारी पत्रमा हस्ताक्षर गर्ने योजना छ ।’ सहमतिपत्रअनुसार केम्सले सुझावसहितको सम्भाव्यता अध्ययनको प्रतिवेदनसमेत बोर्डमा बुझाइएको छ ।

पशुपंछी मन्त्रालयका प्रवक्ता श्याम पौडेलले नेपालको डेरी क्षेत्रमा पहिलो पटक ठूलो लगानीको आयोजना प्रवेश गरेको जानकारी दिनुभयो । उहाँले यो आयोजनाका कारण मुलुकमा दूधमा आत्मनिर्भर बन्नुका साथै अन्तर्राष्ट्रिय स्तरको दूध र दुग्धजन्य पदार्थ निर्यात गर्ने लक्ष्य राखिएको छ । ‘यो आयोजनाको अर्को महत्वपूर्ण पक्ष भनेको सोझै किसानको खेतवारीसम्म लगानी छ’, पौडेलले भन्नुभयो,‘चीन र अमेरिकामा प्रयोग हुने उच्च प्रविधियुक्त स्वचालित यान्त्रिकरणको सहयोगमा श्रोत केन्द्र र कारखानाहरु निर्माण गर्ने व्यवस्था चिन सरकारले गरेको छ ।’

केम्सका प्रवन्धक जेरी यांगकाअनुसार यो आयोजनामार्फत उत्पादन हुने न्युन लागत मूल्यको दूध निजी क्षेत्रका डेरी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डिडिसी) ले समेत खरिद गर्न पाउने व्यवस्था गरिएको छ । यो आयोजनामार्फत हालसम्म नेपालमा प्रयोगमा नआएको युएचटी(उच्च तापक्रम प्रशोधन प्रक्रिया) प्रविधिको पनि दूध उत्पादन गर्ने लक्ष्य राखेको छ । डिडिसीले गत बर्ष नै यही प्रविधिको दूध उत्पादन गर्ने आवश्यक प्रक्रिया सुरु गरेपनि सरकारबाट आर्थिक सहयोग नपाउँदा उक्त योजना थन्किएको थियो । युएचटी प्रविधिको दूध तीन महिनासम्म उपभोगमा ल्याउने मिल्ने बिशेषताको हुन्छ । डेरी व्हाइटर दूध पनि उत्पादन गरिनेछ ।

चीनबाट १७ हजार होलेस्टिन फ्रिजियन गाई

आयोजनाअन्तर्गत चिन सरकारले होलेस्टिन फ्रिजियन जातको पहिलो चरणमा आठ हजार र दोश्रो चरणमा नौं हजार गरी १७ हजार गाई उपलब्ध गराउने छ । उच्च मात्रामा पौष्टिक तत्व भएको दूध प्रति दिन ३० लिटर दिने बिशेषता भएको यो गाई छ । यो गाईलाई बोइंग बिमानबाट ढुवानी गरेर नेपाल ल्याइनेछ । एक पटकमा चार सय थान गाईलाई बोइंग बिमानमार्फत ढुवानी गर्ने व्यवस्था गरिएको छ । ढुवानी खर्चसहित एउटा गाईको लागत मूल्य चार लाख नेपाली रुपैयाँ पर्छ ।

चार प्रकारको दूध र दुई प्रकारको मल

आयोजनाअन्तर्गत युएचटी, पाश्चाराइजर, फ्लेवर र होल पाउडर गरी चार प्रकारको दूध र अर्गानिक र झोल गरी दुई प्रकारमा मल उत्पादन पनि गरिनेछ । पहिलो चरण र दोश्रो चरणमा गरी चार प्रकारको दूध तर्फ गरी एक लाख ५३ हजार नौं सय ४३ मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसअनुसार पहिलो चरणमा युटिएच दूध आठ हजार सात सय ६०, पाश्चाराइजर दूध २१ हजार नौं सय, फ्लेवर दूध नौं सय ७३ र होल पाउडर दूध २९ हजार ६ सय ९० मेट्रिक टन उत्पादन हुनेछ । त्यस्तै दोश्रो चरणमा युएचटी २६ हजार दुई सय ८०, फ्लेवर ३२ हजार आठ सय ५०, पाश्चाराइजर ३२ हजार एक सय ५० र होल पाउडर दूध एक हजार तीन सय ४० मेट्रिक टन उत्पादन हुनेछ ।

आयोजना अन्तर्गत नै पहिलो चरण र दोश्रो चरणमा गरी चार लाख ५३ हजार तीन सय ३० मेट्रिक टन अर्गानिक र ६ लाख १६ हजार पाँच सय ६० मेट्रिक टन झोल मल उत्पादन गरिनेछ । त्यस्तै पहिलो र दोश्रो चरणमा गरी आठ हजार नौं सय थान बाछी जन्माइनेछ ।

तीन प्रकारको श्रोत केन्द्र

आयोजनाले दुई सय थान गाई अटाउने गरी २५ वटा, पाँच सय थान गाई अटाउने १६ वटा र एक हजार थान गाई अटाउने चार वटा गरी कूल ४१ वटा श्रोत केन्द्र निर्माण गरिनेछ । यो श्रोत केन्द्रमा दूध दूहने र दूध प्रशोधन गर्न स्वचालित उपकरणको प्रयोग हुनेछ । यस्तै एक वटा बाछाबाच्छी जन्माउने केन्द्र, किसानलाई गाईपालनदेखि दूध प्रशोधनसम्मको जानकारी दिन एक वटा तालिम केन्द्र स्थापना हुनेछ ।

दाना, मल र दूधको १० कारखाना
आयोजनाले दुई वटा दूध प्रशोधन कारखाना र तीनवटा पाउडर दूध कारखाना, दुई वटा गाईलाई खुवाउने दाना कारखाना, तीन वटा मल बनाउने कारखाना पनि यो निर्माण गर्नेछ ।
-अन्नपूर्ण पोष्ट