स्थानीय तह निर्वाचन : तीन प्रदेशको ३४ जिल्लामा ७३ प्रतिशत मतदान

This post has already been read 148 times!

केही स्थानमा मतगणना सुरु, केही स्थानमा आज सुरु हुने, तीन स्थानमा स्थगित

न्युज एग्रो डटकम। काठमाडौं

पहिलो चरणअन्तर्गत तीन प्रदेशमा आइतबार भएको स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मत खसेको छ । २० वर्षपछि नागरिकले आफ्नो घरदैलोको सरकार छान्न मतदानमा उत्साहजनक सहभागिता जनाएका छन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८१ स्थानीय तहमा पहिलो चरणमा मतदान भएको हो । दुई वटा तहमा यसअघि नै प्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका थिए । आइतबार दोलखा, काभ्रे र कालिकोटका एकएक स्थानमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार तीनै प्रदेशमा ७३ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी भक्तपुरमा ८३ प्रतिशत मत खसेको छ भने रसुवामा ८२ प्रतिशत मत खसेको छ । काठमाडौंमा ७५.५ प्रतिशत मत खसेको छ भने ललितपुरमा ७९.७६ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मनाङमा ५३ प्रतिशत, म्याग्दीमा ६८ प्रतिशत र तनहुँमा ६९ प्रतिशत मत खसेको छ । दोस्रो संविधानसभा निर्वाचनमा ७९ प्रतिशत मत खसेको थियो । निर्वाचन आयोगका अधिकारीहरू आयोगले प्रारम्भिक विवरण संकलन गरेको र देशभर मतदान भएपछि मात्र एकिन तथ्यांक सार्वजनिक गर्न सकिने बताउँछन् ।

आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरे पनि बिहानैदेखि मतदान केन्द्रमा मतदाताको भीड लागिसकेको थियो । युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक मतदानमा सहभागिता जनाएको निर्वाचन आयोगले उल्लेख गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणमा जनताको उत्साहले जेठ ३१ गते निर्धारित दोस्रो चरणको निर्वाचनमा सहभागी हुन मतदातालाई उत्साहित बनाउने विश्वास व्यक्त गर्नुुभएको छ । ‘केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा मतदानकार्य सम्पन्न भएको छ’, प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘मतदाताले लोकतान्त्रिक अभ्यासमा देखाएको यस व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा प्रमुख-उपप्रमुखसहित वडाध्यक्ष, महिला वडाध्यक्ष, दलित महिला वडाध्यक्ष र खुला महिला वडाध्यक्ष निर्वाचनका लागि मतदान भएको हो । पहिलो चरणबाट नगरप्रमुख-अध्यक्ष २८३, उपप्रमुख वा उपाध्यक्ष २८३, वडाध्यक्ष २,५९८, महिला वडा सदस्य २,५९८, दलित महिला वडा सदस्य २,५९८ र खुला ५,१९६ सदस्य निर्वाचित हुनेछन् । प्रमुख वा अध्यक्षमा १ हजार ७ सय २३ पुरुष र १ सय ५७ महिला उम्मेदवार छन् । उपप्रमुखमा भने महिलाको संख्या निकै बढी छ ।

उपप्रमुख वा उपाध्यक्ष पुरुष २ सय ५७ र महिला १ हजार १ सय २७ उम्मेदवार छन् । वडाध्यक्ष पुरुष १ हजार २ सय ९६ जना र महिला ४ सय ४८ जना उम्मेदवार छन् । पहिलो चरणको निर्वाचनमा कुल मतदाता ४९ लाख ५६ हजार ९२५ रहेकोमा ६ हजार ६ सय ४२ मतदान केन्द्र थिए । २८३ स्थानीय तहअन्तर्गत मनाङ जिल्लाको नारपूm गाउँपालिका र डोल्पा जिल्लाको शेफोक्सुन्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेको थियो ।

मतदान कार्यपछि सबै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याइएका छन् । हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न आयोगले हेलिकोप्टरको व्यवस्था गरेको थियो । मतदानकार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणनाप्रक्रिया अगाडि बढाइने छ ।

काठमाडौं महानगरपालिकालगायत कतिपय स्थानमा आइतबार रातिबाटै मतगणना सुरु हुँदैछ । तीनवटा मतदान केन्द्रमा मतदानकार्य स्थगित भएको आयोगले जनाएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ को मतदान केन्द्र र कालीकोटको कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदानकार्य स्थगित भएको आयोगले जनाएको छ । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीको कारबाहीमा एकजनाको निधन भएको र त्यस केन्द्रको मतदानकार्य पनि स्थगित भएको आयोगले जनाएको छ ।

मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगलाई सहयोग पुगेको जनाइएको छ । मतपत्र ठूलो हुनु, छोटो समयमा तयारी गर्नु, मतदाता शिक्षा प्रदान गर्न समय कम हुनु, बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योलबीच भएको तयारीप्रति आयोगले सन्तोष व्यक्त गरेको जानकारी प्रमुख आयुक्त यादवले दिनुभयो ।

३ केन्द्रमा मतदान स्थगित

स्थानीय तह निर्वाचनका क्रममा अराजक र हिंसात्मक घटनापछि तीनवटा मतदान केन्द्रमा मतदानकार्य स्थगित भएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ को मतदान केन्द्र र कालीकोटको कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदानकार्य स्थगित भएको छ । आयोगका अनुसार दोलखा जिल्लाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षार्थ सुरक्षाकर्मीको कारबाहीमा एकजनाको निधन भएको छ । उक्त केन्द्रको मतदानकार्य पनि स्थगित भएको छ । ती मतदान केन्द्रहरूमा निर्वाचनको नयाँ मिति तोक्ने जनाइएको छ ।

२ तहमा निर्विरोध

मनाङ जिल्लाको नारफू गाउँपालिका र डोल्पा जिल्लाको शेफोक्सुन्डो गाउँपालिकामा उम्मेदवारहरू निर्विरोध निर्वाचन भइसकेको आयोगले जनाएको छ । दुई तहमा जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकाले ती स्थानमा मतदान भएन ।

काठमाडौं, पोखरा र भरतपुरको मतगणना आज, ललितपुरमा सुरु
तीनवटा महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता सोमबार बिहानदेखि शुरु हुँदैछ । ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको छ ।

आइतबार बिहान साढे ५ बजेसम्मको नतिजा अनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११० मतसहित अग्रस्थानमा छन् भने दोस्रोमा हरिकृष्ण व्यञ्जनकारको ७८ र तेस्रोमा माओवादी केन्द्रका दिनेश महर्जनको २८ मत खसेको छ ।

काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि आइतबार रातिदेखि नै मतगणना सुरु भएको छ ।
मनाङ, रुकुम, जुम्ला, नवलपरासी आदि जिल्लामा केही स्थानीय तहमा पनि राति देखि नै मतगणना सुरु भएको छ ।

एमालेका तीन कार्यकर्ता घाइते, धादिङमा कांग्रेस-एमाले झडप

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा एमालेका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा आइसकेको भन्दै कांग्रेसका कार्यकर्ताले गएराति आक्रमण गरेको एमाले कार्यकर्ता भिमबहादुर थापाले जनाएका छन् ।

कांग्रेसको वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर थापा मगरको नेतृत्वको टोलीले गरेको आक्रमणमा परि एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगरलाई गम्भीर घाइते भएका छन् । झडपका क्रममा कांग्रेस कार्यकर्ता मिलन भन्ने धनबहादुर मगर पनि घाइते छन् ।

घाइतेहरुलाई हिजैराति धादिङ बेसीबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको छ । कांग्रेस कार्यकर्ताले खुकुरी, रड, तरबार जस्ता घरेलु हतियार प्रयोग गरी आक्रमण गरेको पीडितले बताएका छन् ।

मतपत्रले धुरुक्कै बनायो

ललितपुर महानगरपालिका १३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न अम्बिका सेढाईं आइतबार बिहान पंक्तिमा उभिन सबेरै पुग्नुभयो । चाँडै भोट हालेर फर्कने उहाँको योजना थियो । उहाँले सोचेभन्दा निकै छिटो मतदान गरेर निस्किनुभयो । तर मतपत्र हातमा लिएपछि भने आफूलाई दिक्क भएको उहाँले सुनाउनुभयो ।

‘त्यति ठूलो मतपत्र र त्यति धेरै चुनावचिह्न । आफूले भोट हाल्ने चुनावचिह्न खोज्न नै समय लाग्यो’, मतदान गरेपछि सेढार्इंले आफ्नो अनुभव सुनाउनुभयो । यस्तै अनुभव त्यहाँ मतदान गर्न आउनुभएका तुलसी काप्रीको पनि थियो । उहाँले भन्नुभयो, ‘हामीलाई त यति अप्ठेरो हुन्छ भने अनपढ र बुढाबुढीलाई कति कठिन होला ।’

निर्वाचन आयोगले मतदान शिक्षा समयमा दिन नसक्दा र चुनावचिह्न धेरै हुँदा मतदातालाई मतदान गर्न कठिन भएको थियो । नागार्जुन नगरपालिका ७ रामकोटस्थित रत्नराज्य माध्यमिक विद्यालयमा मतदान गर्न पुग्नुभएका हरि पौडेल पनि मतदान गरेपछि द्विविधामा देखिनुहन्थ्यो ।

‘यहाँ आएपछि मतपत्रसम्बन्धी ज्ञान हुनैपर्ने रहेछ भन्ने लाग्यो । कसैले यसरी हाल्नुपर्छ, यसरी पट्ट्याउनुपर्छ भनेर पनि सिकाएन’, हरिले भन्नुभयो । मतदाता शिक्षाको अभावमा खसेका मतमा अनुमान गरिएभन्दा बढी मत बदर हुन सक्ने सम्भावना छ ।

मध्यपुरठिमी नगरपालिका ३ कौशलटारस्थित जनकल्याण माविमा मतदान गर्नुभएकी कमला गौतमले आकाशमा तारा गनेजस्तो चुनावचिह्न हेरेर मतदान गर्नुपरेको अनुभव सुनाउनुभयो । ‘धेरै वर्षपछि भोट हाल्न पाउँदा खुसी लाग्योु, कमलाले भन्नुभयो, ‘तर मत हाल्न आकाशमा तारा गनेजस्तो गरी चुनावचिह्न खोज्नुपर्‍यो । केही पार्टीका उम्मेदवार र केही व्यक्ति छानेर हाल्नुपर्दा चुनावचिह्न खोज्न समय लाग्यो ।’

स्थानीय स्तरमा स्वतन्त्र उम्मेदवारको संख्या धेरै हुँदा मतपत्रमा चुनावचिह्न धेरै हुने गरेका छन् । निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेको बताए पनि प्रभावकारी देखिएन । ‘मैले यसभन्दा अघि धेरैपटक स्थानीय र राष्ट्रिय निर्वाचनमा मत हालेको छु तर यसपटक जस्तो अप्ठ्यारो कहिल्यै भएको थिएन’, ललितपुरको कृष्णमन्दिरस्थित आदर्श कन्या मतदान केन्द्रमा मतदान गरेर निस्किँदै गर्नुभएका रामकृष्ण महर्जनले भन्नुभयो ।