तीन प्रदेशको ३४ जिल्लामा आज मतदान सुरु, २ सय ८३ स्थानीय तहका लागि ५० हजार उम्मेदवार चुनावी मैदानमा

यो समाचार 369 पटक पढिएको

स्थानीय तहको पहिलो चरणको निर्वाचन

काठमाडौं । २० वर्षको अन्तरालपछि आइतबार स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान सुरु भएको छ । निर्बाचन बिहान ७ बजेदेखि सुरु भएको छ । स्थानीय तहको निर्बाचन नहुँदा स्थानीय तह जनप्रतिनिधि विहिन छ । पहिलो चरण अन्तर्गत तीन वटा प्रदेशको ३४ वटा जिल्लामा निर्बाचन भइरहेको छ ।

सरकारले निर्वाचन आयोगसँगको समन्वयमा पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहका लागि मतदान गर्दै छ । २०५४ सालमा भएको स्थानीय निर्बाचनपछि राजनीतिक अस्थायित्वकाा कारण २० वर्षसम्म निर्बाचन हुन सकेको थिएन । १३ हजार ५ सय ६५ पदका लागि झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा ओर्लेका छन् ।

जनयुद्ध, जनआन्दोलनपछिको उपलब्धि गणतन्त्र स्थापना, संविधानसभा निर्वाचन र सोही संविधानसभाबाट जारी नयाँ संविधानमा भएको व्यवस्था अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा पहिलो पटक संविधानमा भएको व्यवस्था अनुसार ठूलो संख्यामा महिला र दलित जनप्रतिनिधि छनोट हुँदै छन् । निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई तोकेको छ ।

गृहमन्त्रालयका अनुसार प्रदेश नम्बर ३, ४ र ६ को निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरि ६९ हजार ५ सय ५७ सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षामा नेपाली सेना समेत परिचालन गरिएको छ । सेना भने ब्याक फोर्सका रुपमा बाहिरि घेरामा हुनेछन्।

यसरी गरे शिर्ष नेताले मतको प्रयोग

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ७ बजे चितवनको लंकु मतदान केन्द्रमा पुगेर सपरिबार मतदान गरेका थिए । मतदानको क्रममा प्रचण्ड निकै हषिर्त मुद्रामा देखिएका थिए । प्रचण्डले जस्तै विभिन्न दलका शीर्ष नेताहरुले विभिन्न जिल्लाबाट मतदानमा सहभागिता जनाएका छन् । केही नेताहरुले भोट खसालिसकेका छन् भने कोही नेताहरु मतदानको तयारीमा छन् ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन् । पूर्वप्रधानन्यायाधीश एवम् मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ स्थित सत्यवती मावि र महामन्त्री डा। शशांक कोइरालाले काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्र्रबाट मतदान गरेका छन् ।  पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नम्बर ८ स्थित जौबारी मतदान केन्द्रबाट मत दिँदैछन् । एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मत हाल्दै छन् ।यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ बाट मतदान गरेका छन् ।

पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रबाट र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्दैछन् ।