कोदोबालीको विकासको लागी योजना

यो समाचार 178 पटक पढिएको

 गोरखा, ३० पुस । जिल्ला कृषि विकास कार्यालय गोरखाले कोदोबालीको विकासको लागी योजना बनाएको छ । स्थानिय जातका विउ हराउदै गएकाले यसको संरक्षणका लागी कार्यालयले योजना बनाएको बरीष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोईरालाले जानकारी दिए ।

मुख्य खाद्यान्न बालीको तेस्रो स्थान लिएको कोदोको उत्पादन बढाउन तथा खाद्यान्न संकट टार्नका लागी पनि यो कार्यक्रम लागु गरीने उनको भनाई छ । कार्यालयले कोदो बालीको विकासका लागी चालु आर्थिक बर्षमा २ लाख ९२ हजार रुपैयाको कार्यक्रम गर्ने योजना बनाएको हो । जस अन्तरगत किसानलाई उन्नत जातका कोदोका विउ वितरण गर्ने, तालीम तथा औजार उपलब्ध गराउने र नयाँ विउ उत्पादन गर्ने कार्यक्रम तयार पारीएको छ ।

कोईरालाले भने “ किसानलाई किट वितरण गर्छौ । सामान्यतया ५० रुपैया बराबरको एक किट ।  एक किटमा आधा केजी कोदोको विउ हुन्छ । यसले आधा रोपनी क्षेत्रफलमा रोप्न पुग्छ । नयाँ विउ उत्पादन गर्न सकीने ठाउँको पनि खोजी गर्दैछौ ।” पुरानो विउ छर्दा राम्रो उत्पादन लिन नसकीने कोइरालाले जानकारी दिए । उनले भने “विउ उत्पादन गर्न सके किसान – किसानको माध्यमबाट नैै फैलाउन सकीन्छ । हामीले यसको तयारी गर्दैछौ ।”

जिल्लाको सबै ठाउँमा कोदो उत्पादन भएपनि  खेती गर्ने मानिस नभएकाले यो बाली त्यति फस्टाउन नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो बर्ष ११ हजार ६ सय ५ हेक्टरमा कोदोखेती भएकोमा १३ हजार मेट्रिक टन उत्पादन भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :