यस्तो छ, काँग्रेस र राप्रपाको घोषणापत्रमा कृषिको मुद्दा

यो समाचार 941 पटक पढिएको

काठमाडौं । आसन्न स्थानीय निर्वाचन नजिकिदैं गर्दा बर्षभरी कृषिको क भनेर उच्चारण गर्न नमान्ने राजनीतिक दलहरु किसानको मत तान्न अहिले विभिन्न प्रकारको प्रलोभनसहितको मुद्दा समावेश गरी घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । पछिल्लो समयमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातान्त्रिक पार्टीले यस्तो घोषणा पत्र सार्वजनिक गरेका छन् । पछिल्लो समयमा कृषि अभियन्ता, बिज्ञ र किसानहरुले कृषिसम्बन्धी मुद्दा समावेश नगर्ने राजनीतिक दलका उम्मेदबारलाई मतदान नगर्न आग्रह गरिरहँदा नेपाली काँग्रेस र राप्रपाले कृषिको मुद्दा समावेश गरेको घोषणापत्र सार्वजनिक गरेको हो ।

नेपाली काँग्रेसको मुद्दा, कृषिमा आधुनिकीकरण

नेपाली काँगे्रसले स्थानीय तहमा उद्यमशीलताको लहर ल्याउन युवाको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र पर्यटकीय गतिविधिको विस्तारमा कांग्रेसले जोड दिनेछ । साथै, उन्नत बिउ, कर्जा, बिमा, वैकल्पिक ऊर्जा, साना जलविद्युत् र सिँचाइ आयोजनामार्फत उत्पादकत्व बढाइने भन्ने आफ्नो मुद्दा घोषणा पत्रमा उल्लेख गरेको छ ।

कांग्रेसको स्थानीय सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धिमा विशेष जोड दिनेछ । ‘जल, जमिन, जंगल, जडीबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधारु भन्ने नारासहित स्थानीय सरकारले प्राकृतिक स्रोत साधनको व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता बढाउनेछ । खेतीपाती र पशुपालनका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा लगानीका लागि सुलभ ऋणको व्यवस्था स्थानीय सरकारले नै मिलाउनेछ ।

स्थानीय सरकारले कृषिबाली एवं पशुधन बिमा कार्यलाई व्यापक प्रोत्साहित गर्नेछ । कृषि बाली तथा पशुबिमा कार्यक्रममा सहभागी हुन स्थानीय सरकारले किसान क्लब गठन गर्नेछ । प्रत्येक गाउँपालिकामा कृषि सामग्री बिउ, मल, नश्ल सुधार, विषादी, औषधिको सहज आपूर्तिका लागि सुपथ कृषि सामग्री पसल सञ्चालन गरिनेछ ।

राप्रपाको गाउँपालिकादेखि नगरपालिकासम्म गौं पालन
राष्ट्रिय प्रजातन्त्र पाटीले कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकिकरण र यान्त्रिकरणका लागि प्रत्येक गांउपालिका र नगरपालिकामा बिशिष्ठताको आधारमा कृषि क्षेत्र बिकास योजना कार्यान्वन गरिने उल्लेख गरेको छ ।

गांउपालिका र नगरपालिकाको संभाव्यता अध्ययन गरि एक गांउ-एक नगर एक उत्पादन अभियान कार्यक्रम संचालन गर्ने मुद्दा उठाएको छ । संगठित र संस्थागत कृषि व्यावसायलाई प्रोत्साहन गर्ने भन्दै राप्रपाले उत्पादकत्व अभिबृद्धिका लागि साना सिंचाई योजनाहरु कार्यान्वयनमा ल्याइने घोषणा गरेको छ ।

हरेक प्रत्येक गांउपालिक र नगरपालिकामा कृषि उत्पादन बिक्रि वितरणमा सहयोग पुग्ने गरि कम्तिमा एक स्थानमा हाटबजार स्थापना गर्ने उल्लेख गरेको छ । गांउ र नगरपालिका क्षेत्रमा अर्गानिक कृषिलाई प्रोत्साहित गर्ने भन्दै गांउ र नगरपालिकामा गौं पालनलाई व्यापक रुपले प्रोत्साहित गरिने तथा व्यावसायिक रुपमा गौं पालन गर्नेलाई स्थानीय कर मिनाहा, नि शुल्क पशुविमा र सहुलियतमा ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

यस्तै व्यावसायिक रुपमा पशुपंक्षी र कुखुरा पालक किसानहरुलाई समेत उक्त सुविधा उपलब्ध गराउने राप्रपाले जनाएको छ । गाउंं र नगरपालिकामा सहकारीको माध्यमबाट ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्ने तथा स्थानियस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने पनि योजना राप्रपाले ल्याएको छ ।