सोराभागको झिँगा आतंकले गाउँनै विस्थापित हुने अवस्था

यो समाचार 1651 पटक पढिएको

गाउँमा आउनै छाडे पाहुना

विराटनगर । गाउँभरि भनभनी झिँगा भन्किइरहेका हुन्छन् । खानेकुरादेखि लिएर सबै थोकमा झिँगाको गोलो हुन्छ । खाना बनाएर खान सक्ने अवस्था छैन । खाना बनाए पनि झुलभित्र बसेर खानुपर्ने बाध्यता छ । मोरङको सोराभाग ९ पुग्ने जोकोही पनि त्यहाँको झिँगा आतंक देख्दा अचम्ममा पर्ने गरेका छन् । झिँगाकै कारण गाउँमा पाहुना पनि आउन छाडेका छन् । कोही पाहुना आए पनि खाना नखाई फर्कन्छन्।

एक वर्षदेखिको झिँगा आतंकका कारण स्थानीय बासिन्दा आजित भएका छन् ।सोराभाग ९ बेतौनास्थित विराट पोल्ट्री फर्मको दुर्गन्धका कारण गाउँमा झिँगा आतंक फैलिएको हो । फर्मले दुर्गन्ध र झिँगा नियन्त्रणमा चासो नदिँदा स्थानीय बासिन्दा विस्थापित हुनुपर्ने अवस्था आएको विराट पोल्ट्री फर्म वातारण प्रदूषण तथा झिँगा उन्मूलन संघर्ष समितिकी सचिव इन्दिरा उप्रेतीले बताउनुभयो । ‘फर्मका कारण लामो समयदेखि गाउँमा झिँगा आतंक फैलिएको छ । त्यही कारण स्थानीय बासिन्दा विस्थापित हुनुपर्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो, ‘गाउँमा पाहुनासमेत आउन छाडेका छन् । पाहुना आए पनि झिँगा भन्किएका कारण घरमा बनेका केही पनि खानेकुरा नखाई फर्कने गरेका छन् ।’

झिँगा नियन्त्रणका लागि सम्बन्धित पक्षसँग पटकपटक माग गरे पनि सुनुवाइ नगरेको उहाँले बताउनुभयो । ‘झिँगाका कारण चार हजारभनद बढी परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्’, उप्रेतीले भन्नुभयो, ‘खानेकुरा बनायो कि झिँगाको गोलो आएर बसिहाल्छ ।’ पोल्ट्री फर्मले फोहोर र कुखुराको सुलीको उचित व्यवस्थापन नगरेका कारण यस्तो समस्या आएको उहाँले बताउनुभयो ।

गाउँमा झिँगा नियन्त्रणको माग गर्दै गत वर्षको वैशाख ३१ गतेदेखि स्थानीय बासिन्दा पोल्ट्री फर्म अगाडि धर्नामा बसेका छन् । उनीहरूले दैनिक ६ घन्टा धर्ना दिइरहेका छन् । फर्मका कारण उत्पन्न भएको दुर्गन्ध र झिँगाले हैरान बनाएपछि स्थानीय बासिन्दा संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका हुन् । २२ बिघा क्षेत्रफलमा फैलिएको फर्ममा नेपाल प्रहरीका पूर्वएआईजी भीष्म प्रसार्र्इंलगायत १७ जना ‘हाई प्रोफाइल’ भएकाहरूको लगानी छ । स्थानीय बासिन्दाको स्वास्थ्यमा असर पर्ने गरी वातावरण प्रभाव मूल्यांकनसमेत नगरी फर्म सञ्चालित छ ।

झिँगा आतंक मोरङको सोराभागसहित रंगेली, बबियाविर्ता, दर्वेसासमेतका स्थानमा फैलिएको छ । ‘खानेकुरामा झिँगा भन्किन्छ । झिँगा भन्किएका खानेकुरा खाएर धेरैजना बिरामी परिसकेका छन्’ उप्रेतीले भन्नुभयो, ‘घरभित्र खानेकुरा पकाएर खान सक्ने अवस्था नै छैन । खाना पकाइसकेपछि झुलभित्र पसेर खानुको विकल्प छैन ।’   ‘स्थानीय बासिन्दाका घरमा भएका धार्मिक तथा शुभ कार्यहरूमा आउने पाहुनाले खानेकुरासमेत खाइदिँदैनन् । खाउन् पनि कसरी, झिँगा भन्किरहेको हुन्छ,’ सचिव उप्रेतीले भन्नुभयो, ‘पाहुना जति घिन मानेर जान्छन् । झिँगाका कारण गाउँघरमा हुने विवाह, व्रतवन्ध, पूजापाठ, पुराणलगायतका कार्यक्रम प्रभावित भइरहेका छन् ।’ उहाँका अनुसार गाउँमा फैलिएको झिँगा आतंकबारे स्थानीय प्रशासन र सरकारसम्मलाई जानकारी गराए पनि नियन्त्रणका लागि कसैले चासो दिएका छैनन् ।

प्रदूषण र झिँगा नियन्त्रण गर्नुपर्ने वा पोल्ट्री फर्म मानव बस्तीबाट टाढा सार्नुपर्ने स्थानीयको माग छ । समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने चेतावी उनीहरूले दिएका छन् । झिँगाका कारण स्थानीयस्तरका होटेल व्यवसाय पनि चौपट भएका छन् । बेतौनाकी चिया पसल सञ्चालक अविदेवी राजवंशी पसलमा ग्राहाक नै आउन छाडेको बताउनुहुन्छ । उहाँका अनुसार खानेकुरादेखि लिएर सबैतिर झिँगा भन्किएपछि पसलका खानेकुरा खान सबै घिन मान्छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाका अनुसार गाउँमा पोल्ट्री फर्मकै कारण झिँगा फैलिएको निस्कर्ष निकालिएको छ । ‘कसरी स्थानीय बासिन्दालाई झिँगाबाट उन्मुक्ति दिलाउने भन्नेबारे सबै पक्षसँग छलफल भइरहेको छ’, उहाँले भन्नुभयो, ‘केही दिनमै समस्याको समाधान हुनेछ ।’ कोइरालाले घरेलु तथा साना उद्योग कार्यालयलाई समस्या समाधानका लागि उचित पहल थाल्न निर्देशन दिएको बताउनुभयो ।

घरेलुले भने प्रक्रिया पूरा नगरी फर्म खोलिएको जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयकी निमित्त प्रमुख सुशीला श्रेष्ठले विराट पोल्ट्री फर्म विभागमा मात्र दर्ता भएकाले के कसरी दर्ता भयो भन्नेबारे छानबिन भइरहेको बताउनुभयो । फर्म दर्ता गर्न आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्यांकन, पशुपक्षी कार्यालयबाट स्वीकृति, गाविसबाट अनुमति लिनुपर्नेजस्ता धेरै प्रक्रिया पूरा नगरेकाले तुरुन्त गर्न निर्देशन दिइसकिएको उहाँले बताउनुभयो । उहाँले स्थानीय बासिन्दा र पोल्ट्री फर्म सञ्चालकबीच वार्ता गरेर समस्या समाधान गरिने जानकारी दिनुभयो ।

फर्मका प्रवन्धक सदानन्द देवले उद्योग विभागले जे निर्णय गर्छ त्यो आफूहरूलाई मान्य हुने बताउनुभयो । प्रतिक्रिया दिन नचाहनु भएका उहाँले स्थानीय बासिन्दासँगको वार्तामा भन्नुभयो, ‘सरकारी मापदण्ड पूरा गरेर फर्म सञ्चालन गरिएको हो । कसले के भन्छन् र गर्छन भन्दा पनि सरकारको निर्देशन हामीलाई मान्य हुनेछ ।’
-अन्नपूर्ण