जितपुरबासी भन्छन, ‘सरकार ! बाँदरले न खान दियो, न बाँच्नै दियो, न त खेतिपाती नै गर्न दियो ’

यो समाचार 1250 पटक पढिएको

बाँदरका कारण खेत बन्यो सोत्तर, जग्गाहरु बाँझै

काठमाडौं । ‘सरकार ! हिंसक बाँदरले न खेतीपाती गर्न दियो, नत खाद्यान्न नै घरमा रह्न दियो । घरमा पकाएर राखेको खानेकुरासमेत झिकेर खाइदियो । एउटा ज्यान बाँकी थियो, त्यो पनि बाँदरले घेरा हाली चोक्टै लुछेर हिड्न थाल्यो । लौ न अब हामी के गरी बस्ने । बाटो देखाइदिनु प¥यो,’ यो आर्तनाद तारकेश्वर नगरपालिका स्थित वडा नम्बर ३ तिनपिप्ले (साविकको जितपुर) का ९० बर्षीय हेमप्रसाद अर्यालको हो । पछिल्लो समयमा बाँदरको आतंक बढ्दै गएपछि तारकेश्वर नगरपालिकाको वडा नम्बर १ देखि ५ नम्बरका किसानका साथै स्थानीय सर्बसाधारण निक्कै पीडित बनेका छन् । हेमप्रसादकाअनुसार बाँदर आतंकका कारण स्थानीयबासिन्दाले पछिल्लो समयमा किसानहरुले खेत बाँझै राख्न बाध्य भएका छन् । मकै, गहुँ, कोदो, धान, अदुवा, बेसार, पिडालु, बिमिरो, ज्यामिर, निवुवा, कागती, केराउ, वकुल्ला, काउली, वन्दालगायतका तरकारी र फलफूल वाली बाँदरले खाएर सोत्तर बनाउन थालेपछि किसानले खेत बाँझै राख्न बाध्य भएका छन् ।

बाँदरको समूहले गरेको क्षति देखाउंदै स्थानीय किसान

हेमप्रसाद भन्छन,‘खेतमा बीउ छर्न नपाउदै बीउ नै उखेलेर बाँदरले खाइदिन्छ । त्यति मात्रै होइन, बोट उमे्रर फल लागेको झनै बाँदरले हेर्न हुन्न् । फल लाग्यो कि बाँदर खाएर सोत्तर बनाइदिन्छ । अनि के गरी खेतीपाती गर्नु ।’ बाँदरले जिविकोपार्जनमै प्रहार गर्न थालेपछि स्थानीय बासी बस्ती नै सर्ने निश्कर्षमा पुगेको हेमप्रसादको भनाई छ । राष्ट्रिय कृषक समूह महासंघले बिहिबार आयोजना गरेको स्थलगत भ्रमण तथा बाँदर पीडित सुनुवाईमा पीडित किसानहरुले बाँदर आतंकको यस्तो फेहरिस्त सार्वजनिक गरेका हुन् ।

हिंसक बाँदरले खेतिवारी, घर, व्यवसाय र दैनिक जनजिवनमा आक्रमण गर्न थालेपछि स्थानीय निकायको निर्वाचनको माहौल र नयाँ बर्षको रमाइलो वातावरणसमेत प्रभावित बनेको छ ।

स्थानीय रामशरण गजुरेलकाअनुसार बाँदर आतंकका कारण सबैभन्दा बढी वडा नम्बर ३ का बासिन्दा पीडित बनेका छन् । उक्त वडामा बशोबास गर्ने ११ हजार सर्वसाधारण बाँदरको आतंकबाट पीडित बनेका छन् । ‘झन महिला र बालबालिका एक्लै हिड्नै नहुने बनाइसक्यो । एक्लै हिड्यो कि घेरा हालेर मासुको चोक्टा लुछिहाल्छन् । खेतीपातीको कुरै नगरौं ’, उनी भन्छन, ‘बाँदरले गरी पनि खान दिएन् । खेतीपाती सबै सखाप बनाइसक्यो । बाहिरबाट चामल, तरकारी र दाल पनि किनेर खान धौ धौ बनाइदियो । बाँदरले बाटोबाटै खाद्यान्न लुछेर लगिदिन्छ भने घरमा पकाएर लुकाएको खाना पनि खाइदिन्छ । यस्तो अवस्थामा के गरी यहाँ बस्ने । बसाई सराईको विकल्प देखिन ।’ बाँदरका कारण स्थानीय क्षेत्रमा यस पटकको नयाँ बर्षको उमंश, उल्लाश र रमाइलो वातावरण कतै देख्न पाइएन् । बालबालिकादेखि बृद्धबृद्धासम्मलाई २४ घण्टै बाँदर आतंकले पिरलेको छ । स्थानीय निकायको निर्बाचन घोषणा भइसक्दा पनि राजनीतिक दलका स्थानीय नेताहरुलाई पनि बाँदर आतंकबाट कसरी स्थानीय बासिन्दालाई जोगाउने भनेर नै पीडा थपिएको छ ।

बाँदरको समूहको आतंकको बारेमा जानकारी गराउदै स्थानीय किसान, बृद्धिजिवी, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधी ।

बालबालिका र महिला टोल, छर छिमेकमा एक्लै हिडडुल गर्न र पसलबाट सुरक्षित रुपमा सर सामानसमेत खरिद गरी घर ल्याउन नसकेको अवस्थामा पुगेका छन् । बाँदरको आतंकबाट पीडित बनेका स्थानीय बासिन्दा बसाई सराई गर्न सुरसार गर्न थालेका छन् । कृषि कर्मबाट जिविकोपार्जन गर्ने निम्न र मध्यम वर्गीय किसान भोकभोकै मर्नुपर्ने अवस्थामा पुगेको स्थानीय अगुवा, नागरिक समाज, व्यवसायी, किसान अगुवा र बुद्धिजिवीहरुले औल्याएका छन् ।

स्थानीय राधाकृष्ण ढकालकाअनुसार खेतवारीदेखि घरबारीसम्म दुई सयदेखि पाँच सयको संख्यामा बाँदरको हुलले आक्रमण गर्दैआएको छ । यस्तो बाँदरको समूह सात वटासम्म छ । आसामी र रातो जातको बाँदरहरुको आतंक चर्को रुपमा बढेको ढकालले जानकारी दिनुभयो । स्थानीय शिवपुरी नागार्जुन निकुञ्जमा दर्जनौं पटक जानकारी गराउँदा पनि कसैले कुनै चासो नदिएको स्थानीयबासीले गुनासो गरेका छन् । बाँदरका कारण कृषि कर्मबाटै जिविकोपार्जन गर्दैआएका निम्न र मध्यम वर्गीय किसान यतिवेला भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय प्राध्यापक घनश्याम पुडासैनीले जानकारी दिए ।

जितपुरमा खाद्यान्न पसल सञ्चालन गर्नुभएका सुवाष अर्यालले बाँदरको समूहले पसल पनि गर्न नदिएको गुनासो पोखे । पसलमा भएका खाद्यान्न, तरकारी, फलफूल, चामल, दाललगायतका सबै सामग्री लुछेर खाइदिने उनले जानकारी दिए । बाँदरका कारण उहाँको २० रोपनी जग्गा तीन बर्षदेखि बाँझै छ ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रवहादुर श्रेष्ठले बाँदरको आतंक दीर्घकालिन रुपमा समाधान गर्न बन मन्त्रालयसहित प्रधामन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउने आश्वासन दिए ।

बाँदरको समूहको टोकाईबाट घाइते गायत्री देवी । उनको खुट्टामा पाँच स्थानमा बाँदरले टोकेको छ ।

बाँदर आतंकबाट सयौं घाइते
बाँदरले घेरा हालेर जितपुरको दुई सयको संख्यामा स्थानीय किसानहरु घाइते बनेका छन् । खेतवारीमा वाली रेखदेख गर्न जाने किसान, घरमा पसेर, बजारमा किनमेल गर्न जाने सर्वसाधारण, महिला र बालबालिकालाई सयौंको संख्यामा बाँदरले घेरा हाली खुट्टा, अनुहार, तिघ्रा, पाखुरालगायतको स्थानमा टोकेर घाइते बनाएका छन् ।

यस वाहेक स्थानीय ठूली कान्छी घिमिरे, भगिरथ घिमिरे, अकवहादुर तिवारी, अर्जुन अर्याल, जमुना अर्याल, नारायणी अर्याल, रामकृष्ण अर्याल, प्रकाण्ड अर्याल, गायत्री अर्याल, कान्छी गजुरेल, भिमसेन अर्याल, वलराम पुडासैनी, मैया घिमिरे, कल्पना गजुरेललगायतका स्थानीय किसानको मासुको चोक्टा नै लुछेर बाँदरले लगेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले जानकारी दिनुभयो । उहाँले घाइते परिबारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग मागसमेत गर्नुभयो । बाँदरले टोकेर स्थानीयबासिले एक लाख रुपैयाँसम्म उपचारमा खर्च भएको छ । बाँदरले टोकेर घाइते बनाएका स्थानीय बासिन्दाले कुनै निकायबाट क्षतिपूर्ति पाएका छैंनन् ।

बाँदरको टोकाईबाट घाइते बन्नुभएको गायत्री अर्यालकाअनुसार मकै पिन्न मिलमा जाने क्रममा दुईतर्फबाट बाँदरको समूहले घेरा हाली उहाँको खुट्टादेखि तिघ्रासम्म पाँच स्थानमा टोकेको थियो । उहाँ शुक्रराज ट्रपिकल अस्पतालसहित बीर अस्पतालको ट्रमा उपचार गराएर यसै साता घर फर्कनुभएको छ ।

क्षतिपूर्ति खै ?

शिवपुरी नाजाअर्जुन निकुञ्ज अन्तर्गत मध्यवर्ति क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रम ल्याइए पनि पीडित स्थानीय बासिन्दाको मनोभावना अनुसार कार्यक्रम निर्माणभन्दा सिमित कर्मचारीतन्त्रको पोस्ने खालको कार्यक्रम आएको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले आरोप लगाए । उनकाअनुसार प्रभावित क्षेत्रका किसानहरुले क्षतिपूर्ति पाउने अवस्थासमेत छैंन । स्थानीयबासी ढुक्कले जलाधारको प्र्रयोग र अत्यावश्यक वन सम्पदाको प्रयोग गर्न नपाएको अधिकारीले जानकारी दिए । निकुञ्जभित्रका पर्खालको जिर्णौद्धार नहुँदा बर्षेनी आगलागी हुँदा वन क्षेत्र सखाप हुने र वन्यजन्तु मानव वस्तीमै पुगेर सर्वसाधारणलाई आक्रमण गर्दैआएको महासंघले जनाएको छ । बाँदर आतंकका कारण घाइते भएका स्थानीय बासिन्दालाई उपचार गराउन कुनै पनि निकायले चासो नदेखाएको जानकारी दिए ।

बाँदर आतंकसम्बन्धि ज्ञापन पत्र

भरण पोषण गर्न तयार छौं 

स्थानीय किसानहरुले सरकारले बाँदरको आतंक दीर्घकालिन रुपमा समाधान गरिदिए बाँदरलाई खुवाउन आवश्यक पर्ने खाद्यान्नको रुपमा मकैसहित अन्य खाद्यान्न हरेक घरधुरीले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । स्थानीय बासिन्दाले शिवपुरी नागाअर्जुन निकुञ्जमा केज बनाएर बाँदरलाई थुनेर राख्नुपर्ने सुझाव दिएका छन् । केजमा सुरक्षित रुपमा राखेर पाल्दा बाँदरलाई आवश्यक पर्ने खानाका रुपमा खाद्यान्न मासिक वा वार्षिक रुपमा हरेक घरधुरीले उपलब्ध गराउन तयार रहेको प्रतिवद्धता जनाएका छन् ।


भयावह अवस्थाको जिम्मेबारी कस्ले लिने ?

हालै प्रकाशित एक प्रतिवेदनअनुसार पशुपति र स्वयम्भुका ९८ प्रतिशत बाँदरमा एचआईभी पाइएको छ । हालसालै यिनै क्षेत्रबाट ठूलो परिमाणमा उठाइएका बाँदरहरु जितपुर क्षेत्रमा छाडिएको स्थानीय बासिन्दाहरुले बताएका छन् । एचआईभी संक्रमित बाँदरले प्रत्यक्ष रुपमा स्थानीय बासिन्दामा गर्ने आक्रमण र रेबीजलगायतका बाँदरजन्य रोगहरुबाट निम्तने खतराको जिम्मेबारी कस्ले लिने भनेर स्थानीय बस्तीका अगुवाहरुले सरकारसँग प्रश्न गरेका छन् ।

मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले पशुपति स्वयम्भु र अन्य मानव वस्तीमा बाँदरको विगविगी रोक्न र मानव स्वास्थ्यको संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेशसमेत सरकारको दराजमा थन्किएको स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन् ।

बाँदर आतंकसम्बन्धि ज्ञापन पत्र

राजस्वमा कमी

तारकेश्वर नगरपालिकाका वडा नम्बर ३ का वडा सचिब हरिकृष्ण अर्यालले बाँदरका कारण खेतीपाती बन्द हुँदा किसानले जग्गाको मालपोतवापतको राजस्वसमेत तिर्न नसकेको औल्याए । बाँदर आतंक दीर्घकालिन रुपमा समाधान गर्न बन मन्त्रालयको दुई पटकसम्म ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको उनले बताए । उनले भने,‘खेतीपाती वन्द हुँदा नगरपालिकाले किसानबाट राजस्व पनि उठाउन सकेको छैन । जग्गा सबै बाझै भए । नगरपालिकाले कुन मुख लिएर राजस्व असुल्ने ?’

पछिल्लो १० बर्षयता नुवाकोटको ओखरपौवा, जितपुर, धर्मस्थली, गोलढुङ्गा, काभ्रेस्थली र झोर फुटुङ्गसम्म बाँदरको आतंक फैलिएको छ । स्थानीय शिवहरी अर्यालले २०२८ सालमा छाडिएको र भक्तपुरमा पालिएका बाँदर उक्त क्षेत्रमा छाडिएका बाँदरले आतंक मच्चाएको जानकारी दिए ।