नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?

This post has already been read 185 times!

  •  बेथ डनफोर्ड

नेपालको ७० प्रतिशतभन्दा बढी श्रमशक्ति कृषिमा संलग्न रहेको अवस्थामा पनि तीनमध्ये एकजना नेपाली खाद्यान्न असुरक्षाको चपेटामा छन् । नेपालको सम्पूर्ण मुख्य खाद्यान्न बाली उत्पादन अन्तर्राष्ट्रिय औसतभन्दा उल्लेखनीय रूपमा कम छ र हाम्रोसामु एउटा ठूलो प्रश्न छ ः कृषकहरूको उत्पादकत्व र आय अभिवृद्धि गरी गरिबीको दुष्चक्र तोड्न के गर्न सकिन्छ ?

qq

यो प्रश्नलाई सम्बोधन गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपालसँगको ६० वर्षभन्दा लामो साझेदारीलाई आधार बनाई काम गरिरहेको छ । यस क्रममा हामीले विभिन्न नेपाली संस्थाहरू स्थापना गर्न सघायौं, जसको फलस्वरुप कृषि क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । सन् १९८० को उत्तरार्धमा युएसएआईडीको सहयोगमा स्थापना गरिएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) देशको प्राथमिक कृषि अनुसन्धान संस्थाको रूपमा अझै कार्यरत छ । वनविज्ञान अध्ययन संस्थान र कृषि विज्ञान अध्ययन संस्थानले आज पनि अनुसन्धान, सूचना प्रसार र देशको कृषि क्षेत्रमा आवश्यक श्रमशक्तिलाई सम्बोधन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्दै आइरहेका छन् ।

त्यस्तै गरेर युएसएआईडीकै सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको कृषि विभागको रूपमा स्थापित एग्रो इन्टरप्राइज सेन्टरले पनि उच्च मूल्यका तरकारी, चिया तथा कफीका साथै मह र जडिबुटीको तेल लगायत विभिन्न गैरकाष्ठ वनपैदावारको प्रबर्द्धन र व्यापारमा उल्लेखनीय भूमिका खेल्दै आएको छ । यी संस्थाले नेपालको खाद्यान्न आपूर्ति आवश्यकताको परिपूर्ति तथा कृषिलाई व्यावसायिक स्तरमा लैजान बलियो आधारशिला बनाएका छन् । युएसएआईडीको नेतृत्वमा सञ्चालित अमेरिकी सरकारको विश्वव्यापी भोक तथा खाद्य सुरक्षा पहल ‘फिड द फ्युचर’मार्फत हामीले कृषि क्षेत्रको विकासद्वारा पोषणमा सुधार र कृषकहरूलाई गरिबीबाट माथि उकास्न बृहत आर्थिक वृद्धिका लागि आधारशिलाको रूपमा उपयोग गरिरहेका छौं । जलवायु परिवर्तन, द्वन्द्व र गरिबीजस्ता चुनौतीहरूको सामना गरिरहेको बढ्दो जनसंख्यालाई दिगो रूपमा पर्याप्त खाद्यान्न सुनिश्चित गर्न हामी जैविक प्रविधि र केही अवस्थामा आनुवंशिक इन्जिनियरिङ -जीई) लगायत सुरक्षित, प्रमाणित तथा उपयुक्त प्रविधिहरूको प्रयोगका लागि प्रोत्साहन गर्छौं ।

यद्यपि खाद्य सुरक्षाको सुधारका निम्ति जीईको प्रयोग गर्ने वा नगर्ने भन्ने विकल्पको निर्णय हाम्रा साझेदार राष्ट्रहरू आफैले नै गर्ने हो र तत्सम्बन्धी निर्णयले फिड द फ्युचर कार्यक्रमका लागि अनुदान वा युएसएआईडीको सहयोग प्राप्त गर्ने सन्दर्भमा कुनै प्रभाव पार्दैन । कृषकहरूले आफ्नो जमिनको अवस्था हेरी कस्तो बीउ प्रयोग गर्दा उपयुक्त हुन्छ भन्नेबारे विकल्पहरू प्रदान गर्न हामीले नेपाल सरकारलाई सहयोग गर्दै आएका छौं ।

हाल मूलतः तीन प्रकारका बीउ उपलब्ध छन्१) खुला परागसेचन प्रजातिका बीउ -ओपीभी), जुन शताब्दीयौंदेखिको छनोट प्रक्रिया तथा परम्परागत बिरुवा प्रजनन विधिबाट विकास गरिएका उन्नत जातका बीउ हुन्, २) वर्णशंकर बीउ -हाइबि्रड), जुन उच्च उपजका लागि बिरुवा प्रजननकर्ताहरूले परपरागसेचनमार्फत विकास गरेका बीउ हुन् र ३) आनुवंशिक गुण परिवर्तित बीउ -जीई), जुन बीउको जर्मप्लाजममा आनुवंशिक तत्त्व मिसाइ बनाइन्छ । नेपालमा ओपीभी र वर्णशंकर बीउमात्र प्रयोग गरिन्छ । बढ्दो संख्यामा नेपाली किसानहरूले उन्नत ओपीभी र वर्णशंकर जातका बीउहरूको माग गरिरहेका छन्, किनभने तिनीहरूले उच्च उपज, गुणात्मक उत्पादन तथा लाभप्रदता प्रदान गर्छन् ।

केही किसानले आफ्नो माग पुरा गर्न गैरकानुनी रूपमा नेपाल भित्रिएका बीउहरू किनिरहेका छन् । त्यसकारण दर्ता गरिएका उन्नत वर्णशंकर र ओपीभी जातका बीउहरूमा किसानहरूको पहुँच बढाउन युएसएआईडीले फिड द फ्युचर कार्यक्रममार्फत किसानहरूसँग सहकार्य गरिरहेको छ । विदेशबाट नेपालमा आयात हुने बहुराष्ट्रिय कम्पनीबाट उत्पादन हुने वर्णशंकर जातका बीउहरू बीउबिजन ऐननियमको परिधिभित्र रही कृषि अनुसन्धान परिषदबाट परीक्षण गर्दा उपयुक्त ठहरिएमा प्रक्रिया पुरा गरी राष्ट्रिय बीउबिजन समितिबाट दर्ता गरी सूचीकृत गर्ने गरिएको छ ।

यसरी सूचीकृत गरिएका जम्मा ६० बालीका ५५६ जातहरूमध्ये नेपालमै विकास गरिएका २१५ र बहुराष्ट्रिय कम्पनीद्वारा विकास गरिएका ३४१ जातहरू छन् । बहुराष्ट्रिय कम्पनीका ३४१ जातमध्ये धानका १७, मकैका ३२, र तरकारीका २९२ जातहरू छन् । नेपाल सरकार र अन्य विकास साझेदारहरूसँगको सहकार्यमा युएसएआईडीले ओपीभीको विकासमा लगानी गरेको छ । स्वीस विकास नियोगसँगको आर्थिक साझेदारीमा सञ्चालित पहाडी मकै अनुसन्धान परियोजनामार्फत हामीले नेपालका २० दुर्गम पहाडी जिल्लाहरूमा सामुदायिक बीउ उत्पादन समूहहरूको विकासमा सहयोग गरिरहेका छौं । यी समूहहरूले उच्च उत्पादन हुने तथा जलवायु परिवर्तनको प्रभाव थेग्नसक्ने जातका मकैमा नेपाली अनुसन्धान केन्द्रहरूद्वारा सञ्चालित कृषि अनुसन्धानबाट लाभ प्राप्त गरिरहेका छन् ।

पहाडी मकै अनुसन्धान परियोजनाले कृषक समूहहरू आफैले उन्नत बीउका जात उत्पादन गर्न सक्षम बनाई दिगो स्थानीय बीउ बजारको विकासमा टेवा पुर्‍याउँछ । सामुदायिक समूहहरूले बीउ उत्पादनको स्थलगत निरीक्षणदेखि प्रमाणीकरण र उब्जनी व्यवस्थापनसम्मका सबै पक्षबारे तालिम प्राप्त गर्छन् । हालसम्म परियोजनाले २०७ वटा सामुदायिक बीउ उत्पादन समूहहरूको क्षमता अभिवृद्धि गरेको छ, जसमध्ये ३१ वटा सहकारी बन्ने प्रक्रियामा छन् र धेरै अन्य समूहहरू पूर्णरूपमा निजी बीउ कम्पनीसमेत बनिसकेका छन् । यस सहयोगको फलस्वरुप २० जिल्लाले जम्मा ३,००० मेटि्रक टन मकै उत्पादन गरेका छन्, जसबाट करिब १० लाख डलर बराबरको आम्दानी भएको छ ।

सन् २०१० देखि नेपालको राष्ट्रिय मकै उत्पादन ३६ प्रतिशतले बढेको छ । त्यसबाट ग्रामीण घरपरिवारहरूको जीविकोपार्जन र पोषणमा सुधार भएको छ । नेपाल सरकार र अन्य विकास साझेदारहरूले थप बाली विविधीकरण र बृहत्तर राष्ट्रिय प्रभावका लागि यो सफल सामुदायिक बीउ उत्पादन कार्यलाई विस्तार गर्दैछन् । सन् २०१२ मा युएसएआईडीले नेपाल सरकारसँगको साझेदारीमा निजी क्षेत्रमार्फत नेपालको पहिलो व्यापारिक वर्णशंकर बीउको उत्पादनमा सहयोग पुर्‍यायो । वर्णशंकर जातका तरकारीका बीउहरू यो देशमा विगत दुई दसकभन्दा बढी समयदेखि नै प्रयोग हुँदै आएका छन् । अनुमानित ७५ प्रतिशतभन्दा बढी वर्णशंकर बीउबाट फलाइएका टमाटर, काउली, बन्दा, खुर्सानी र काँक्रा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र अन्य राष्ट्रबाट आयातित गरिन्छ । नेपाल सरकारले पनि नार्कमार्फत गौरव नामको स्वदेशी वर्णशंकर मकैको बीउ विकास गर्न सुरु गरेको छ । हालसम्म नार्कले १६ वटा वर्णशंकर जातका बीउहरू उपयोगका लागि वैधानिक रूपमा उपलब्ध गराएको छ ।

प्रमाणित स्थलगत परीक्षण र वषार्ंै लामो परियोजनाको अनुभवले के देखाउँछ भने उन्नत ओपीभी र वर्णशंकर जातका बीउको उपयोगले धेरै कृषकहरूलाई उब्जनी, खाद्य सुरक्षा र मुनाफामा उल्लेख्य वृद्धि गर्ने अवसर प्रदान गर्छन् । बाली उत्पादन वृद्धि भएमा नेपाली कृषकहरूले बजारमा उपलब्ध अवसरहरूको फाइदा लिन सक्नेछन् । मकैकै उदाहरण लिऔं । मकै मुख्य खाद्यबाली र नगदेबाली दुबैको रूपमा अत्यन्त महत्त्वपूर्ण उपभोग्य वस्तु हो । पशु आहार उद्योगलाई हाल करिब २ लाख ७० हजार टन मकै चाहिन्छ, तर नेपालमा त्यसको आधा अर्थात् १ लाख ३५ हजार टनमात्र खरिदको लागि उपलब्ध छ । बाँकी १३५ हजार मेटि्रक टन मकै लगभग रु २० करोड मूल्य तिरेर वर्षेनि आयात हुने गर्छ । त्यसरी हुने आयात नेपाली कृषकका लागि गुमेको अवसर -र विशाल सम्भाव्यता पनि) हो । यसको अलावा उत्पादकत्वमा लामो समयदेखिको गतिहीनतापश्चात् देशले वर्णशंकर बीउ उपयोग गर्न थालेपछि पछिल्लो दसकमा मकैको उत्पादनमा निरन्तर वृद्धि भएको छ ।

लेखक यूएसएआईडी/नेपालका मिसन डाइरेक्टर हुन् ।नेपालको पहिलो र सबैभन्दा लामो समयदेखिको विकास साझेदारका रूपमा युएसएआईडी देशको कृषि क्षेत्रको विकासमा सहयोग गर्न र फस्टाउँदो अर्थतन्त्र सुनिश्चित गर्न प्रतिबद्ध छ । र फिड द फ्युचर कार्यक्रममार्फत यी प्रयासलाई निरन्तर सहयोग गरिरहनेछ । देशको आवश्यकता पुरा गर्न नेपालले कसरी आफ्नो कृषि उत्पादकत्व बढाउन सक्छ भन्नेबारे सबै सरोकारवालाहरू— विशेषगरी निजी क्षेत्र, प्राज्ञिक समुदाय, कृषि विकास मन्त्रालय र नार्क, विकास साझेदार, नागरिक समाज र किसान समूह—ले एकआपसमा निरन्तर छलफल गर्नुपर्छ । सामूहिक रूपमा सहकार्य गरिएमात्र कृषिजन्य आयआर्जनमा वृद्धि र प्राकृतिक स्रोतको संरक्षणद्वारा नेपाली कृषि क्षेत्रको सम्भाव्यतालाई वास्तविक अर्थमा सदुपयोग गर्न सकिन्छ ।

कान्तिपुरबाट

Comments are closed.