केराको कागजबाट सजावटका सामग्री उत्पादन

यो समाचार 154 पटक पढिएको

कञ्चनपुर, २९ पुस । कञ्चनपुरको कृष्णपुर–५ का लघु उद्यममा लागेका महिलाले केराको कागजबाट सजावटका सामग्री उत्पादन गर्न थालेका छन् । यहाँका १५ जना महिलाले स्किल एन्ड इन्टरप्राइजेज सेन्टर प्रालि नामक लघु उद्योग स्थापना गरी केराका कागजका सजावटका सामग्री उत्पादन गर्न थालेका हुन् ।banana-fibre-paper (1)

इलम हेल्भिटासको सहयोगमा सजावटका सामग्री निर्माण गर्नका लागि एकमहिने तालिम लिएर महिलाले सामूहिकरुपमा विभिन्न प्रकारका कागजका फूल, डायरी, फोटो फ्रेम, स्ट्यान्ड, रेकर्ड फायल, खाम र झोलालगायतका सामग्री उत्पादन गर्न थालेको अम्बिका बमले बताउनुभयो । गाउँकै जापनी प्रविधिको प्रयोग गरी केराको थामबाट कागज उत्पादनमा लाग्नुभएका सुरेन्द्र चौधरीले सञ्चालन गरेको उद्योगबाट कागज खरिद गरी घरायसी सजावटका साथै घर र कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने सामग्री उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।

एक महिनादेखि सञ्चालन हुँदै आएको उद्योगबाट रु एक लाख मूल्यबराबरका सजावटका सामग्रीको बिक्री भएको उहाँको भनाइ रहेको छ । बजार क्षेत्रबाट सजावटका सामग्रीको माग बढ्दै गए पनि मागअनुरुप वस्तु निर्माण गर्न कागजको अभाव हुन थालेको उहाँले बताउनुभयो । “माग लिएर व्यापारीहरु सधैँ पुग्ने गरे पनि उनीहरुले भने जति सामग्री उपलब्ध गराउन गाह्रो परेको छ” उहाँले भन्नुभयो ।

सजावटका सामग्री निर्माण गर्नका लागि दैनिक तीन रिम बढी कागजको आवश्यकता पर्ने उद्यमी महिलाले बताउनुभयो । सजावटका वस्तुको मूल्य रु १०० देखि रु ४०० सम्म निर्धारण गरिएको छ । कागजबाट सजावटका सामग्रीको रुप दिई महिलाले आवश्यक रङ्गको प्रयोग गरी वस्तुहरु निर्माण गर्दै आएका छन् । भविष्यमा लघु उद्यमलाई बढाएर उद्योगका रुपमा विकसित गर्ने महिलाले लक्ष्य लिएका छन् । सजावटका सामग्रीको बजार प्रवद्र्धन गर्नका लागि महेन्द्रनगरमा सञ्चालन भइरहेको औैद्योगिक मेलामा समेत स्टल भाडामा लिई प्रदर्शनीमा राखेका छन् । मेलाबाट समेत माग लिई व्यवसायीहरुलाई सजावटका सामग्री उपलब्ध गराउने कार्यमा यहाँका महिला जुटेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :