निर्यात सम्भावनाका जडीबुटी खोजिने

This post has already been read 148 times!

काठमाडौ, २९  पुस\ सरकारले निर्यात सम्भावना भएका महŒवपूर्ण जडीबुटी खोज्न थालेको छ । जडीबुटीलाई निर्यात सम्भावनाको सूचीमा राख्दै सरकारले खोजी अभियान थालेको हो । पहिलो चरणमा तोकिएका जडीबुटी खोज्न सुदुरपश्चिम र मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई अध्ययन थलो बनाएको छ । 
वाणिज्य तथा आपूर्ति मन्त्रालयले जडीबुटीको पहिचान भएपछि ठाउँ–ठाउँमा प्रशोधन केन्द्रसमेत खोल्ने जनाएको छ । मन्त्रालयले ईआईएफको ३३ लाख युरो (४४ करोड ५५ लाख रुपैयाँ) सहयोगमा कार्यक्रम अगाडि बढाएको हो । २ वर्षभित्र निर्यात सम्भावना भएका जडीबुटीको पहिचान सक्ने मन्त्रालयको दाबी छ । जडीबुटी निर्यातका सम्भावना भएका १९ वस्तुको सूचीअन्र्तगत पर्छन् ।  
ईआईएफ नेपालका प्रबन्धक बुद्धि उपाध्यायले निर्यातको प्रशस्त सम्भावना भएकाले त्यस्ता वस्तुको विकास र ब्रान्डिङ गर्न परियोजना सञ्चालन गरेको जानकारी दिए । “परियोजनाअन्तर्गत  प्रशोधन केन्द्र खोल्ने र तयारी वस्तु (फिनिस गुड्स)का लागि स्थानीय तहमा तालिम दिने काम हुन्छ,” उनले भने, “नयाँ–नयाँ विदेशी बजारको खोजी गर्ने काम पनि हुन्छ ।”
ठूलो परिमाणका जडीबुटीका कच्चा पदार्थ विदेशमा निर्यात भएर त्यहाँबाट तयारी वस्तु बन्छ । त्यसलाई बढी मूल्य तिरेर पुनः नेपालमा आयात गरिन्छ । प्रशोधन केन्द्रको अभावमा ठूलो रकम विदेश गइरहेको छ ।
गत आर्थिक वर्षमा १ अर्ब २७ करोड रुपैयाँबराबरको जडीबुटी निर्यात भएको थियो ।  आव ०६८/६९ मा ८५ करोड रुपैयाँबराबरको जडीबुटी निर्यात भएको थियो । जडीबुटी निर्यात बढ्दो रहेकाले तयारी वस्तुमा निर्यात गर्न सक्ने धेरै फाइदा लिन सक्नेछ ।
कच्चा पदार्थलाई तयारी वस्तुमा परिणत गर्दा रोजगारी पनि सिर्जना हुने, जीवस्तर उकास्ने र व्यापार घाटा घट्ने गर्छ । “सरकारले सबै जडीबुटीको प्रवद्र्धन र ब्रान्डिङ गर्न सक्दैन । जुन वस्तुको बढी सम्भावना छ, त्यसको बजार खोज्ने काम गर्छाैं,” उनले भने, “ब्रान्डिङ र बजारको पहुँच पुगेपछि विदेशबाट वस्तुको बढी माग हुन्छ ।”
मन्त्रालयका प्रवक्ता दिपक सुवेदीले ठूलो परिमाणमा जडीबुटीको कच्चा पदार्थ विदेश निर्यात गरेर त्यही मूल्यमा सानो परिमाणको जडीबुटी तयारी वस्तु आयात गरेको जानकारी दिए । “हामीले बोराका दरमा विदेशमा जडीबुटी निर्यात गर्छाैं,” उनले भने, “त्यहाँबाट जडीबुटीको प्रशोधन भएपछि जति बोरामा बेच्थ्यौं, त्यति नै ट्याब्लेटलाई पर्नेगर्छ ।” उनका अनुसार थोरै लगानीमा प्रशोधन केन्द्र खोल्न सके नेपालले धेरै फाइदा लिन सक्नेछ ।